जापानमा अध्ययन वा काम गर्न आउने नेपालीले कम्तिमा तीन महिना जापानी भाषा सिकेर आउन नेपाली दूतावासले आग्रह गरेको छ । जापानमा नेपालीहरु विरामी पर्दा भाषाको कारण उपचारमा समेत समस्या परेकाले सामान्य भाषा जानेर आउँदा राम्रो हुने भन्दै दूतावासले यस्तो सुझाव दिएको हो । सबै नेपाली एक अर्कासंग मिलेर बस्दा पनि भाषा जानेकासँगै हुन्छन भन्ने नहुनाले न्यूनतम भाषा सिकेर आउन दूतावासले सुझाएको हो ।

दूतावासमा लामो समय देखि थुप्रिएको राहादानी सर्वसाधारणलाई उपलब्ध गराउने, अन्य कन्सुलर सेवा १५ मिनेटमा उपलब्ध गराउने जस्ता कार्य अघि बढाएको भनिरहेको अवस्थामा यस्तो सुझाव दिएको हो । अध्ययनका लागि जापान पुगेका नेपालीहरुसँग अन्तरक्रिया गर्नेदेखि र जापानी नेता तथा नरेशलाई समेत भेट गरिसकेका कार्यबाहक राजदुत गेहेन्द्र राजभण्डारीले टेलिफोनमा भने, ‘जापानी भाषा जानेर आउनेको महत्व यहाँ धेरै छ । अंग्रेजी नजाने पनि भयो तर जापानीज भाषामा न्यूनतम दख्खल राख्छ भने उसले यहाँ सहज जीवन जिउन सक्छ । अन्यथा उपचारदेखि धेरै स्थानमा भाषा कै कारण असहजतामा पर्नेछ । कुनै पनि मुलुकको भाषा जान्दा सहजता यसै हुन्छ ।’

जापानमा नेपाली प्रति निकै सम्मान र सदभाव रहेको उनले बताए । जापानी नरेश अकिहितोलाई जन्मोत्सवमा भेट्न पाउँदा नेपाली भन्ने वित्तिकै उनले देखाएको सदभाव र भुकम्पको विकराल अवस्थाबारे जानकारीले निकै चकित परेका राजभण्डारी भन्छन्, ‘काम गर्ने जोस भएका राजदूत सरकारले पठाउन सके धेरै काम हुनसक्छ । सम्भावना धेरै छ ।’ भुकम्पको क्षति, संविधान जारी जस्ता विषय जिज्ञासाले जापान नेपालसँग उच्चस्तरबाट नै निकट रहेको आफूले पाएको राजभण्डारी बताउँछन् । भर्खरै आफ्नो कार्यकाल सकेर फर्केका राजदूत डा। मदनकुमार भट्टराईले पनि जापानीहरु नेपाली प्रति सकारात्मक रहेकाले सक्षम र केही गर्छु भन्ने ब्यक्तिलाई नै त्यहाँ राजदुत बनाएर पठाउन राम्रो हुने बताए । पूर्वराजदुत भट्टराईले भूकम्प पछिको राहतमा निकै ठूलो क्याम्पियन गरेर सबै भन्दा बढि सहयोग जुटाएका थिए ।

एक महिना अघि कार्यवाहको जिम्मेवारी बोकेर जापान गएका राजभण्डारी अहिले भेटघाटमा ब्यस्त छन् । जापानमा नेपालीलाई सहजता छ । सन् २०१० सम्म पाँच सयदेखि सात सय नेपाली जापान आउने गरेकोमा अहिले करिव १५ हजार आउन थालेका छन् । यसबाट पनि नेपालीको जापान मोह झल्किन्छ । यहाँ नेपालीहरुले वास्तविकता नबुझा समस्या आउने गरेको छ । यस्ता समस्या चिर्न दूतावासले पहल थालेको उनले बताए ।

५० हजार भन्दा बढि नेपाली यतिबेला जापानमा छन । ब्यापार ब्यवसाय, अध्ययन र रोजगारीमा नेपालीहरु रहेको उनले बताए । अल्प आयुमा नेपालीको मृत्यु समेत भएकोमा त्यसप्रति गम्भिर हुँदै उनले भने, ‘भाषाको कारण उपचारसमा समस्या छ । न्यूनतम भाषा जानेर आउन आवश्यक छ ।’ अल्प आयुमा हुने मृत्युलाई सुन्यमा झार्न, डिप्रेसन घटाउन नेपाली तथा जापानी चिकित्सकहरुको भेला गराएर विभिन्न क्षेत्रमा प्रवचन तथा नेपालीहरुको स्वास्थ्य परिक्षण समेत गर्ने तयारीमा दूतावास लागि परेको छ ।

जापानमा अध्ययन गर्न आउनेले दुई बर्षमा भिसा सकिए पछि समस्या पर्नेहुनाले उनीहरुलाई दुई बर्षको अध्ययन सकेर विभिन्न प्राविधिक काम तथा अध्ययनको लागि समेत अवसर उपलब्ध गराउन दूतावासले त्यस्ता निकाय र विद्यार्थी बीच अन्तरक्रिया समेत गराउने भएको छ । नेपालीलाई जापानीले निकै धेरै विश्वास गरेकोले पनि त्यसमा विशेष जोड दिइएको हो । जापान नेपालको विकास प्रक्रियामा सहयोगका साथै नेपालमा लगानी गर्न समेत इच्छुक छन । राजनीतिक परिवर्तन नेपालीको चाहना हो भन्दै जापानीहरु नेपालमा राजनीतिक स्थायीत्व र विकास प्रक्रिया अघि बढेको हेर्न चाहन्छन्, थोरै भेटघाटमा कार्याबाहक राजदुतले बुझेको सुनाए ।

२०७२ माघ १२ गते २२:२२मा प्रकाशित

प्रतिकृया दिनुहोस्