२०७६ असोज २८ गते

प्रयोगात्मक सामग्रीबाट पढाइ

कैलाली । सामुदायिक विद्यालयका शिक्षकले मन लगाएर नपढाउने आरोप लाग्दै आएको बेला कैलाली मुनुवा गाविसस्थित मोती मावि मोतीनगरका विज्ञान शिक्षक सुनिल थापाले भने आफैंले प्रयोगात्मक सामग्री बनाएर पढाउँदै आएका छन् ।

यी सामग्री उनले दुई वर्ष अघिदेखि आफैं निर्माण गर्दै आएका हुन् । विभिन्न सामग्रीका माध्यमबाट विद्यार्थीलाई बुझ्न र बुझाउन सजिलो हुने उनी बताउँछन् । उनले भने, ‘किताबमा लेखिएको कुरा लेखेरभन्दा प्रयोगात्मक विधिबाट बुझाउन सजिलो हुन्छ ।’

सेन्टिग्रेड र फरेनहाइट नाप, पास्कल नियमानुसार हाइड्रोलिक ब्रेक, जेसीबी, हाइड्रोलिक ज्याक, हाइड्रो पावरबाट विद्युत् उत्पादन गर्ने विधि, तरल पदार्थ नाप्ने यन्त्र, भूकम्प मापन यन्त्रलगायत सामग्री उनले निर्माण गरेका छन् । उनले निर्माण गरेका हरेक सामग्री प्रयोगमा आउनेझैं चल्ने गरेका छन् ।

‘यी सामान खेलौनाजस्ता देखिए पनि सिद्धान्त बुझाउन सजिलो हुन्छ । यही प्रक्रियाबाट प्रयोगमा आउने सामग्री निर्माण हुने हो,’ आफूले उत्पादन गरेका विज्ञानका सामग्री देखाउँदै उनले भने, ‘कही कतैबाट आफूले सहयोग नपाए पनि मिहिनेतले यस्ता सामान तयार गरेको हुँ ।’ त्रिचन्द्र क्याम्पसबाट बीएस्सी उत्तीर्ण गरेका थापाले भने, ‘घरमा आएर फुर्सद निकालेर यस्ता सामग्री बनाउँछु ।घरका पनि रिसाउँछन् । तैपनि वास्ता गर्दैन, यसैमा लागिरहन्छु ।’ विज्ञानका सिद्धान्तले कस्ता सामग्री निर्माण हुन्छन् भन्ने उदाहरण विद्यार्थीलाई देखाउँदा सजिलै बुझ्ने उनी बताउँछन् ।कान्तिपुरमा खबर छ ।

Comments: