दिनेशराज मैनाली

समादेशक
नेपाल प्रहरी विद्यालय
साँगा, काभ्रेपलाञ्चोक

यो वास्तवमा कस्तो विद्यालय हो ?

नेपाल प्रहरीमा खटिएका सकल दर्जाका सन्तानहरुलाई पढाउनका लागि २०४० सालमा खोलिएको एउटा गैरनाफामूलक विद्यालय हो । यो प्रहरी निजी शैक्षिक गुठी अनुसार सञ्चालन हुँदै आएको छ । नेपाल प्रहरी कर्मचारीका ६० प्रतिशत र सर्वसाधारणका ४० प्रतिशत छोराछोरीलाई आवाशीय सुविधासहित न्यूनतम शुल्कमा पठनपाठन गराइदै आएको छ । यसले शिक्षासँगै दिक्षा दिने लक्ष्य राखेको छ ।

पाठ्यक्रम, परीक्षालगायतमा सरकारी व्यवस्था मान्नु पर्छ कि पर्दैन ?

यस्ता विद्यालयहरु देशभर ७ वटा रहेका छन् । यी सातै विद्यालयमा एउटै पाठ्यपुस्तक र परीक्षा लागू गरेका छौं । हामी सरकारी व्यवस्था अनुसार नै सञ्चालन हुन्छौं । हुबहु सरकारी पाठ्यपुस्तक भन्दापनि प्रहरी निजी शैक्षिक गुठी विद्यालय भएकाले हाम्रा पाठ्यपुस्तक अंग्रेजी माध्यमका र उच्च स्तरका हुन्छन् । शिक्षक छनौट कमिटि छ । त्यसले राष्ट्रिय मिडियामा सूचना जारी गरेर प्रतिस्पर्धाका माध्यमबाट शिक्षक छनौट गर्छौं । हामीकहाँ सरकारी दरबन्दीमा शिक्षक हुनुहुन्न । शिक्षकहरुलाई सरकारीसरह सुविधाको अतिरिक्त १५ प्रतिशत भक्ताको व्यवस्था गरिएको छ ।

शैक्षिक गुणस्तरको अवस्था कस्तो छ ?

गएको वर्षको एसइइ परीक्षामा सहभागी १५६ जनामा १०५ जनाले ए प्लस र ५१ जनाले ए ग्रेड ल्याएका थिए । ३.९ जिपिए ल्याएर एकजना छात्र जिल्ला टप भइन् । अन्य दुई छात्रले पनि ३.९ ल्याए । अन्य वर्षका एसइइ र हरेक कक्षाको सिकाइ उपलब्धि पनि उत्कृष्ट रहँदै आएका छन् । हामी अतिरिक्त क्रियाकलापमा ध्यान दिन्छौं । हरेक खेलकुद प्रशिक्षण हुन्छ । हरेक प्रतियोगितामा उत्कृष्ट हुँदै आएका छौं । यहाँका धेरै विद्यार्थी विदेश खेल्न गएर उत्कृष्ट नतिजा हासिल गर्न सफल हुँदै आएका छन् । हामी पढाइसँगै अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँछौं । विद्यार्थीलाई शिक्षासँगै सीप पनि दिन लागी परेका छौं ।

अन्य सरकारी र निजी विद्यालयभन्दा यो के मानेमा फरक छ ?

वास्तवमा भन्दा यहाँ तीन कुरा हुन्छ । यहाँ १३ सय बढी विद्यार्थी होस्टलमा बस्छन् । हामीकहाँ अभिभावकले शिक्षा र संस्कार दिनू भनेर छोराछोरी जिम्मा दिनुहुन्छ । ४ कक्षामा भर्ना भएका विद्यार्थी १२ कक्षा उत्तीर्ण गराएर दक्ष नागरिक बनाई अभिावकलाई जिम्मा दिने गरेका छौं । हामी शिक्षकको मात्रै होइन, आमाबाबुको पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले, दिक्षासहितको शिक्षा, संस्कारसहितको शिक्षा, नैतिकसहितको शिक्षा यहाँको मूलमन्त्र हो । जसलाई हामीले अवलम्बन गरेका छौं । विद्यार्थीलाई कक्षाकोठाको सिकाइमा मात्रै सीमित नराखी विभिन्न स्थानको शैक्षिक सिकाइ भ्रमणमा लैजाने गरेका छौं ।

सिकाइ सुधारका लागि के नौला प्रयास भएका छन् ? जसले अन्यभन्दा यस विद्यालयलाई उम्दा बनाएको छ ?

आमाबुवाले बच्चा यहाँ छाडेर गएपछि पहिला उनीहरुको लालनपालनको अभिभारा लिनुपर्ने हुन्छ । सिकाइका लागि आएका उनीहरुलाई स्वस्थ राख्नुपर्ने हुन्छ । हामी स्वास्थ्यका लागि विशेष ख्याल गर्छौं । खाना स्वस्थ भए बच्चा स्वस्थ हुन्छन् । जिरा मसिनाको चामलसहितको चार समय, ३४ सय क्यालोरीको खाना/खाजा खुवाइन्छ । विद्यालयमा जंकफुड बर्जित छ । यहाँ शारीरिक दण्ड सजाय शून्य छ । स्मार्टबोर्डमा पठनपाठन, हरेक कक्षामा प्रोजेक्टर सिकाइ, शुद्ध खानेपानीको व्यवस्था, ६५ जना योग्य, दक्ष र दिग्गज शिक्षक समूह छ । हामीले पढाउनेले पढौं भनेर शिक्षकलाई पढ्नैपर्ने व्यवस्था गरेका छौं । हरेक दिन नयाँ कुरा खोजेर सिकाउनै पर्छ । हामी शिक्षक तयारी र व्यवस्थापनमा विशेष ध्यान दिँदै आएका छौं । पर्याप्त तालिम दिने गरेका छौं ।

भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?

हामी विद्यार्थीलाई आरामदायी सिकाइ होस् भन्ने चाहन्छौं । अहिले दुई होस्टेल निर्माण भइरहेका छन् । भएका भवनहरुको पनि नियमित मर्मत–सम्भार गर्दै आएका छौं । तीनवटा त खाना तातो राख्ने वेनभरी किचेन ल्याएका छौं । बालमनोविज्ञानलाई ध्यान दिँदै डेस्क–बेञ्च, शौचालय, किचन, खेलमैदान र शैक्षिक सामग्री व्यवस्था गरेका छौं । सानाभन्दा साना कुराहरुलाई ध्यान दिँदै अघि बढिएको छ ।

भर्ना प्रक्रियाको व्यवस्था कस्तो छ ?

हामी दुई किसिमबाट विद्यार्थी भर्ना लिन्छौं । कुल १०० प्रतिशतमध्ये ६० प्रतिशत नेपाल प्रहरीका सन्तति र ४० प्रतिशत सर्वसाधारण जनताका छोराछोरी भर्ना गर्ने व्यवस्था छ । सर्वसाधारणका केही कोटा स्थानीय जनतालाई पनि दिइएको छ । यहाँ सबै प्रहरीका सन्तति र सर्वसाधरणका छोराछोरी सहजै भर्ना हुन सक्दैनन् । हामी प्रवेश परीक्षा सञ्चालन गर्छौं । जहाँ उत्तीर्ण भएमात्रै प्रवेश पाइन्छ । पहिले राष्ट्रिय मिडियामा भर्नाको सूचना जारी गरिन्छ । नेपाल प्रहरीको वेवसाइट, आन्तरिक सञ्चारमार्फत् देशभर सूचित गर्छौं । पछि आन्तरिक रुपमा गठन गरिएको परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्छ । आफ्नो आरक्षण कोटामा परीक्षामा सहभागीमध्येका अब्बल कर्मचारी र सर्वसाधरणका सन्तानले भर्ना पाउँछन् । विद्यार्थीको चाप थेगिनसक्नु हुन्छ । ४ कक्षामा तीन सेक्सनमा भर्ना खुलाउँछौं । जसमा एउटा कक्षामा ३० देखि ३५ जना सम्म भर्ना हुन्छन् । अहिले सभा १४ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीलाई प्रहरी तालिम पनि दिनुहुन्छ ?

वास्तवमा भन्दा मैलेपनि पहिले प्रहरी तालिम हुन्थ्यो रे भन्ने सुनेको हो । अहिले त्यस्तो छैन । तर, यहाँ बस्ने विद्यार्थी प्रहरीप्रति सकारात्मक र आकर्षण राख्ने हुन्छन् । यहाँ उनीहरुले प्रहरी भन्ने राम्रा हुन्छन् भन्ने थाहा पाउने गर्छन् । हामीले दिक्षा, नैतिकतासहितको शिक्षा दिने भएकाले यहाँका विद्यार्थी पछि धेरै निजामती कर्मचारीतर्फ पनि जाने गर्छन् । किनभने, यिनीहरुले राष्ट्र बनाउनुपर्छ भन्ने सिकेका हुन्छन् ।

प्रहरी सेवाका र सर्वसाधारणका सन्ताहरुको पढाइ शुल्कमा कत्तिको भिन्नता रहेको छ ?

प्रहरी सेवाका कर्मचारीहरुमा पदअनुसारको शुल्क निर्धारण गरिएको छ । तल्लो तह र माथिल्लो तहका प्रहरीबाट लिइने शुल्क फरक हुन्छ । तल्लो तहका हरेक दर्जाका जसको कमाइ कम हुन्छ कम र माथिल्लो दर्जाका लाई जसको कमाइ बढी हुन्छ, उनीहरुबाट बढी शुल्क लिइन्छ । न्यूनतम ५,५०० रुपैयाँ शुल्क हुन्छ । सर्वसाधारणका लागि केही बढी हुन्छ ।

विद्यालय व्यवस्थापन कसरी हुन्छ ?

प्रहरी महानिरीक्षक श्रद्धेय हाम्रो संगठन प्रमुखज्यू विद्यालयको प्रमुख संरक्षक रहनुहुन्छ । प्रशासन महाशाखा प्रमुख एआइजीज्यू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुहुन्छ । प्रहरी कल्याण कोष, आर्थिक प्रशासन कोषका प्रमुख विव्यस सदस्य, यहाँका प्राचार्य सदस्यसचिव, कमाण्डेड सदस्य हुन्छ । साथै, स्थानीय सरकारका वडा प्रमुख सदस्य, जिशिअ सदस्य, संघीय प्रहरी इकाइ कार्यालय प्रमुख सदस्य, काभ्रे जिल्ला प्रहरी प्रमुख र शिक्षकहरुबाट सदस्य रहने व्यवस्था छ । स्थानीय सर्वसाधारणबाट १, अभिभावकहरुमध्येबाट १, आजीवन सदस्य हुनुहुन्छ । विद्यालय स्थापना गर्न जग्गा किन्दा सहयोग गर्ने एकजना गरी तीनजना आजीवन सदस्य हुनुहुन्छ ।

यहाँबाट अन्य सामुदायिक विद्यालयहरुले के सिक्न सक्छन् ?

यहाँ विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्याएर तालिम समेत दिएका छौं । यहाँका स्थानीय विद्यालयहरुसँग हाम्रो राम्रो सम्बन्ध छ । यदि कुनै सामुदायिक विद्यालयहरु आएर यस विद्यालयको भ्रमण गर्न, शिक्षण सिकाइ विधि सिक्न चाहेमा सदैव हाम्रो स्वागत र सहयोग रहनेछ । भर्खरै पनि केही स्थानीय शिक्षकहरुलाई शिक्षण सिकाइ तालिम दिएका थियौं । हामीले समाजमा नैतिकताको खडेरी हुन दिनु भएन भनेर नैतिक शिक्षालाई जोड दिँदै आएका छौं । यो हामीबाट सिक्न लायक विषय हुन् ।

सुरक्षा प्रशासन सम्हाल्दै आउनुभएको छ, अनि शैक्षिक प्रशासन सम्हाल्दाको अनुभवचाहिँ कस्तो हुने रहेछ ?

विद्यालय कहिल्यै बन्द नहुने रहेछ । त्यसैले विदा र आराम भन्ने नै नहुने रहेछ । एउटा कक्षा सकिएपछि अर्को शुरु भइहाल्छ । उता सुरक्षा प्रशासनमा रहँदा आफ्नै किसिमको सरकारी च्यानल हुन्छ । विद्यालयमा रहँदा बालमैत्री बन्नै पर्छ । उताचाहिँ समयअनुसार कडा पनि बन्नु पर्छ । विद्यालय सजायमुक्त बनाएका छौं । त्यसका लागि आफूसँगै शिक्षकहरुलाई सचेत बनायौं । मनोविश्लेषकहरुलाई ल्याएर तालिम लिने गरिएको छ । विद्यालयलाई बालस्वर्ग बनाउने प्रयत्न गरिएको छ । हुन त, प्रहरी प्रशासनमा पनि धेरै परिवर्तन आएको छ । पहिले घरमा बच्चा रुँदा ‘नरोऊ पुलिस बोलाइदिन्छु’ भन्ने थियो । अचेल बच्चाले ‘नकुट नत्र प्रहरी बोलाइदिन्छु’ भन्ने भएको छ ।

प्रस्तुति : रोशन गाउँले

२०७४ चैत्र २६ गते १०:४३मा प्रकाशित

प्रतिकृया दिनुहोस्