नेपालको विद्यालय शिक्षामा सिकाइ उपलब्धि निरन्तर घट्दै गएको छ । सरकारले हरेक वर्ष मनाउने गरेको शिक्षा दिवसमा धेरैपल्ट शैक्षिक गुणस्तर बढाउने नारा लगाउँदै आयो । केही वर्ष अघि ‘सिकाइ सुधार वर्ष’ पनि मनायो तर उपलब्धि भने निरन्तर घट्दै गइरहेको तथ्य सार्वजनिक भएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले एक वर्ष अघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले विद्यार्थीको सिकाइ उपलब्धि निरन्तर ओरालो लागेको देखाएको हो । केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित तथा अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो ।

विद्यार्थीको सिकाइ उपलब्धि सन् २०१२ को तुलनामा सन् २०१५ मा घटेको पाइएको छ । चार वर्ष कक्षा तीनको नेपाली विषयमा औषत ६३ रहेको उपलब्धि गत वर्षको अध्ययनमा घटेर ५२ मा ओर्लिएको छ । त्यस्तै, गणित विषयको सिकाइ उपलब्धि पनि ६० रहेकोमा घटेर ४५ मा झरेको छ ।

कक्षा पाँचको सिकाइ उपलब्धि पनि चार वर्षको तुलनामा घटेको पाइएको छ । यो तहको चार वर्षअघि औषत सिकाइ उपलब्धि ६० रहेकोमा २०१५ मा ४६ मा झरेको छ । गणितमा ५३ बाट ४८ मा ओर्लिएको छ । त्यस्तै, अंग्रेजीमा सिकाइ उपलब्धि ५४ भएकोमा गत वर्षको अध्ययनमा ४७ मात्रै पाइएको छ ।

केन्द्रले कक्षा तीनमा २३ जिल्लाका एक हजार पाँच सय ४२ विद्यालयका ३३ हजार आठ सय ६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो । त्यस्तै, कक्षा पाँचको पनि २३ जिल्लाकै एक हजार पाँच सय ४३ विद्यालयका ४० हजार १५ विद्यार्थीको उपलब्धि परीक्षण गरेको हो ।

सन् २०११ मा कक्षा आठको नेपाली विषयमा औषत ४९ रहेको सिकाइ उपलब्धि २०१३ मा १ अंकले घटेर ४८ पुगेको थियो । त्यस्तै, गणित विषयमा २०११ मा ४३ औषत रहेको सिकाइ उपलब्धि २०१३ मा ३५ मा झ¥यो । सामाजिक विषयको पनि ४९ बाट झरेर ४१ मा ओर्लियो ।

केन्द्रले कक्षा ५ पूरा गरिसकेका नेपाली विद्यार्थीले गणित र नेपाली विषयमा हासिल गरेको वर्तमान उपलब्धिस्तरलाई TIMSS र PIRLS जस्ता अन्तर्राष्ट्रिय मापदण्डमा आधारित परीक्षणमा सहभागी कक्षा ४ का विद्यार्थीेले प्राप्त गरेको उपलब्धिस्तरसँग तुलना गर्दा नेपाली विषयको सक्षमता अन्तर्राष्ट्रियस्तरका कक्षा ४ का विद्यार्थीको औषतभन्दा—१.०८ ले तल रहेको पाइएको छ । गणित विषयमा भने ०.३९१ ले मात्र माथि रहेको छ । यो नतिजाले नेपाली विद्यार्थीहरु भाषिक सक्षमतामा कक्षा ४ का समकक्षी अन्तर्राष्ट्रिय विद्यार्थीभन्दा झण्डै २ वर्ष पछाडि छन् भने गणितमा कक्षा ४ समान मात्र छन् भन्ने देखाएको छ ।

सहरी क्षेत्रको विद्यालयमा पढ्ने विद्यार्थीको सिकाइ चार वर्ष अघिको तुलनामा कमजोर छ । चार वर्षअघि कक्षा तीनमा नेपालीको सिकाइ उपलब्धि ७५ रहेकोमा गत वर्ष ६० मा सीमित भएको छ । गणितमा ७१ बाट झरेर ५१ मा आइपुगेको छ । कक्षा पाँचमा पनि चार वर्षको अध्ययनले नेपालीमा सिकाइ उपलब्धि ७४ रहेकोमा सन् २०१५ मा ५३ मा सीमित भएको छ । गणितमा ६५ बाट ५५ मात्रै उपलब्धि छ । अंग्रेजीमा ७३ बाट झरेर ६६ मा आइपुगेको छ ।

क्षेत्रगत रुपमा पनि घट्यो
राष्ट्रिय औषतमा मात्रै होइन, क्षेत्रगत रुपमा पनि विगतभन्दा सिकाइ उपलब्धि ओरालो लागेको छ । केन्द्रको प्रतिवेदन अनुसार पूर्वाञ्चल विकास क्षेत्रमा चार वर्षअघि कक्षा ३ मा नेपाली विषयमा ५४ रहेको उपलब्धि घटेर ५३ र गणित विषयमा ५२ बाट झरेर ४६ भएको छ । त्यस्तै, कक्षा ५ मा चार वर्ष अघि नेपाली विषयमा ५२ रहेको सिकाइ उपलब्धि घटेर ४६ पुगेको छ । मध्यमाञ्चल विकास क्षेत्रमा कक्षा तीनको नेपाली विषयमा चार वर्ष अघि ५९ रहेकोमा ४५, गणितमा ५६ रहेकोमा ४६ र कक्षा पाँचको नेपालीमा ५४ बाट ४३, गणितमा ५१ बाट ४८ र अंग्रेजीमा ४९ बाट झरेर सिकाइ उपलब्धि ४१ मा ओर्लिएको छ । पश्चिमाञ्चल विकास क्षेत्रमा कक्षा ३ को नेपाली विषयको सिकाइ उपलब्धि चार वर्ष अघि ६७ रहेकोमा झरेर ५७, गणितमा ६४ बाट ४५ र कक्षा पाँचको नेपालीमा ६३ बाट ५९, गणितमा ५७ बाट ४९, अंग्रेजीमा ५९ बाट ४८ मा झरेको छ ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कक्षा तीनको नेपाली विषयमा ५४ बाट ४३, गणितमा ४७ बाट ३७ र कक्षा ५ को नेपाली विषयमा ५२ बाट ४१, गणितमा ४५ बाट ४३ र अंग्रेजीमा ४४ बाट झरेर ३८ पुगेको छ । त्यस्तै, सुदूरपश्चिममा कक्षा तीनको नेपाली विषयमा सन् २०१२ मा ५९ रहेको उपलब्धि २०१५ मा ४५, गणितमा ५८ बाट ४०, कक्षा पाँचको नेपाली विषयमा ५८ बाट ३७, गणितमा ५१ बट ४५, अंग्रेजीमा ४९ बाट ३८ मा झरेको छ । उपत्यकामा पनि विगतको तुलनामा विद्यार्थीको सिकाइ उपलब्धि घटेको पाइएको छ । उपत्यकामा सन् २०१२ मा कक्षा तीनको नेपाली विषयमा ८० रहेको उपलब्धि २०१५ मा घटेर ६४, गणितमा ७७ बाट ५१, कक्षा पाँचको नेपाली विषयमा ७७ बाट ५७, गणितमा ६८ बाट ५८ र अंग्रेजीमा ७९ बाट ६८ मा झरेको छ ।

गणित ११ जिल्लाका औषतभन्दा कम उपलब्धि
कक्षा तीनको गणितमा ११ जिल्लाका विद्यार्थीले औषत अंक पनि ल्याउन सकेनन् । नवलपरासी, रौतहट, बाँके, मोरङ, जाजरकोट, डोटी, बझाङ, संखुवासभा, भोजपुर र प्यूठान जिल्लाले औषत ४५ अंक ल्याउन नसकेका हुन् । तीन कक्षाको गणितमा सबैभन्दा बढी झापाको ५९ र काठमाडौंको ५६ छ भने सबैभन्दा कम प्युठानको २७ मात्रै छ ।

नेपालीमा १२ वटा जिल्लाले औषत उपलब्धि ल्याएनन्
कक्षा तीनकै नेपालीमा १२ वटा जिल्लाले औषत सिकाइ उपलब्धि ल्याएनन् । औषत सिकाइ उपलब्धि ५२ रहेकोमा १२ वटा जिल्लाले औषत अंक पनि प्राप्त नगरेका हुन् । रामेछाप, संखुवासभा, मोरङ, बारा, जाजरकोट, बझाङ, प्यूठान, बाँके, डोटी, भोजपुर, कालीकोट, रौतहटको नेपाली विषयमा औषतभन्दा कम उपलब्धि पाइएको छ । नेपालीमा सबैभन्दा राम्रो मुस्ताङमा सिकाइ उपलब्धि ८० छ भने सबैभन्दा कमजोर रौतहटमा ३३ मात्रै छ । कक्षा पाँचमा पढाइ र लेखाइ सबैभन्दा कमजोर छ । ललितपुरमा सबैभन्दा धेरै औषत ६० रहेकोमा जाजरकोटमा सबैभन्दा कम ३४ मात्रै छ ।

उपत्यका उत्कृष्ट
सिकाइ उपलब्धि परीक्षणले उपत्यकाको नतिजा अन्य भौगोलिक क्षेत्रको भन्दा सबै विषयमा उच्च रहेको शैक्षिक परीक्षण केन्द्रले जनाएको छ । केन्द्रले उपत्यका, हिमाल, पहाड, तराई र पाँचै विकास क्षेत्र समेटिनेगरी अध्ययन भएकोे जनाएको छ । उपत्यकामा कक्षा ३ मा नेपालीमा ६४ र गणितमा ५१ रहेको छ । कक्षा ५ को नेपाली ५७, गणित ५८ र अंग्रेजीमा ६८ छ भने हिमाली क्षेत्रको सबैभन्दा न्यून रहेको देखिएको छ । हिमाली क्षेत्रमा कक्षा ३ मा नेपालीमा ४५ र गणितमा ३९, कक्षा ५ मा नेपालीमा ४१, गणितमा ४२ र अंग्रेजीमा ३७ मात्रै सिकाइ उपलब्धि छ ।

सहरी क्षेत्रमा राम्रो
ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि राम्रो पाइएको छ । सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको उपलब्धि कक्षा ३ को नेपालीमा ६०, गणितमा ५१, कक्षा ५ मा नेपाली ५३, गणित ५५ र अंग्रेजीमा ६६ पुगेको छ । ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि भने कक्षा ३ मा नेपालीमा ४९ र गणित ४४ छ । कक्षा ५ मा नेपालीमा ४४, गणितमा ४७ र अंग्रेजीमा ४० रहेको छ ।

छात्राको उपलब्धि धेरै
विद्यालयको आधारभूत तहमा छात्रको तुलनामा छात्राको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको छ । छात्रका तुलनामा छात्राको औषत सिकाइ उपलब्धि राम्रो पाइएको केन्द्रका उपसचिव गोपालप्रसाद भट्टराईले बताए । कक्षा ३ को नेपालीमा छात्रको औषत उपलब्धि अंक ५१ छ भने छात्राको ५४ छ । गणितमा छात्र र छात्राको सिकाइ समान ४५ छ । कक्षा ५ मा नेपालीमा छात्राको सिकाइ उपलब्धि ४८ र छात्रको ४६ मात्रै छ । गणितमा छात्राको ५० र छात्रको ४८ छ । अंग्रेजीमा दुबैको सिकाइ उपलब्धि ४७ छ ।

अंग्रेजीमा काठमाडौं उत्कृष्ट
काठमाडौंका विद्यार्थीको अंग्रेजी सबैभन्दा राम्रो पाइएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, झापा, नवलपरासी, इलाम, धादिङ र मोरङका विद्यार्थीले मात्रै औषत अंक प्राप्त गरेका छन् । अंग्रेजीमा भोजपुर सबैभन्दा कमजोर देखिएको छ । भोजपुरका विद्यार्थीले औषत २६ अंक मात्रै प्राप्त गरेका छन् । अंग्रेजीमा निजी विद्यालयमा पढ्ने विद्यार्थीको औषत उपलब्धि राम्रो भएपनि सामुदायिक विद्यार्थीको औषत उपलब्धि पनि प्राप्त नभएको उपसचिव भट्टराईले बताए । अंग्रेजीमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि ३८ छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थीको ७३.१ छ ।

विद्यार्थीहरु घोक्ने र कण्ठ गर्ने भए
विद्यार्थीहरु बुझेर तर्क गर्दै लेख्न भन्दापनि घोकेर कण्ठ पारेर लेख्न माहिर रहेको पाइएको छ । त्यसैले, घोक्ने र कण्ठ गर्ने विषयमा मात्रै सिकाइ राम्रो छ । वस्तुगत प्रश्नमाभन्दा विषयगत प्रश्नमा हासिल उपलब्धि न्यून रहेको देखिएकाले कुनै विषयमा स्वतन्त्र लेखन, वर्णन, कारण तथा तर्कद्वारा कुनै विचार र भनाइको पुष्टि गर्ने कार्यमा विद्यार्थीहरू कमजोर रहेको पाइएको छ । संज्ञानात्मक क्षेत्रको ज्ञान तहको तुलनामा बोध, प्रयोग र उच्च दक्षताका तहमा विद्यार्थीहरूको उपलब्धि क्रमशः न्यून हँुदै गएको छ । यस स्थितिले कक्षा शिक्षण सिकाइले घोक्ने, सम्झने तथ्यपरक ज्ञानको पुनर्उत्पादन गर्ने सीप मात्र विकास गराउन सकेको देखाउँछ । तर, एक सन्दर्भमा सिकेको ज्ञान सीपलाई नयाँ सन्दर्भमा प्रयोग, विश्लेषण, संश्लेषण गर्ने उच्च दक्षताका सीपहरू न्यून मात्रामा मात्र विकास गराउन सकेको देखिन्छ ।

गृहकार्य गर्ने विद्यार्थीको सिकाइ राम्रो
गृहकार्य नियमित हुने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको केन्द्रको अध्ययनले देखाएको छ । गृहकार्य प्राप्त गरेका, गृहकार्य नियमित जाँचिएका र पृष्ठपोषण प्राप्त भएका विद्यार्थीको सिकाइ उपलब्धि यो प्राप्त नगर्नेको भन्दा उच्च देखिन्छ । यसले गृहकार्यको प्रभाव सिकाइ उपलब्धिस्तर सुधार गर्नमा सकारात्मक रहेको देखाउँछ ।

कमजोर पठन सीप
नेपाली विद्यार्थीको पठन सीप कमजोर पाइएको केन्द्रले जनाएको छ । एउटै विषयका विभिन्न विषयवस्तु क्षेत्रमा असमान सिकाइरहेको पनि केन्द्रको प्रतिवेदनमा औंल्याइएको छ । एउटै जिल्लामा ९८ र ५ ल्याउने विद्यार्थी पाइएको छ । साथै, शिक्षकमा किताब हेरेर पढाउने र त्यसैको आधारमा परीक्षा लिने परिपाटी छ । त्यो अन्त्य हुनुपर्ने केन्द्रका प्रमुख डा. लेखनाथ पौडेल बताउँछन् । उनी भन्छन्, ‘हाम्रा शिक्षकको क्षमता विकास पुगेन । विद्यालयमा भौतिक पूर्वाधार र शिक्षकमा लगानी गरेपनि कक्षाकोठामा त्यसको प्रभाव पुग्न सकेको छैन ।’ शिक्षकले पाठ्यक्रमका आधारमा खोजेर पढाउनुपर्ने र त्यसका लागि शिक्षकको क्षमता विकास गरिनुपर्ने पौडेल बताउँछन् । शिक्षकहरू गल्ति अरुलाई देखाएर उम्कन नपाउने भन्दै पौडेलले सिकाइ सुधार गर्न उनीहरुले सिकेको ज्ञान कक्षामा देखिनुपर्ने बताए । आगामी वर्ष केन्द्रले राम्रो गर्ने र कमजोर ४ वटा विद्यालयको केस स्टडी गरिने पनि डा. पौडेलले जानकारी दिए ।

  वर्ष   नेपाली विषय   गणित विषय  अंग्रेजी विषय  सामाजिक विषय कक्षा
  २०१२   ६३   ६०     कक्षा ३
  २०१५   ५२   ४५    
  २०१२   ६०   ५३   ५४   कक्षा ५
  २०१५   ४६   ४८   ४७  
  २०११   ४९   ४३    ४९ कक्षा ८
  २०१३   ४८   ३५   ४१

२०७३ भदौ १ गते

प्रतिकृया दिनुहोस्