२०७६ मंसिर ४ गते

नपढेपनि शैक्षिक उज्यालो छर्ने दीपबहादुर

 


सुदर्शन सिग्देल, रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं


जिल्लावासीहरु उनलाई थरले भन्दा नामले बढ्ता चिन्छन् । अझ उनको नामसँगै उनले गरेका कामको चर्चा पहिला हुन्छ । ७४ वर्षे यी वृद्ध जवान छँदा स्थापना गरिएको स्कूल पढेर गाउँका युवाहरु शिक्षक, कर्मचारी, पत्रकार, ओभरसियर आदि बनेका छन् । यिनको अगुवाइ, खटाइ सम्झँदा सिन्धुपाल्चोकको सिन्धुकोटमा उनलाई ‘बहादुर’ नभन्ने कमै होलान् । यिनकै जति काम नगरेकाहरुले पनि अहिले राष्ट्रिय चर्चा पाइरहेका छन् तर यिनी गुमनाम जस्तै छन् । तैपनि, विकासका खातिर गाउँमा यिनै बहादुर व्यक्तित्वलाई तीन पुस्ताले चिन्ने गर्छन् र भन्ने गर्छन्– ‘दीपबहादुर !’

उनी अर्थात् दीपबहादुर रायामाझी, जसले कहिल्यै स्कूल पढ्न पाएनन् । उनको बाल्यावस्था ताका तत्कालीन सिन्धु भाषा पाठशालाको पढाइ रुखमुनि हुन्थ्यो । त्यहीँ रुखमुनि ‘कपूरी क...’ र ‘दुई एकानी दुई...’ सिकेको उनले सुनाए । गाउँकै नेपाल थरका गुरुले धुलौटोमा लेखेर उनलाई अक्षर चिनाएछन् । गुरुकुलीय पाठशालामा कुनै तह थिएन । न त भवन नै थियो । उनको पाठशाला पढ्ने क्रम पनि टुट्यो । अनि जवान भएपछि चाहिँ सबैका लागि स्कूल बनाउनका निम्ति अगुवाइ गर्न उनी कस्सिए । गाउँका बुढापाकाहरु भन्छन्, ‘स्कूले हिँड्ने बाटो खन्ने–खनाउने अनि स्वास्थ्य चौकी ल्याउन लडभिड् गर्नेमा यिनै व्यक्ति पहिलो अगुवा हुन् ।’


हुन पनि, उनकै पहलमा बनेको माध्यमिक विद्यालय जुन सिन्धुपुराना गाउँ मावि सिन्धुकोटको नामले चर्चित छ । यसैले गाउँमा शिक्षाको ज्योति छ¥यो । उनले लड्भिड गरेर स्वीकृत गराएको सिन्धुकोटस्थित हेल्थपोष्ट गाउँको माझैमा छ, जसले धेरैलाई सञ्चो बनाएको छ । उनकै नेतृत्वमा बनाइएको मोटर बाटोमा हिँडेर धेरै मान्छेले गन्तव्य पहिल्याएका छन् ।


वि.सं. १९९९ सालमा जन्मिएका रायमाझी प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य र गाविस अध्यक्षसम्म बने । उनले ईशारा गरेको भरमा गाउँलेहरु जुट्थे । विद्यालयको घडेरी खार्नै ७२ सय जनाले श्रमदान गरेका थिए । उनी यति लोकप्रिय थिए कि गाउँलेहरु भन्थे, ‘दीपबहादुरको पुर्पुरोमा अहिले बत्ति बलेको छ ।’ तर, त्यहीँ पुर्पुरो देखाउँदै पढ्न नपाउँदाको पीडा उनी पोख्छन्, ‘एसएलसी मात्रै पढेको हुँदो हुँ त म के पो हुन्थेँ हुँला !’


उनको अगुवाइमा विकासका काम नहुञ्जेल शिक्षा र स्वास्थ्यमा गाउँ साँच्चै विरानो थियो । गाउँलेहरु स्वास्थ्य उपचार गर्न काठमाडौं धाउन बाध्य थिए । बाटोको अभावमा उनी कयौं गोरेटोमा हिँडे । तर आफू पछिका सन्ततिलाई भने त्यो दोहरिन दिएनन् । उनका आफ्नै सन्तानले पनि विद्यालयबाट लाभान्वित हुन पाएका छन् । अहिले उनका छोरा–बुहारी सिन्धु विद्यालयमै पढेर त्यहीँ शिक्षक छन् । ‘शिक्षाले साँच्चै ज्योति दिने रहेछ । विद्यालय बनेपछि मात्रै थाहा पाएँ,’ रायमाझीले शिक्षाको महत्व बुझाउँदै भने ।


विद्यालय स्थापना गरेर मात्रै उनी त्यत्तिकै बसेनन् । निरन्तर सहयोग जारी राखे । पछिल्लो समय विद्यालयलाई उच्च माध्यमिक बनाउँदा एक लाख रुपैयाँ सहयोग गरे ।


युवा अवस्थामा ज्यादै फुर्तिला र झोंकी स्वभावका थिए दीपबहादुर । त्यो बेलाको आफूलाई उनले जोशिँदै सम्झिए, ‘मैले बोक्ने भारी, मैले फाल्हाल्ने पाखो, मैले गर्ने काम कसैले गर्न सक्दैनथे जस्तो लाग्थ्यो । जाबो सानातिना खोला–खोल्सा त फुत्तै नाघ्थेँ । वैंसमा खुब लडाईँ गरियो । जनसेवा पनि गरियो ।’


उनी एकपटक नेपाली सेनामा भर्ति भएछन् । तर कर्णेलले उनलाई निकै हेपेर आदेश दिएछ । उनी कर्णेलमाथि नै जाइ लागे । त्यही झोंकमा घर विदा आएको मौकामा जागिरै छाडिदिए । ‘जागिर नछाडेको भए कर्णेलसम्म हुन्थेँ कि ! त्यति बेलाका साथीहरु कर्णेल भएर निस्केका छन्,’ उनले सुनाए । ‘उहाँले नपढेपनि जनताको काम गर्नुभएको छ । पढेको भए अझै धेरै गर्न सक्नुहुन्थ्यो भन्नेचाहिँ लागिरहन्छ,’ कान्छी श्रीमती रमा रायमाझी भन्छिन् ।


त्यो फुर्तिलो शरीर अहिले शिथिल बनेको छ । बुढेसकाल काठमाडौंको माकलबारीमा बिताइरहेका उनीसँग पहिलेको जस्तो बल छैन । बुढ्यौलीसँगै रोगले गाजेको छ । २०७२ को महाभूकम्पले सिन्धुपाल्चोकलाई बढी क्षति पु¥यायो । आफ्नो नेतृत्वमा बनेको विद्यालय भवन भूईँचालोले गर्लम्म पार्दा उनलाई सबैभन्दा बढी पीडा भएको छ । त्यो पीडा ओकल्दा डुब्नै लागेको घाम र उनको अनुहारको रङ्ग उस्तै देखिन्थ्यो । तर, विद्यालय बनाउने कुरा ग¥यो भने जवानी छँदाकै जोश उनमा भरिन्छ । यही विद्यालयमा अत्याधुनिक भवन निर्माण र प्राविधिक शिक्षा सञ्चालन गर्नु पाए हुन्थ्यो भन्ने उनको इच्छा छ ।

 साभार :आजको शिक्षा साप्ताहिक

Comments: