२०७६ असोज २८ गते

'टिफिन बक्स' प्रभावहीन

पाल्पा । ‘पाल्पाली मोडल’ का रूपमा सामुदायिक विद्यालयमा लागू गरिएको ‘टिफिन बक्स’ अभियान प्रभावहीन बनेको छ । सामुदायिक विद्यालयका विद्यार्थीले पोसाक, टाई बेल्ट र जुत्ता लगाएर झोलामा पानी र घरमै बनाएको खाजा बोक्नुपर्ने अभियान दुई वर्षयता कागजमा मात्र सीमित भएको हो ।

यो अभियान सुरुमा पश्चिम भेगका विद्यालयमा बढी प्रभावकारी थियो । अहिले त्यस क्षेत्रका विद्यालयहरूमै ‘जंक फुड’ बिक्री हुन थालेको छ । कुनै विद्यार्थीले घरमा बनाएको खाजा लैजाँदैनन् । सरकारी विद्यालय क्षेत्रभित्र ‘जंक फुड निषेध’ अभियान सफल पार्न शिक्षा कार्यालयले चार वर्षअघि यस्तो अभियान सुरु गरेको थियो । शिक्षा कार्यालयको निर्देशनमा जिल्लाका अधिकांश विद्यालयले विद्यार्थीलाई ‘टिफिन बक्स’ वितरण गर्न ठूलो धनराशिसमेत खर्च गरेका थिए । यसमा गाविस, सामुदायिक वन, अभिभावकहरूको समेत ठूलो लगानी थियो । ‘घरमै बनाएका खाजा खाने बानीको विकास गर्न टिफिन बक्स वितरण गरे पनि अहिले निरन्तरता पाउन सकेन,’ शिक्षा कार्यालयका सूचना अधिकृत महेन्द्र सुवेदीले भने ।

सरकारीरसामुदायिक विद्यालयका विद्यार्थी दिनभर भोकै बस्ने अनुसन्धानले देखाएकाले विद्यार्थीको वृद्धि र विकासमा सहयोग पुर्‍याउन यस्तो अभियान थालिएको थियो । ‘सुरुवात भयो, त्यसपछि टिफिन बक्स लैजानलाई विद्यालयमा फलोअप भएन,’ शिक्षाकै एक कर्मचारीले भने, ‘विद्यालयहरूले पनि बेवास्ता गर्दै गए । यो कार्यक्रम सफल नहुनुमा विद्यालय निरीक्षक, स्रोतव्यक्ति र प्रधानाध्यापकको समेत कमजोरी छ ।’ अचेल विद्यार्थीले दिउँसो खाजा छुट्टीमा पसल र होटल चहार्ने गरेका छन् ।

चाउचाउ, बिस्कुट लगायत उनीहरूको खाजा बन्ने गरेका छन् । ‘शिक्षकले पढाएका कुरा बुझ्न भोको पेटमा विद्यार्थीलाई समस्या हुन्छ,’ सूचना अधिकारी सुवेदीले भने, ‘त्यसैले दिउँसो घरबाट ल्याएका जुनसुकै खानेकुरा खानुपर्छ भन्ने हाम्रो अभियान थियो । दिउँसो भोक लागेका बेला पौष्टिक आहार खान पाएपछि विद्यार्थीलाई शिक्षकले पढाएका कुरा सिक्न सजिलो हुन्थ्यो ।’

छहरा, सत्यवती, कुसुमखोला, नायरनमतलेस, ताँहु, भैरवस्थान स्रोत केन्द्रका झन्डै १ सय ५० विद्यालयमा जंक फुड निषेध भई टिफिन बक्समा घरमै बनेका खाजा लैजाने अभियान सफल भएको थियो । देवीनगर, हेक्लाङ, आर्यभन्ज्याङ, राम्दी स्रोत केन्द्रमा पनि कार्यक्रम लागु भएको थियो । गाविस, अभिभावक, सामुदायिक वनको सहयोगमा कतिपय विद्यालयले पूर्णरूपमा ‘टिफिन बक्स’ कार्यक्रम लागूसमेत गरे । अहिले कुनै विद्यालयमा टिफिन बक्स लिएर जाने विद्यार्थी विरलै भेटिन्छन् । अधिकांश विद्यार्थीले खाजाका रूपमा जंक फुड नै प्रयोग गर्छन् । ‘बाध्यता बनाएको धेरै टिक्ने रहेनछ,’ सूचना अधिकारी सुवेदीले भने, ‘अभिभावक आफै सचेत बनेको भए कार्यक्रम सफल हुने थियो ।’

शिक्षा अधिकारी संगीता रेग्मीले विगतमा ‘मोटिभेसन’ बाट विद्यालयले पूर्णरूपमा जंक फुड निषेध बनाउन ‘टिफिन बक्स’ वितरण गरे पनि अहिले नियमितता दिन नसकेको बताइन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई टिफिन बक्सबाट हुने फाइदा बुझाउन सके पनि अभियानले निरन्तरता पाउन सकेन । त्यस बेला टिफिन बक्स वितरण गर्न ठूलै कार्यक्रमसमेत गरेका थिए । गाविस, विद्यालय र अभिभावकको लगानीमा बक्स वितरण गर्ने गरेका स्रोतव्यक्ति अर्जुन श्रेष्ठले बताए ।

सरकारले कतिपय जिल्लामा विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न तेल, पिठो, लिटो वितरण गर्ने गरेको छ । यस्तै, खाजाका लागि जिल्लाकै बोटे समुदायलाई प्रतिविद्यार्थी १२ देखि १५ रुपैयाँसम्म दिने गरेको छ ।

‘सरकारले लगानी गरेका दुई मोडलभन्दा फरक तरिकाले हामीले खाजाको व्यवस्थापन गर्न टिफिन बक्स सुरु गरेका हौँ,’ शिक्षा अधिकारी रेग्मीले भनिन् । तर, ‘पाल्पाली मोडल’ का रूपमा लिइएको यो अभियान खेर गएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: