२०७६ असोज २८ गते

शुभकामना एकेडेमीले मनायो फरक शैलीले तीज

ईपाटी संवाददाता


काठमाडौं । शुभकामना एकेडेमीले यसपाली फरक शैलीले तीजको कार्यक्रम गरेको छ । कार्यक्रम वरिष्ठ पत्रकार नजराम महर्जनको प्रमुख आतिथ्यता र साहित्यकार श्यामकृष्ण खुलिमुलीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


ब्रिटिस काउन्सिलको अन्तर्राष्ट्रिय स्कुल अवार्डमा छानिएपछि केही परियोजनालाई सहयोग पुग्ने गरी एकेडेमीले तीजको कार्यक्रम गरेको थियो ।


नेपालभरि प्रचलनमा आएको सेलरोटी, नेवारी समुदायमा प्रचलित चटामरी र थारु समुदायमा प्रचलित ढिकरीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले तिनै परिकार बनाएर दरको रुपमा विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी र आमन्त्रित पाहुनालाई ख्वाइएको हो ।


कक्षा ८ का विद्यार्थीको नेतृत्वमा बिहान ७ बजेदेखि १२ बजेसम्म विद्यार्थीहरुले नै ती तीन परिकार बनाएका थिए । १२ बजेदेखि १ बजेसम्म दर खाने कार्यक्रम सम्पन्न गरी १ बजेबाट इन्टर स्कुल तिज गीत नृत्य प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा चारवटा हाउसले भाग लिएका थिए ।


विद्यार्थीलाई व्यहारिक शिक्षा दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक विजयराज आचार्यले बताए ।


विद्यार्थीले तीन थरी खाना सेल, चटामरी र ढिकरी बनाउन सके । 'अर्को कुरा चाडबाड खानपान र संस्कृतिको बारेमा सैद्धान्तिक कक्षाहरु दिनुभन्दा यसरी काम गर्न लगायो भने विद्यार्थीले सजिलोसँग सिक्छन् 'उनले भने ।


हाम्रा विद्यार्थीले सिकेको यो ज्ञान अनलाइन भिडियो मार्पmत् विदेशी विद्यार्थीलाई सिकाउँछन् । उनीहरुले सिकेर यी खानेकुरा आफ्नै स्कुलका कार्यक्रममा खुवाउने छन् । त्यस्तै विदेशी विद्यार्थीले पनि शुभकामनाका विद्यार्थीलाई आफ्ना देशमा प्रचलित खाना बनाउन सिकाउने छन् । विदेशी साथीहरुबाट सिकेको खानेकुरा बनाएर आगामी माघ १७ र १८ गते हुन गइरहेको शुभकामना महोत्सवमा खुवाउने छन् । यस कार्यक्रमले विद्यार्थीले आफ्नो संस्कृतिलाई विदेशमा चिनाउने छन् । साथै विदेशी संस्कृतिलाई आपूmहरुले पनि सिक्दै जानेछन् । आचार्यले भने ।



Comments: