२०७६ कार्त्तिक २ गते

गुरु भर्सेस गोरु : अ महाडेन्जर कम्प्यारिजन

नरेन्द्रराज पनेरू

एम्फिल्को अध्ययनकै शिलशिलमा प्रसङ्गवस शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्या गुरुलाई मैले एक प्रश्न सोधेँ : गुरु तपार्इँले धेरै व्यक्ति तथा व्यक्तित्वहरूलाई पढाउनु भयो, सिकाउनु भयो, पुण्य काम गर्नुभयो । तर तपार्इँले पढाएका व्यक्तिहरू प्रायस् अहिले शिक्षक, प्राध्यापक, व्यापारी, नेताहरू भएका छन् । ती करिबकरिब सबै भ्रष्ट, बेइमान र ठग छन् । तपाईंले के पढाउनु भयो ? तपार्इँ आफ्नो पेसाप्रति गौरवान्वित हुनुहुन्छ त ? यो प्रश्न स्वय म म आफैँप्रति पनि लक्षित थियो । मैले पनि त्रिविमा विगत् १५ वर्षदेखि पढाउँदै आइरहेको छु । यो प्रश्न मजस्ता अरू आम शिक्षक तथा प्राध्यापकहरूप्रति पनि लक्षित थियो ।

गुरुले एकचोटी गम खाएर भने : हामी शिक्षण गर्दछौं, हाम्रा नेताहरू प्रशिक्षण गर्दछन् । शिक्षणभन्दा प्रशिक्षण बलियो हुँदो रहेछ । शिक्षकभन्दा नेताहरूरप्रशिक्षकहरू बलिया हुँदा रहेछन र हामी हार्दा रहेछौं ।

गुरुले आफनो धर्म निभाए । उत्तर कूटनीतिक तर यथार्थ थियो ।

गुरुसँगको वार्ता सकियो । तर प्रश्नहरूको ओइरोले मलाई छाडेनन् । एकपछि अर्को प्रश्नहरूले मलाई घेरिसकेका थिए । त्यसो भए हामीले शिक्षणको साटो प्रशिक्षण किन नगर्ने ? हामी प्रशिक्षक किन नबन्ने ? हामी प्रशिक्षण गर्ने नेता किन नबन्ने ? एउटा (कु)नेताले सद्दे मानिसलाई प्रशिक्षण दिएर कुबाटोतिर डोर्याउन सक्छ भने हामीरशिक्षकले प्रशिक्षण दिएर वा प्रशिक्षक भएर ती बालबालिकाहरूलाई सही बाटोमा किन नडोर्याउने ? हामी सधैं विद्यार्थीका शत्रुका रूपमा कतिञ्जेल चिनिइरहने ? हामी सधैं कति विद्यार्थी विरोधी भइरहने ? प्रश्नहरूको चक्रव्यूहमा म एकचोटी नराम्ररी फसेँ । शब्दमा गुरु र ब्यावहारमा गोरु जत्तिकै पनि सम्मानित नभएको पेसालाई मैलै एकचोटी पुनर्मूल्याङकन गर्न खोजेँ ।

गुरु जो बिहानदेखि साँझसम्म जोतिन्छ, जो मानसिक र शाररिक श्रम गर्न अभिशप्त छ, जो अज्ञानी र सिकारू आम मानिसहरूसँग व्यवहार गर्न बाध्य छ, जो आफूभन्दा युवा वर्गसँग ज्ञानविज्ञान तथा सक्रिय जीवनको जोरी खोज्न अभ्यस्त छ, जसलाई दुईछाक खान र एकसरो लगाउन पनि सरकारी तलबले नपुग्ने तर बाँच्न बाध्य पार्ने व्यवहार छ, जसले आजको अनिकाल र महँगाइको जमानामा नैतिकता र महानता साचेर आफनो अस्तित्व जोगाउन बाध्य छ । ती शिक्षक आज विद्यार्थीबाट सम्मानित छैनन् । समाजबाट विश्वास गरिएका छैनन् । राज्यबाट इज्जत दिइएको छैन । तर पनि ती शिक्षकहरूले शब्दमा होइन, व्यवहारमा महानता देखाउनु छ । इज्जत र सम्मान माग्ने होइन, कमाउने बनाउनु छ । के आजमा हाम्रा शिक्षक त्यसको लागि सामर्थ्य राख्छन् त ?

असम्भव भन्ने शब्द आजको दुनियाँको कुनै पनि शब्दकोषमा छैन ।

मानव चेतनालाई वशमा पार्न सकिन्छ । मानव विचारलाई निर्देश गर्न सकिन्छ । मानव व्यवहारलाई डोर्याउन सकिन्छ । दस हजार मानिसलाई आत्महत्या गर्न प्रेरित गर्नसक्ने पुष्पकमल दाहाल उर्फ कामरेड प्रचण्ड हाम्रासामु जीवित प्रमाण छन् । लाखौं करोडौं मानिसहरूलाई आफ्नो वशमा पार्न सक्ने तथाकथित गुरु रजनीश, साईबाबा तथा रामदेव हाम्रै अगाडि छन् । ‘ब्रह्म सत्य र ब्राम्हाण्ड झुट्टा’ भनेर दिनदहाडै सफेद् झुट बोल्दा पनि यत्रो जमात तिनीहरूको पछि लागेर तन, मन, धन गुमाउन तयार छ ।

सन्यासी र जोगीहरू ठूलाठूला झुन्डसहित आआफ्ना आश्रम चलाउन सफल भएका छन् । संसारकै आधुनिक, वैज्ञानिक, सत्र्वोकृष्ट, जीवनपयोगी शिक्षा दिने तथाकथित हामी शिक्षक किन अपहेलित छौं त? किन विद्यार्थी हाम्रो हृदयमा र हामी विद्यार्थीको हृदयमा बस्न सक्दैनौं ? कता केले गड्बड् गरेको छ ? बाल केन्द्रित शिक्षा दिने हामी छेउमा बसेर बालबालिकाहरू सराप्न अभिशप्त छौं । बालबालिकाहरू हाम्रो पीडामा रमाउन अभिशप्त छ । यो विरोधाभास र पाखण्डको पराकाष्टा कहिलेसम्म ? हुँदै नभएको ‘ब्रम्ह सत्य तर भएको ब्रम्हाण्ड झुटा’ भन्दै व्यापार गर्ने जित्दै जाने, सत्यलाई सत्य र गलतलाई गलत भन्न सिकाउने हामी हार्दे जाने जाली खेल कहिलेसम्म ?

समस्या शिक्षकमा व्यापक छ ।
हामी हाम्रा नेता तथा साम्प्रादायिक गुरुहरूलाई हेरौं । चाहे गलतै किन नहोस् तिनीहरू आफनो विषयवस्तु स्रोताको जीवनसँग जोडने प्रयास गर्छन् । समस्यालाई सम्बोधन गर्ने प्रयास गर्छन्, समाधानतिर डोर्याउछन्, मायावी दुनियाँको आस र त्रास देखाउछन् । बोलीमा मिठास ल्याउछन्, व्यवहारमा सहयोगी र पथ प्रदर्शकको आभूषण भिर्छन, स्वाभावमा त्यागीको अवतार देखाउछन् । यही नै आम पाठक तथा दर्शकलाई जादुमा पार्ने र आफ्नो वशमा अँठ्याउने शूत्र हो ।

तर हामी ठिक यसको उल्टो दिशातिर छौं ।

हामी र हामीले दिने शिक्षामा कहीँ कतै तारतम्य भेटिदैन । न त विषयवस्तुमा रस भेटिन्छ, न त प्रस्तुतिमा मिठास । न त बोलीमा जीवन भेटिन्छ, न त समस्याको समाधान । बरू समस्यामाथि समस्याको चाङ थपिदिन्छ । विद्यार्थीलाई भारमाथि भार, पीडामाथि पीडा । शिक्षा सहज जीवनको लागि नभई पीडामयी वर्तमान भइदिन्छ र यो आम मानिसलाई दुखदायी अनुभूति भइदिन्छ । समस्याबाट मुक्ति होइन, बरू अर्को समस्यामा प्रवेश । यसो किन हुन्छ त ? बहस जरुरी छ ।

जीवनमा असफल झुण्डहरू शिक्षक बन्ने र अरूलाई सफलताको पाठ पढाउने पाखण्डी शिक्षा नै आजको सबभन्दा ठुलो खराबी हो । व्यावसायिक जीवनमा व्यवसायसँग कुनै साइनो नै नभएको अक्षम व्यक्ति शिक्षकको पगरी गुत्थै व्यावसायिक शिक्षा पढाउन कक्षा कोठमा शानसहित प्रवेश गर्दछ, शिक्षा क्षेत्रमा कुनै सिन्को नभाचेको व्यक्ति शिक्षा शास्त्रको प्राध्यापक हुन्छ र असल शिक्षक र शिक्षण संस्थाका गुणहरू ब्याख्या गर्दछ । जीवनमा साहित्यको सलेख्न नसक्ने तथाकथित प्राध्यापक सिर्जना र समालोचनाको लेक्चर दिन्छ र बिहान बेलुका निधारभरि चन्दन घस्दै बस्ने रूढीग्रस्त प्राध्यापक दिउँसो भौतिक विज्ञानका सूत्रहरू कक्षामा पढाउँछ । अनि कसरी बन्न सक्छ हाम्रो शिक्षा बालोपयोगी, समाजोपयोगी र सफल ?

कसरी पचाउन सक्छन् हाम्रा विद्यार्थीले तथाकथित शिक्षकका पाखण्डले भरिपूर्ण भएका शब्दजालहरूलाई । कसरी दिन्छ समस्याको निकास हाम्रो शिक्षाले ? शब्दजालमा बेरिएको, शिक्षकको मपाइँत्वले सिकार भएको, तथाकथित सिद्धान्तले विरूप भएको, प्रशासन र राजनीतिको हतियार भएको आजको शिक्षा के आम व्यक्तिहरूको लागि मुक्तिको सूत्र बन्न सक्छ त ?

सक्छ तर के हामी जीवनमा सफल व्यक्तिहरूलाई कक्षा कोठामा लगेर सफलताको पाठ पढाउन सक्दैनौं ? सफल व्यावसायीलाई कक्षाकोठामा लगेर व्यावसायिक सफलतका सूत्रहरू पढाउँदा के हाम्रो शिक्षा अपाङ्ग बन्छ ? के वैज्ञानिकलाई कक्षा कोठाभित्र लग्दा हाम्रा कक्षाकोठाहरू अशुद्ध हुन्छन् ? के सफल शैक्षिक व्यवसायी तथा प्रधानाध्यापकलाई शिक्षा शास्त्रको कक्षामा लग्दा हाम्रो शिक्षा धराशयी हुन्छ रु सफल व्यक्तिका अनुभव र पुस्तकालयको साहित्यको संयुक्त ज्ञान नै सत्र्वोकृष्ट ज्ञान होइन र ?

नेपाल कै मेडिकल साइन्स र इन्जिनियरिङ क्याम्पसका कक्षाहरू उत्कृष्ट डाक्टर र इन्जिनियरहरूले लिएको हुनाले नै सफल भएको कुरा कसैबाट छुपेको छैन । यही पद्धति अन्य संकाय र कक्षामा प्रयोग गर्दा के अछुत नै भइन्छ र रु कति कक्षा, कति दिन, कति पिरियड आदिका बारेमा छलफल र विचार गर्न सकिएला । कक्षा कोठामा सफल व्यक्तित्वको प्रवेश अनिवार्य छ र जीवनका अन्य विधामा असफल व्यक्तिको बन्धकीमा आम विद्यार्थीलाई पेन्डुलम बनाइनु हुँदैन ।

अमेरिका एक अनसुन्धान गरिएछ स् सबै सफल व्यक्तिहरू आआफनो व्यावसाय सञ्चालन गरी बस्छन्, असफल व्यक्तिहरू शिक्षक बन्दछन् र शिक्षणमा पनि असफल व्यक्ति शिक्षण संस्थाको संचालन गर्दछन् । तथ्य कति सत्य हो अनुसन्धानकर्ता नै जानून तर शिक्षण संस्थालाई असफल व्यक्तिहरूको झुन्डबाट बाहिर ल्याइनु पर्दछ र शिक्षा व्यवहारिक र सफल बनाउन जीवनमा सफल व्यक्तिहरूलाई कक्षाकोठामा प्रवेश गराउनै पर्दछ । शिक्षा र सिप, शिक्षा र अनुभव, शिक्षा र समाज, शिक्षा र व्यवसाय, शिक्षा र सफलता जोडिनै पर्दछ ।

शिक्षक विद्यार्थीको हृदयबाटै नै गुरु भइरहनु पर्दछ । समाजको आँखामा आदर्श र मार्गदर्शक व्यक्तित्व भइरहनु पर्दछ । राज्यको नजरमा सम्मानित व्यक्तित्व भइरहनु पर्दछ । विद्यार्थीले शिक्षकमा आफनो भविष्य देख्न सकून, समाजले विश्वास र राज्यले आस्था । गुरु साहू तथा नेताहरूको अन्तहीन तजविजमा जोतिरहने गोरु होइन । गोरुको बाध्यात्मक परिचयभन्दा बाहिर निस्कनु गुरुहरूको अहिलेको लागि पहिलो र महत्वपूर्ण दायित्व हो ।

साभार : हाम्रो मझेरी

Comments: