२०७६ असोज ३० गते

विद्यालय निर्माणमा यसरी जुटे महिला

जाजरकोट । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् । पुरुषहरुले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि महिलाहरु निर्माणका लागि जुर्मुराएका हुन् । पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेल मैदान बनाउन कोदालो, साबेल लिएर जुटेका छन् । स्थानीय राधिका पुनले भनिन्, ‘महिलालाई केही पनि गर्न आउदैन भनेर हेप्ने पुरुषलाई हामीले काम गरेर देखाइदिएका छौं ।’


कालिका मावि साल्मा–५ जाजरकोटको खेल मैदान निर्माण गरेर यहाँका महिलाले आफ्नो कामलाई नमूनाका रूपमा प्रस्तुत गरेका छन् । भवन भएर पनि खेल मैदान नहँुदा समस्यामा रहेको विद्यालयलाई महिलाद्वारा बनाइएको खेल मैदानले सहज बनाइदिएको छ । कोटिला सामुदायिक वन उपभोक्ता समूह साल्माको एक लाख अनुदान तथा स्थानीयबासीको २ लाख ५० हजार गरी ३ लाख ५० हजार रुपैयाँबराबरको लागतमा विद्यालयको खेल मैदान निर्माण गरिएको हो । ‘विद्यालयमा भवन छ विद्यार्थीका लागि खेल मैदान छैन, विद्यालयले कुनै कार्यक्रम गर्नुपर्दा गाउँलेको खेतबारीमा गर्नुपथ्र्यो, अहिले गाउँका सबैजना मिलेर वन समितिको अनुदान र महिलाले श्रमदान गरेर खेल मैदान निर्माण गर्दा विद्यालयलाई राहत भएको छ,’ प्रधानाध्यापक भगिराम जैसीले भने ।


गाउँको विद्यालयमा विद्यार्थीलाई खेल्ने खेल मैदान नहुँदा वन समूहमा भएको वन विकासअन्तर्गत सामाजिक तर्फको रकम सहयोग गरिएको कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपबहादुर बस्नेतले बताए । स्थानीय सामुदायिक वनको सहयोग तथा अभिभावकको श्रमदानमा विद्यालयको तीन सय मिटर लामो खेल मैदान निर्माण गरिएको हो । ‘विद्यालय सञ्चालन भएको गाउँका दुई सय १५ घरधुरीका प्रति घरबाट एकजनाका दरले खेल मैदान निर्माण गर्न श्रमदान गरिएको छ । विद्यालयको आन्तरिक स्रोत नहुँदा सञ्चालनमा निकै समस्या भएको छ ।


यो विद्यालयमा चार सय ३६ जना विद्यार्थी छन् । प्रावि तहका तीनजना शिक्षकका भरमा मावि सञ्चालन गरिएको छ । विद्यालयमा विद्यार्थी संख्या बढ्दै जाँदा माविका लागि तीनजना, निमाविका चारजना तथा प्राविका निम्ति दुईजना गरी नौजना निजी स्रोतका शिक्षक राखिएका छन् । अहिले मावि सञ्चालन गर्दा गाउँका विद्यार्थी बाहिर जानुपर्ने बाध्यता हटेको छ ।यो खबर आजको शिक्षा साप्ताहिकका लागि हेमन्त केसीले तयार पारेका हुन् ।

 

Comments: