२०७६ मंसिर २३ गते

वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु, एकीकृत अखिल र राष्ट्रिय शिक्षक संगठन एक हुँदै

ईपाटी संवाददाता



काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ ।


तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपा माओवादी केन्द्रको भातृसंगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच एकता अभियान शुरु भएको छ ।


एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय कार्यालय बागबजारमा शनिवार पहिलोपटक दुईसंगठनहरुबीच एकताको लागि औपचारिक छलफल शुरु भएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा बसेको पहिलो एकता सम्बन्धी बैठकमा एकताको वैचारिक तयारीका लागि भन्दै दुईसंगठनहरुको विधान आदान–प्रदान भएको छ ।

पहिलो औपचारिक एकता बैठकमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट अध्यक्ष शंकर अधिकारी, पूर्व अध्यक्ष  रत्नबहादुर ओली, नेता पूर्णप्रसाद दवाडी लगायतको सहभागीता रहेको थियो । यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष लक्ष्मण शर्मा, पूर्व अध्यक्ष बाबुराम थापा, महासचिव हंशबहादुर शाही, कोषाध्यक्ष विष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो ।


छलफलमा बैठकमा सहभागी भएकाहरुकै एउटा एकता कार्यदल विकास गरेर जाने, एकताका लागि सैद्धान्तिक, वैचारिक, सांगठानिक, अन्तर्राष्ट्रिय, शैक्षिक र पेशागत सवालहरुमा छलफल भएको थियो ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष समेत रहिसकेका नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शनिवारबाट वृहत कम्युनिष्ट शिक्षक एकता अभियानको औपचारिक थालनी भएको जानकारी दिए । आफ्नो संगठन शुरु देखि नै वृहत शिक्षक एकताको पक्षमा रहेको भन्दै थापाले विचार र सोच मिल्ने दलहरुसँग वृहत एकता अभियान शुरु भएको बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगै अन्य कम्युनिष्ट विचार राख्ने शिक्षक संघसंगठनहरुसँग एकता गर्दै नेपालमै र पछि विश्वभरी नै एउटै शिक्षक संगठन बनाउने अभियानमा आफुहरु लागेको थापाले स्पष्ट पारे । यस एकता अभियानले ट्रेड युनियन अधिकार प्राप्ति, सुरक्षा अभियानमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै अभियानले छिट्टै परिणाम निकाल्ने बताए ।



नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले दुई संगठनबीच एकताको आधारभूमी बनाउन यसअघि पनि विभिन्न छलफल भएपनि शनिवार देखि औपचारिक छलफल भएको जानकारी दिए ।  पहिलो औपचारिक छलफलमा दुईसंगठनको अवस्था, सांगठानिक, भौतिक, संरचनना र अन्तर्राष्ट्रिय सम्बन्ध आदिका बारेमा छलफल भएको भन्दै अध्यक्ष शर्माले दुईसंगठनको विधान साटासाट गरिएको जानकारी दिए ।


उनका अनुसार यो ऐतिहासिक एकता शिक्षकको पेशागत आन्दोलन र ट्रेड युनियन अधिकार प्राप्तिमा कोसे ढुंगा हुनेछ । पहिले एकैठाउँमा बसेको, एकैठाउँमा बस्दा बनेको विधानको पनि मूलभूत विषय संशोधन नभएकाले एकतामा खासै समस्या नरहेको भन्दै शर्माले आम शिक्षकहरुको विगतको ऐतिहासिक विरासतको सम्मान हुनेगरी छिट्टै उकता हुने जानकारी दिए ।


शर्माका अनुसार मंगलवार पुनः अर्को बैठक बस्नेछ ।



एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बैठकमा पेशागत शिक्षक एकता शिक्षक महासंघ भएपनि वैचारिक र सांगठानिक वृहत एकताका लागि गम्भीर छलफल भएको बताए ।


सह–अस्तित्व, मनोविज्ञान सहितको एकता गर्नेबारे छलफल भएको भन्दै अध्यक्ष अधिकारीले एकताले नेपालको शिक्षा क्षेत्रमा समाजवादी कार्यदिशा निर्माण र ट्रेडयुनियन आन्दोलनमा सामाजिक दायित्व र आवश्यकतामा समेत नयाँ दिशा दिने स्पष्ट पारे । वर्गसंघर्ष र शिक्षकहरुको चेतना बीचको खाडल वैचारिक संलेषण गर्दै एकता प्रक्रियाले छिट्टै पूर्णता पाउने अधिकारीको भनाइ थियो ।


संगठनका नेताहरु पूर्णप्रसाद दवाडी, दिनानाथ तिम्सिनाले एकता एउटा संगठनमा अर्को संगठनको विलय नभइ भावना, संगठन र विचारको एकता हुनुपर्ने भन्दै केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक एकता आजको आवश्यकता भएको धारणा राखे ।


२०३६ सालमा स्थापना हुँदा शिक्षकहरुको एउटै संगठन भएपनि तेस्रो महाधिवेशन पछि २०४४ सालमा शुरुमा प्रजातान्त्रिक विचार बोक्ने शिक्षकहरु छुट्टिएर छुट्टै संगठन गठन गरेका थिए । पछि दशौं र एघारौं महाधिवेशनपछि बामपन्थी विचार राख्ने केही शिक्षकहरु समेत अलग भइ नयाँ संगठन गठन गरेका थिए । झण्डै पच्चीस वर्षपछि फेरी वृहत बामपन्थी शिक्षकहरुको एकता हुन लागेको हो । यदी एकता भए नयाँ संगठनले मुलुकका ७० प्रतिशत शिक्षकहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ ।


Comments: