२०७६ असोज २८ गते

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै

मुसीकोट । ३५ वर्षअघि स्थापना गरिएको जिल्लाकै पहिलो सामुदायिक कलेज मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुममा बर्सेनि विद्यार्थी संख्या घटिरहेका छन् भने शिक्षक संख्या बढिरहको छ।

जिल्लाका राजनीतिक दलले आआफ्ना पक्षका शिक्षक नियुक्त गर्दा शिक्षकको संख्या बढेको क्याम्पस प्रशासन पक्षको भनाइ छ। क्याम्पसलाई राजनीति गर्ने थलो मात्र बनाएपछि शैक्षिक विकास सुस्त भएको छ।

त्रिभुवन विश्‍वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०३८ सालमा आईए तहबाट पढाइ सञ्चालन गरेको यो क्याम्पस सदरमुकाम मुसीकोटमा रहेको जिल्लाको पहिलो विद्यालय त्रिभुवन माध्यमिक विद्यालयसँगै स्थापना भएको हो।

क्याम्पसमा अहिले तीनबर्से बी एड, एक बर्से बी एड र बीबीएसका साथै एमएडतर्फ नेपाली, अंग्रेजी र स्वास्थ्य विषय सञ्चालनमा रहेको क्याम्पसका निमित्त प्रमुख हर्कबहादुर ओलीले जानकारी दिए। जिल्लामा एमएड तहमा शैक्षिक कार्यक्रम सुरु गर्ने यो मात्रै पहिलो र एकमात्र क्याम्पस हो।

क्याम्पसले उपलब्ध गराएको तथ्यांकअनुसार पाँच वर्षयता विद्यार्थी संख्या घट्दै गएको छ। शैक्षिक सत्र २०६८/६९ मा एक हजार ६ सय ४९ जना विद्यार्थी रहेकोमा २०६९/७० मा एक हजार पाँच सय ५६ हुँदै ओरालो लागेको विद्यार्थी संख्या शैक्षिक सत्र २०७०/७१ मा नौ सय ५१ मा सीमित भयो।

२०७१/७२ मा सात सय ७६ रहेको उक्त संख्या गत शैक्षिक सत्र २०७२/७३ मा ६ सयमा झरेको पाइएको छ। चालू शैक्षक सत्र २०७३/७४ का लागि अहिले भर्ना चलिरहेको छ। यस वर्ष पनि विद्यार्थी संख्या घटेर पाँच सयको हाराहारीमा आउने अनुमान छ।


 
अहिले जिल्लाका अन्य नौ स्थानमा क्याम्पस स्थापना भएकाले विद्यार्थी संख्या घटेको निमित्त क्याम्पस प्रमुख ओलीको भनाइ छ। ‘जिल्लाका विभिन्न स्थानमा क्याम्पस थपिनुले पनि विद्यार्थी संख्या घटेको हो। कसरी हुन्छ विद्यार्थी संख्या बढाउने र शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यमा हामी लागिपरेका छौुं, उनले भने।

बर्षेनि विद्यार्थी संख्या घटिरहे पनि क्याम्पस सञ्चालक समितिले भने पाँच प्राध्यापक र एक कार्यालय सहयोगीका लागि गत मंसिर ३० गते विज्ञापन गरेर नियुक्ति प्रक्रिया अघि बढाएको छ। क्याम्पसमा हाल नौ पूर्णकालीन प्राध्यापक, दुई लेखा कर्मचारी, एक कार्यालय सहयोगी, एक चौकीदार र एकजना कुचीकार कार्यरत छन्। यसका अतिरिक्त ६ जना आंशिक प्राध्यापकले अध्यापन गराइरहेको क्याम्पसले बताएको छ।

हरेक वर्ष त्रिविले अनुदानस्वरूप दिने नौ लाख, विद्यार्थी भर्ना तथा मासिक शुल्कबापत आउने रकमबाट जसोतसो चलेको यो क्यम्पसको हालको मासिक आम्दानी तीन लाख ९५ हजार रुपैयाँ छ। तर मासिक खर्च ६ लाख ४३ हजार रहेको पाइएको छ। वार्षिक आम्दानी ४७ लाख ४० हजार दुई सय २० रहेकोमा खर्च ८१ लाख ५७ हजार रहेको छ। उक्त खर्च त्रिवि सेवा शुल्कबाहेकको हो। हाल क्याम्पसले मासिक करिब दुई लाख ४८ हजार रुपैयाँ घाटा बेहोरिरहेको निमित्त प्रमुख ओलीको भनाइ छ।

पछिल्लो समय विज्ञापन गरिएका छजना नयाँ कर्माचारी थपिँदा उक्त घाटा बढेर मासिक पाँच लाख रुपैयाँसम्म पुग्नेछ। यसबाट क्याम्पसले वार्षिक झण्डै ६० लाख बेहोर्नुपर्ने देखिन्छ। विभिन्न राजनीतिक दलका नेता नै सञ्चालक समितिको अध्यक्ष भएर काम सम्हालेको इतिहास भए पनि उनीहरूले आफ्नो कार्यकाल सकिएपछि क्याम्पसलाई फर्केर नहेरेका कारण विद्यार्थीबाट आउने शुल्कमा मात्र क्याम्पस सञ्चालन गर्नुपर्ने अवस्था आएको ओलीको गुनासो छ।

यता सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर रोकाले क्याम्पसमा हुने विभिन्न मसलन्द तथा अन्य व्ययभार कटौती गरी आर्थिक भार कम गर्ने विकल्पहरूको खोजी भइरहेको बताएका छन्। अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: