काठमाडौं । शिक्षा मन्त्रालयका सचिव खगराज बरालले शिक्षामा विकृति मात्रै नभइ कृतिहरुपनि रहेका दाबी गरेका छन् । शिक्षामा कृतिहरुपनि धेरै भएपनि  विकृति मात्रै बाहिर आएका उनको भनाइ थियो ।

सञ्चार माध्यमलाई सार्वजनिक शिक्षाका विकृतिसँगै कृतिहरु पनि सार्वजनिक गर्न बरालको आग्रह थियो ।

शिक्षा पत्रकार सुमूहको १९ औं वार्षिक साधरणसभाको उद्घाटन सत्रमा बोल्दै सचिव बरालले तत्कालीन जिल्ला शिक्षा कार्यालयलाई विद्यालयको अनुमति दिने अधिकार हुँदा टोलटोलमा जथाभावि विद्यालय खुलेका तर अहिले विद्यार्थी घटेर सञ्चालन हुनै मुस्किल भएको बताए ।

स्रोतको सुनिश्चितता बिनै विद्यालयलाई अनुमति दिँदा हाल सरकारले सबै विद्यालयहरुलाई समुचित स्रोत वितरण गर्न नसकेको भन्दै अब बाइसे चौबिसे विद्यालयहरुको एकीकरण आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सम्बोधन गर्दै शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले शिक्षालाई सरकारले कुखुराले चल्लाले जस्तै गरि छोप्नुपर्ने बताए । शिक्षामा थिति नभएकाले नै  अख्तियारमा सबैभन्दा बढि मुद्दा शिक्षाको नै आउने गरेको माथेमाको भनाइ थियो ।

त्रिभुवन विश्व विद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख चिरञ्जिवी खनालले पत्रकारितालाई जीवन्त राख्न खोजमूलक पत्रकारिताको आवश्यक रहेको उल्लेख गर्दै शिक्षा पत्रकार समूहले अहिलेसम्म राम्रो काम गर्दै आएको र अझै राम्रो बनाउँदै लैजानको आग्रह गरे ।

सोही अवसरमा विद्यालय सुधारमा उल्लेखनीय कार्य गरेका भन्दै  काठमाडौं बालुवाटार स्थित पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जित र सिरहाको अनार्ह स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक देवकुमार महतोलाई सम्मानित गरिएको थियो । समूहले हरेक वर्ष शिक्षा सुधारमा विशिष्ट योगदान पुर्याउने दुई शिक्षासेवीलाई सम्मान गर्दै आइरहेको छ ।

शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष प्रकाश सिलवालले शिक्षा पत्रकारहरुले शिक्षासँग सम्बन्धित भएका विषयहरुलाई शुुक्ष्म भन्दा पनि शुुक्ष्म विषयहरुलाई मुद्दा बनाएर जनतासामु ल्याउन सफल भएको उल्लेख गरे । सिलवालले भने, ‘यस वर्ष हामीले कक्षाकोठालाई नै विषयवस्तु बनाएका छौं । हामीले हाम्रो विवेक, पेशागत क्षमता तथा सिपको प्रयोग गरी कार्य गर्दै आएका छौं ।’

कार्यक्रममा शिक्षा पत्रकार समूहकी अध्यक्ष रोश्ना सुब्बाले सामुदायिक विद्यालयको अवस्थाको विषयमा प्रस्तुति दिएकी थिइन् । साधारणसभामा शिक्षा मन्त्रालय तथा शिक्षा विभागका प्रतिनिधिहरु, स्थानिय तहका जनप्रतिनिधी, शिक्षक संघसंगठनहरुका प्रमुखहरु, विद्यालय तथा कलेजका संगठनका प्रमुखहरु, शिक्षासँग सम्बन्धित गैह्र सरकारी संस्थाका प्रतिनिधि, शिक्षाविद्, शिक्षाप्रेमी तथा शिक्षा पत्रकारहरुकोे उपस्थिति रहेको थियो ।

२०७५ फागुन ६ गते १०:१६मा प्रकाशित

प्रतिकृया दिनुहोस्