काठमाडौं । राहत, इसिडि र साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई स्थायी प्रक्रियामा लग्न आन्तरिक विज्ञापन हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच फागुन ९ गते विहिवार यस्तो सहमति भएको हो ।

शिक्षकका संघसंगठनहरुले लामो समय देखि यो माग उठाउँदै आएका थिए । अन्ततः शिक्षा मन्त्रालय यो माग पुरा गराउन सहमत भएको हो ।

मन्त्रालय र महासंघ बीच हाल कार्यरत राहत शिक्षक, साविक उच्च माध्यमिक तहका शिक्षक, प्राविधिक धारका शिक्षक, विशेष विद्यालयका शिक्षक र बाल कक्षाका शिक्षकहरूको पदलाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी एक वर्ष भित्र शिक्षक सेवा आयोगबाट आन्तरिक/खुला प्रतियोगितामार्फत एकपटकका लागि उमेरका हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजाने सहमति भएको हो ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघको वर्ता टोली बीच लामो समय देखि निरन्तर वार्ता हुँदै आएको थियो । विहिवारको वार्तामा २० बुंदे सहमति भएको हो ।

विहिवारको सहमतिमा मन्त्रालयका तर्फबाट शिक्षा सचिव खगराज बराल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, शिक्षा मन्त्रालयका सहसचिवहरु  वैकुण्ठप्रसाद अर्याल र कृष्णप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् ।

यसैगरी शिक्षक महासंघको तर्फबाट अध्यक्ष  बाबुराम थापा, सहअध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, वार्ताटोलीका सदस्यहरु राजेन्द्रराज पौडेल, लक्ष्मण शर्मा,  शङ््कर अधिकारी, सानोभाइ कार्की,  रमेश रुपाखेती,  यादवराज पाण्डे,     हेमचन्द्र महतो,  प्रदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

२०७५ फागुन ९ गते १९:५६मा प्रकाशित

प्रतिकृया दिनुहोस्