२०७६ माघ ९ गते

आन्तरिक परीक्षाको बिरुद्ध अस्थायी शिक्षक नै आन्दोलित, परीक्षा अन्योलमा


काठमाडौं । अस्थायी शिक्षकहरु नै आन्दोलनमा उत्रिपछि शिक्षक सेवा आयोगले आगामी चैत २३ गते निर्धारण गरेको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा नहुने सम्भावना बढेको छ । अस्थायी शिक्षकहरुको एउटा समूह परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलनमा उत्रिएपछि परीक्षा अन्यौलमा परेको हो ।

 
सबै अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी हुनबाट बञ्चित गराइएको भन्दै छुट अस्थायी करार शिक्षक संघर्ष समितिले तत्काल परीक्षा स्थगित गर्न माग गरेको छ । अस्थायी शिक्षकहरुका सम्बन्धमा भएको शिक्षा ऐनको नवौं संशोधनले अस्थायी शिक्षकहरु माथि अन्याय गरेको  समितिको ठहर छ । समितिले अस्थायी शिक्षकहरुका सम्बन्धमा तत्काल ऐनको दशौं संशोधन गरी सवैलाई परीक्षा र सुविधाको मैका दिन माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।


शिक्षा ऐनको नवौं संशोधनले २०७२ असोज २ देखि हालसम्म अस्थायी रुपमा कार्यरत शिक्षकहरुलाई नसमेटेको र त्यसका बिरुद्धमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा मुद्दाको किनारा नलाग्दासम्म परीक्षा सञ्चालन नगर्न समितको माग छ । अन्यथा आन्दोलनको आधीबेहरी सिर्जना गर्ने समितिले चेतावनी दिएको छ ।


संघर्ष समितिका सचिव तथा प्रवक्ता नरबहादुर बस्नेतले परीक्षा तत्काल स्थगित गर्न माग गरे । यदी परीक्षा स्थगित नभए देशव्यापी आन्दोलनमा उत्रिने उनले दावी गरे ।


संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष शिव पाण्डेलेले सर्वोच्च अदालतमा मुद्धा दायर भएको अवस्थामा शिक्षक सेवा आयोगले परीक्षाको मिति तोक्नु गलत भएको दाबी गर्दै निश्चित समूहलाई मात्रै फाइदा पुग्ने गरी तोकिएको परीक्षाले १० हजारभन्दा बढी शिक्षकलाई अन्याय जिकिर गरे । उनका अनुसार परीक्षा स्थगित नभएसम्म आन्दोलन जारी रहनेछ । एकै प्रक्रियाबाट नियुक्त भएका शिक्षकलाई नवौं संशोधनले फरक–फरक पक्षमा विभाजन गरी विभेद गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

 


समितिले फागुन २० गतेबाट आन्दोलन सुरु गर्ने गरी शिक्षक सेवा आयोगमा तालाबन्दी गर्ने, आन्दोलनरत लाइसेन्स प्राप्त विद्यार्थीहरुसँग कार्यगत एकता गरी परीक्षा रोक्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ  । ।


शिक्षक सेवा आयोगका अनुसार हाल मुलुकभर ३० हजारको हाराहारीमा अस्थायी तथा करार शिक्षक रहेका छन् ।

Comments: