२०७६ चैत्र २५ गते

तनहुँका १६ सामुदायिक विद्यालय समायोजन

अन्तैबाट

तनहुँ  । विद्यालयमा पढ्न आउने विद्यार्थी संख्या कम भएपछि चालु शैक्षिक सत्रमा जिल्लाका १६ सामुदायिक विद्यालय समायोजन भएका छन् । पालिकाले विद्यालयमा पठनपाठनका सामग्री तथा पूर्वाधार पूरा नभएका, अधिकांश कक्षामा १० जनाभन्दा कम संख्या भएका सामुदायिक विद्यालय एकआपसमा समायोजन गर्न थालेका छन् ।

विद्यार्थी संख्या कम भएपछि व्यास नगरपालिकाका ५ विद्यालय समायोजन भएका छन् । व्यास–६ स्थित भवानी बालविकास केन्द्र र महेन्द्रजोति मावि एकापसमा गाभिएका छन् । व्यास–१२ स्थित देउराली प्रावि, व्यास–७ स्थित बसन्तकाली प्रावि, जनकल्याण प्राथमिक विद्यालय, क्यामिन छापथोक प्राविलाई नजिकको बालविकास केन्द्रसँग समायोजन गरिएको नगरका सूचना अधिकृत गोकर्णराजवाग्लेले बताए ।

शैक्षिक सत्र २०७५ मा पनि ५ सामुदायिक विद्यालय समायोजन भएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाभित्र ७५ सामुदायिक र ४२ निजी विद्यालय छन् । ‘नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको हो,’ वाग्लेले भने । विद्यालयमा प्रर्याप्त पूर्वाधार नभएको, अधिकांश कक्षामा १० भन्दाकम विद्यार्थी संख्या भएका, २ वा सोभन्दा बढी विद्यालयको सेवा क्षेत्र एकापसमा जोडिएको, २ वा सोभन्दा बढी विद्यालय बीचको पैदलदूरी ३० मिनेटभन्दा कम रहेको र २ वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको खण्डमा विद्यालय समायोजन गर्न सक्ने प्रावधान छ ।

भानु नगरपालिकामा ५८ सामुदायिक विद्यालयमध्ये ४ समायोजन भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईले बताए । उनले भने, ‘विद्यार्थी संख्याको कम भएकाले नजिकका विद्यालयमा गाभिएको हो ।’ गाउँपालिका भित्रका ३५ सामुदायिक विद्यालयमध्ये ३ वटा समायोजन भएको आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पदेवी श्रेष्ठले बताइन् । देवघाटमा २ विद्यालय समायोजन भएको गापा उपाध्यक्ष विमला थापाले बताइन् । देवघाट–२ को कमला प्रावि र देवघाट–३ को चण्डिका आधारभूत विद्यालय समायोजन भएका हुन् ।

कक्षाकोठामा १० जना भन्दा कम विद्यार्थी भएकाले शुक्लागण्डकी नगरपालिकामा पनि चालु शैक्षिक सत्रमा २ सामुदायिक विद्यालय समायोजन भएका छन् । नगरपालिकाका शिक्षा प्रमुख ज्योतिप्रकाश तिमल्सिनाले शैक्षिक सत्र २०७५ मा ६ सामुदायिक विद्यालय समायोजन भएको बताए । भिमाद नगरपालिकामा २०७५ मा ४ वटा विद्यालय समायोजन भएका थिए । बन्दीपुर गाउँपालिकामा हालसम्म ४ विद्यालय समायोजन भइसकेको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताइन् । उनले भनिन्, ‘चालु शैक्षिक सत्रमा गाउँपालिकाले गरेको अनुगमनबाट पनि २ देखि ३ वटा विद्यालय समायोजन हुने अवस्थामा छन् ।’ म्याग्दे र रिसिङ गाउँपालिकामा भने अहिलेसम्म एक/एक विद्यालय समायोजनमा परेका छन् ।

सम्झना रसाइलीले कान्तिपुरमा खबर लेखेकी छन् ।

Comments: