२०७६ कार्त्तिक २७ गते

शैक्षिक मेलामा नआउने विद्यार्थीले ठूलो कुरा गुमाउनेछन्

 

उमेश ढुंगेल
सचिव तथा सूचना तथा सञ्चार विभाग प्रमुख
नेपाल शैक्षिक परामर्श संघ (इक्यान )

 

इक्यान शैक्षिक मेला किन आयोजना गरिएको हो ?
यो मेलाको उद्देश्य विद्यार्थी भर्ना गर्ने होइन् । मात्र विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि परामर्श र सही जानकारीका लागि  हो । मुख्यतः यो मेलाका दुई फाइदा रहेका छन् । एउटा भनेको व्यापक समुदायलाई एकै थलोमा विश्वका उत्कृष्ट देश, त्यहाँको शिक्षा र भिसा प्रणालीको बारेमा जानकारी गराउन सकिन्छ । दोस्रो भनेको परामर्श व्यवसायीहरुले पनि कानूनी दायरामा रहेर व्यवसाय विकास गर्न सक्छन् । एकै थलोमा परामर्शदाता, विदेशी कलेज र विद्यार्थी, अभिभावकहरुको प्रत्यक्ष अन्तक्रिया हुनेहुँदा यसले त्रिकोणत्मक सम्बन्ध समेत स्थापित गर्छ ।

यो मेलामा क–कसले भ्रमण गर्नुपर्ला ? यसका मूख्य लक्षित दर्शक को हुन् ?
नेपालमै पढ्ने कि, विदेश जाने ? कुन देशमा पढ्न जाने ? कुन विषय पढ्दा के फाइदा हुन्छ ? विदेश पढ्न जाने पक्रिया के हो ? भिसा प्रक्रिया र छात्रवृत्ति को प्रक्रिया के हुन्छ ? कति खर्च लाग्छ ? जस्ता धेरै जिज्ञासा भएका विद्यार्थी र अभिभावकहरु नै हाम्रा लक्षित दर्शकहरु ह्ुन् । ती सबै जिज्ञासाहरु मेलाले मेटाउने छ । विद्यार्थी र अभिभावकमा भएको विदेश अध्ययन सम्बन्धी दोधार पनि यसले हटाउनेछ । यहाँ नआउनेले ठूलो कुरा गुमाउनेछन् ।

विद्यार्थी र अभिभावकले यो मेलाको किन भ्रमण गर्ने ? यसका फाइदाहरु के–के छन् ?
यस मेलामा परामर्शदाताहरु सँगै विश्वका उत्कृष्ट शैक्षि गन्तव्य देशहरु अमेरिका, अष्ट्रेलिया, न्युजल्याण्ड, इण्डियालगायतका उत्कृष्ट कलेजका प्रतिनिधिहरु समेत उपलब्ध हुन्छन् । विद्यार्थी र अभिभावकले सोझै विदेशी कलेजका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा राख्ने, सरसल्लाह लिने मौका पाउँछन् । हामीकहाँ हाल ७८ देशमा विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् । जसमध्ये मेलामा ५० देशका उत्कृष्ट कलेज, भिसा प्रणाली, छात्रवृत्ति, जाने प्रक्रिया लगायतका विषयमा जानकारी उपलब्ध हुनेछ । मेलामा झण्डै ५० देशका उत्कृष्ट २०० कलेज र १००० बढी विषयका बारेमा जानकारी उपलब्ध हुनेछ । यहाँ आउने विद्यार्थी र अभिभावकको विदेश अध्ययन सम्बन्धी सम्पूर्ण द्विविधा, जिज्ञासा समाधान हुने छ ।


मेलामा आउने विद्यार्थी र अभिभावकले कस्ता–कस्ता प्रश्नको उत्तर पाउँनेछन् ?
कुन–कुन देशमा कस्ता कलेजहरु छन ? कुन देशमा पढ्न जाने हो ? कुन विषय पढ्दा के फाइदा हुन्छ ? विद्यार्थीहरुले आफ्नो प्रोफाइल, ब्याकग्राउण्ड र पर्फमेन्स का आधारमा कुन देशमा पढ्न जान उपयुक्त हुन्छ ? कुन देशमा जान के–के प्रक्रिया पुरा गर्नुपर्छ ? कुन देशको भिसा प्रक्रिया कस्तो छ ? आफुले पढ्न जाने भनेको देशको शिक्षा नीति, भिसा नीति, छात्रवृत्ति तथा अन्य सुविधाहरु क्स्ता छन ? जस्ता अनेकौं प्रश्नहरुको जवाफ मेलाले उपलब्ध गराउनेछ । नेपाल पढौं कि विदेश पढौं भन्ने विद्यार्थीहरुको लागि मेला अति नै लाभदायक हुन सक्छ । नबुझि विदेशमा अध्ययन गर्न जानाले धेरै विद्यार्थीहरुले विभिन्न समस्या व्यहोर्नुपरेको पनि छ । त्यसैले पहिल्यै सबै कुरा बुझेर स्पष्ट भएर मात्रै विदेश जान चाहने विद्यार्थीहरुको लागि यो मेला अति नै उपयोगी हुन सक्छ ।

 


इक्यानले वर्षेपिच्छे विद्यार्थीहरुलाई विदेश पठाउने र विद्यार्थीहरु पढेर उतै रमाउने मात्र गरेका छन् ? देशले स्रोत र जनशक्ति मात्रै गुमाएको देखिन्छ नि ?
हो, हामीले विदेशमा अध्ययन गर्न पठाएका विद्यार्थीहरु फर्केर राष्ट्रसेवा गर्नेको संख्या कम छ । यसका लागि इक्यान लागि नै रहेको छ । तर इक्यानले मात्रै गरेर सम्भव छैन । यसका लागि सरकारले नै व्यवसाय, सुरक्षा, जागिरलगायतको फर्किने वातावरण निर्माण गर्न आवश्यक छ । उता अध्ययन गरेर दक्ष भएका जनशक्तिलाई मुलुकमै योग्य जागिर, सुरक्षाको वातावरण दिन सके उनीहरु पक्कै मुलुक फर्किने थिए । यसका लागि हामी सरकारसँग निरनतर छलफलमा छौं ।


इक्यानले हरेकवर्ष हामी विद्यार्थी विदेश पठाउने मात्रै होइन विदेशका विद्यार्थी पनि अध्ययनका लागि नेपाल ल्याउँछौं भन्दै आएको छ । तर, व्यवहारमा देखिदैन नि ?
नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउनुपर्छ भन्ने हाम्रो माग हो । जुन भौगोलिक वातावरणमा हामी छौं यो अन्त कतै छैन । यहाँको भाषा, संस्कृति, प्राकृतिक सम्पदा, धर्म, हिमाल, चराचुरुंगी, वनस्पति धेरै देशको अध्ययनका लागि छनौटमा पर्न सक्छ । हामी ७८ देशका विद्यार्थीहरु नेपालमा अध्ययनका लागि ल्याउन सक्छौं । तर, सरकारले यसका लागि छुट्टै नीति तथा कार्यक्रम बनाउन जरुरी छ । शैक्षिक वातावरण, भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षालयहरु निर्माण गर्न जरुरी छ । व्यवसायसँग जोडिएको शिक्षा बनाउन आवश्यक छ । ठूला व्यावसायीहरुलाई उच्च शिक्षामा आकर्षित गर्न आवश्यक छ । सरकारले यि सबै वातावरण निर्माण गरे वर्षेनी हजारौं विदेशी विद्यार्थीहरु नेपालमा ल्याउन हामी तयार छौं ।


परामर्शदाता संस्थाहरु अस्तव्यस्त छन्, उनीहरुकै कारण धेरै विद्यार्थीहरु समस्यामा परेका घटनाहरु आउने गरेका छन्, यसका लागि इक्यानले के गर्दै छ ?
नेपालमा २५ सय बढी कन्सल्टेन्सीहरु सञ्चालनमा छन् । तर, इक्यानमा आवद्ध कन्सल्टेन्सीहरुको संख्या ४०० मात्रै छ । हाम्रो आचारसंहिता मान्नेहरुलाई मात्रै हामीले इक्यानको सदस्य बनाउने गरेका छौं । बाँकी कन्सल्टेन्सीहरुले गरेका गल्तीका कारण हामी इक्यानमा आवद्ध कन्सल्टेन्सीहरुले समेत लज्जित हुनुपरेको अवस्था छ । यसका लागि सरकारले नै पहल गर्नुपर्दछ । सवैलाई कानूनी दायरामा ल्याउन आवश्यक छ ।


विदेशी कलेजहरुले सिधै नेपाल आएर तारे होटलहरुमा शैक्षिक मेला गर्दै विद्यार्थीहरु ओसार्ने गरेका छन्, यसलाई नियन्त्रण र नियमन कसले गर्नुपर्ला ?
हो, पहीले यस्ता होटल प्रदर्शनीहरु धेरै हुने गरेका थिए । तर, हामीले सरकारलाई दबाब दिएपछि त्यसमा कमी आएको छ । हाम्रै पहलमा अन्य शैक्षिक मेला गर्नका लागि पनि शिक्षा मन्त्रालयलाई एक हजार डलर फि तिर्नुपर्ने व्यवस्था भएको छ । एउटा विदेसी कलेजले त्यस्तै होटलमा गर्न लागेको प्रदर्शनी हामीले रोकिदिएका छौं । हामी जिम्मेवार छौं र हुन्छौं पनि ।


विदेश पढ्न पठाउने मात्रै हो कि उनीहरुको अवस्थाको बारेमा पनि इक्यानले चासो दिनुपर्दछ ?
हामीले दुखको साथ भन्नुपर्छ विदेश पढ्न गएका विद्यार्थीहरुको यकिन तथ्यांक सरकारसँग पनि छैन । कति विद्यार्थी विदेश पढ्न गए भनेर हामीले नो अब्जेक्सन सर्टिफिकेट लिएको आधारमा मात्रै भनिरहेका छौं । हामीले विदेश पढ्न गएका विद्यार्थीहरुको संख्या र अवस्थाका बारेमा यकिन तथ्यांक तयार पार्न पर्छ भनेर परराष्ट मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र कानून मन्त्रालयमा एकैपटक ध्यानाकर्षण गराइसकेका छौं । हामी निरन्तर छलफलमा पनि छौं ।

 

साउन ५ देखि इक्यान शैक्षिक मेला, विदेश अध्ययन गर्न जान चाहनेलाई सुनौलो अवसर 

Comments: