२०७६ चैत्र २० गते

गाउँमै प्राविधिक शिक्षा

अन्तैबाट

मुगु । बाजुरा, बोल्डीकगाउँकी विमला पाण्डेय सोरु गाउँपालिकाको सुकाढिकस्थित सर्वोदय माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा पढ्न आउँछिन् । सुकाढिकका पूर्णबहादुर विक पनि गाउँमै आफ्नो रुचीको विषय पढ्न पाउँदा दंग छन् ।

यस वर्षदेखि विद्यालयले १९ महिने कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरेपछि विमला र पूर्णबहादुरजस्ता थुप्रैको गाउँमै प्राविधिक शिक्षा पढ्ने धोको पूरा भएको हो । कम्प्युटरमात्र होइन, पपिछल्लो समय मुगुका विभिन्न विद्यालयमा सवओभरसियर, कृषि जेटीए, भेटरेनरी जेटिए पनि पढाइ भइरहेको छ । विद्यार्थीले गाउँमै रोजेकै प्राविधिक शिक्षा पढ्ने अवसर पाइरहेका छन् ।

सर्वोदयले कम्प्युटर शिक्षाका लागि विद्यालयको आन्तरिक स्रोतबाट ५ लाख रुपैयाँ जुटाएर २० वटा कम्प्युटर खरिद गरेको छ । विद्युत् नभएकोले २० वाटको सौर्यऊर्जा पनि जडान गरिएको छ । कम्प्युटर अध्ययनका लागि छिमेकी जिल्ला बाजुरासहित सुकाढिक, रिघा, रातापानी, आमालगायत गाउँका विद्यार्थी भर्ना भएका विद्यालयको भनाइ छ ।

प्राविधिक शिक्षा हाँसिल गरी छिट्टै रोजगारीमा जोडिने विद्यार्थीको आशा छ । पाण्डेय दैनिक डेढ घण्टा हिँडेर विद्यालय पुग्छिन् । गत वर्ष एसईई उत्तीर्ण गरेकी उनी गाउँ नजिकै न्यून शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउँदा खुसी छिन् । ‘प्राविधिक शिक्षा लिन सुर्खेत, नेपालगन्जलगायत ठाउँमा जानुपर्ने बाध्यता टर्‍यो,’ उनले भनिन्, ‘घरकै खाना खाएर सस्तो शुल्कमा रुचीको विषय पढ्न पाइयो ।’ विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले ३८ विद्यार्थीले कम्प्युटर सवओभरसियर पढिरहेका जानकारी दिए । उनका अनुसार गत वर्ष एसईई उत्तीर्ण गरेका धेरै विद्यार्थीको रुचि कम्प्युटर इन्जिनियरिङतिरै देखिएको छ । कोर्ष पूरा गर्नबित्तिकै विद्यार्थी आफ्नै व्यवसाय र जागिरमा लाग्ने उनले अपेक्षा गरे ।

विद्यालयले विद्यार्थीबाट ६० हजार रुपैयाँ लिने गरेको छ । नेपालगन्ज, सुर्खेतलगायत ठाउँका कलेजले भने यही कोर्षका लागि ७५ हजार रुपैयाँसम्म लिने गरेका छन् । यातायात, कोठाभाडा, खानालगायत जोड्दा करिब २ लाख खर्च हुने गर्छ । ‘बाहिरको भन्दा सस्तो शुल्कमा शिक्षा दिइरहेका छौं,’ प्रधानाध्यापक कार्कीले भने, ‘कोर्ष सुरु भएपछि विपन्न विद्यार्थीलाई गाउँमै राहत मिलेको छ ।’ अधिकांश विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने गरेको उनले बताए ।

विद्यालयले ९० हजार रुपैयाँ तलब दिने गरी दुईजना शिक्षकलाई निजीस्रोतमा राखेको छ । विद्यार्थीलाई हार्डवेयर, प्रोग्रामिङ, वेसिक कम्यूनिकेसन, डाटाबेसलगायत विषयमा पठनपाठन गराइरहेको शिक्षक केशव रावलले बताए । उनका अनुसार खत्याड गाउँपालिकामा विद्यालयले पहिलोपल्ट प्राविधिक शिक्षा सुरु गरेको हो ।

गाउँमै कम्प्युटर विषयको पढाइ भएपछि अभिभावकसमेत खुसी छन् । ‘हामीले त अक्षरसमेत चिन्न पाएनौं,’ स्थानीय राजबहादुर कार्कीले भने, ‘हाम्रा छोराछोरीले गाउँमै कम्प्युटर पढ्न पाएका छन्, खुसी लागको छ ।’ व्यवस्था बदलिएपछि तराईका सुविधा गाउँमै भित्रिन थालेको उनले बताए ।

खत्याड गाउँपालिकाको रातापानीस्थित महादेव मष्टा माध्यमिक विद्यालयमा पनि कृषि र बाली विज्ञान विषयमा पढाइ हुन थालेको छ । तीनवर्षे कोर्षका लागि डेढ लाख रुपैयाँ शुल्क तोकिएको कार्यक्रम संयोजक रामकृष्ण कार्कीले बताए । उनका अनुसार यस वर्ष १५ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयले तीन वर्षदेखि ओभरसियरको पढाइसमेत सञ्चालन गरिरहेको छ । यस वर्ष १२ विद्यार्थीले ओभरसियर पढिरहेका छन् । त्यस्तै, गम्थास्थित लोकप्रिय माध्यमिक विद्यालयले २०६७ सालदेखि कृषि जेटिएको अध्यापन गराइरहेको छ ।

१० वर्ष अवधिमा ३ सय विद्यार्थीले कृषि जेटीए उत्तीर्ण गरिसकेका कार्यक्रम संयोजक भूपेन्द्र अधिकारीले बताए । ‘उत्तीर्ण भएका विद्यार्थी अधिकांश सरकारी र गैरसरकारी क्षेत्रमा जागिर खान थालेका छन्,’ उनले भने, ‘कम शुल्कमा प्राविधिक शिक्षा पढ्न पाएकामा विद्यार्थी र अभिभावक दुबै खुसी छन् ।’ यस वर्ष ४० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । उनीहरूका लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पूर्वाधार, शैक्षिक सामग्री, शिक्षकलगायतको अभावमा पनि पठनपाठन प्रभावकारी भइरहेको उनको भनाइ छ ।

कालिका माध्यमिक विद्यालय, बुगामा पनि तीनवर्षे भेटनरी विषयको पठनपाठन भइरहेको छ । विगत वर्षमा विभिन्न प्राविधिक विषय अध्ययन गर्न विद्यार्थीलाई जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा जानुपर्ने बाध्यता थियो ।

जिल्लाका विभिन्न ठाउँमा अहिले कृषि, भेटेनरी, बाली विज्ञान, इञ्जिनियरिङलगायत विषयको पठनपाठन भइरहेको छ । सोरु गाउँपालिकास्थित कच्चे माध्यमिक विद्यालयमा गत वर्षदेखि ओभरसियर पढाइ हुन थालेपछि धैनकोट, रारा गिलाहा, सिप, बुम्च, जिमालगायत गाउँका विपन्न विद्यार्थीलाई राहत मिलेको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले विपन्न विद्यार्थी गाउँमै प्राविधिक शिक्षा अध्ययन गरेर रोजगारीमा लागेका बताए । उनका अनुसार केही विद्यार्थीले आफ्नै उद्यमसमेत गरिरहेका छन् ।

राजबहादुर शाहीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: