सामुदायिक विद्यालयमा तयारी बिनै अंग्रेजी माध्यम लागु गर्दा त्यसले न विद्यार्थीको ज्ञान नत भाषा मानै सुधार गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । तयारी बिनै माथिबाट सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यम लादिदा त्यसले शिक्षक र विद्यार्थीमा तनाव सिर्जना गरेको उनीहरुको भनाइ थियो ।

शिक्षा पत्रकार समूहले सोमवार राजधानीमा आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम आवश्यकता कि बाध्यता’ विषय अन्तक्र्रियामा उनीहरुले अंग्रेजी भाषा शिक्षण र अंग्रेजी माध्यममा सिकाइ फरक विषय रहेको बताए ।

शिक्षाविद् केदारभक्त माथेमाले विद्यार्थीले घरमा अंग्रेजी बोले त्यो स्कूल राम्रो भन्ने अन्धविश्वास अभिभावकमा रहँदा यसले विकराल रुप लिन थालेको बताए । अभिभावकहरुको एकसुत्रीय माग अंग्रेजी रहेको अवस्थामा त्यो दिने कि नदिने एउटा बहस हुन सक्ने तर, नेपाल नै बिर्सने गरी अंग्रेजी माध्यमको विकास र विस्तार हानिकारक हुने उनको भनाइ थियो । अंग्रेजी ज्ञान नभइ भाषाको माध्यम मात्रै भएको भन्दै माथेमाले बाटो र बिजुलीको मात्रै चिन्ता लिन छाडेर शिक्षाको पनि चिन्ता लिन सरकारसँग आग्रह गरे ।

शिक्षा मन्त्रालयका उपसचिव डा. भोजराज काफ्लेले निजी विद्यालयहरुले अंग्रेजी मात्रै नपढाएका उनीहरुले विद्यार्थीहरुलाई विभिन्न गतिविधिमा सरिक साथै अभिभावकहरसँगको अन्तर्सम्बन्ध पनि बढाएका भन्दै सामुदायिक विद्यालयहरु यसमा चुकेका बताए । अंग्रेजी भाषाले मात्रै देश विकास हुने भए चीन, जापान र कोरियाको अवस्था आजको जस्तै नहुने भन्दै डा. काफ्लेले विद्यार्थीलाई भाषामा होइन ज्ञानमा पोख्त बनाउनुपर्ने विचार व्यक्त गरे ।

एनजिओकर्मी टिका भट्टराईले भाषा भन्दा ज्ञान महत्वपूर्ण कुरा भएकाले अंग्रेजीको विकासले मात्रै मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गरे । शान्ति निकेतन मावि भक्तपुरका शिक्षक दिननाथ श्रेष्ठले अंग्रेजी माध्यम अभिभावकको आवश्यकता र शिक्षकको बाध्यताको शिकार कलिला बालबालिका भइरहेको बताए । निजी विद्यालयहरुले नेपालीमा बोल्न पाइदैन भनेर स्कूलको भित्तामा नभइ विद्यार्थीको मुखमा बुझो लगाइदिएको स्पष्ट पार्दै श्रेष्ठले अंग्रेजी माध्यमका कारण विद्यार्थीहरुका लागि विद्यालयहरु बेल्नै नपाइने कारागार जस्तै बनेको बताए । सगरमाथा टेलिभिजनका पत्रकार प्रकाश घिमिरेले भाषा ज्ञान नभइ माध्यम मात्रै भएकाले अंग्रेजी जान्नु सवैथोक नभएकोमा जोड दिए ।

कठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले अंग्रेजी माध्यम हाम्रा लागि आवश्यकता मात्रै पनि नभएको र बाध्यता पनि नभएको बताए । शिक्षक तयारी नगरी विद्यालयमा अंग्रेजी माध्यम लादिदा न अंग्रेजी न नेपाली भाषा राम्रो भएको उनको तर्क थियो । अंग्रेजी माध्यम जवर्जस्ती लादिँदा यसले शिक्षक र विद्यार्थी दुवैको सिर्जनशीलता मरेकोमा कोइरालाको जोड थियो ।

अनुसन्धानकर्मी डा. प्रेम फ्याकले ५५ देशमा गरेको एउटा अनुसन्धानले झण्डै ८० प्रतिशत विद्यालयहरुमा शिक्षक तयारी बिनै अंग्रेजी माध्यम लागु गरिएको पाइएको भन्दै अंग्रेजी भाषा सिक्न अंग्रेजी माध्यम लागु नै गर्न नपर्ने चार वर्ष मिहिनेत गरे पुग्ने बताए । रत्नराज्य माविकी प्रअ डा. गीता खरेलले अनिवार्य अंग्रेजी बाहेकका अन्य विषय नेपालीमा नै पढाउनुपर्नेमा जोड दिँदै यो नियम सरकारी र निजी दुवै विद्यालयमा समान रुपले लागु हुनुपर्ने बताइन् । निजी विद्यालयलाई व्यवस्थित नगरी सामुदायिक विद्यालयमा मात्रै यो सम्भव नहुने उनको भनाइ थियो ।

आजको शिक्षा साप्ताहिकका सम्पादक सूदर्शन सिग्देलले अंग्रेजी भाषाको श्रेष्ठतालाई नेपाली भाषाले मात्रै तोड्न नसक्ने ठोकुवा गर्दै यसका लागि नयाँ विधि अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

शिद्धिगणेश माविका शिक्षक राजेन्द्र कुुमार अधिकारीले अंग्रेजी माध्यमले मात्रै सामुदायिक विद्यालयमा विद्यार्थी बढ्छन् भन्नु गलत रहेको बताए । नेपाली माध्यम नै भएपनि सिकाइस्तर राम्रो भए विद्यार्थी संख्या बढ्ने उनको भनाइ थियो ।

शिक्षा पत्रकार समूहकी अध्यक्ष रोश्ना सुब्बाले लहडको भरमा सामुदायिक विदालयमा अंग्रेजी माध्यम लागु गर्दा यसले झनै सिकाइमा समस्या देखिएको बताइन् ।

कार्यक्रममा सुब्बा र अनुसनधानकर्मी डा. प्रेम फ्याकले अंग्रैजी माध्यमका बारेमा प्रस्तुति प्रस्तुत गरेका थिए ।

२०७५ मंसिर १० गते १३:५४मा प्रकाशित

प्रतिकृया दिनुहोस्