२०७६ चैत्र २० गते

डिभाइसमा घोत्लिँदा बच्चाको दृष्टि कमजोर

अन्तैबाट

बिर्तामोड । सुहाना भण्डारी माइनस १.२५ पावरको चस्मा लगाउँछिन् । बिर्तामोडस्थित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीमा छ कक्षामा अध्ययनरत सुहानालाई चस्मा लगाएर पनि शिक्षकले बोर्डमा लेखेका सबै अक्षर चिन्न गाह्रो हुन्छ । त्यसैले उनलाई शिक्षकले कक्षाअगाडिको बेन्चमा राखेका छन् ।

कक्षा ३ मा अध्ययनरत अदृशी शर्माको आँखामा पनि समस्या छ । उनले कक्षा १ देखि नै चस्मा लगाउन थालेको शिक्षक सजल थापाले बताए । झापाका विद्यालयमा अध्ययनरत बालबालिकाको आँखामा ‘अदूर दृष्टि’ (नजिकका वस्तु देख्न मुस्किल पर्ने) समस्या देखिएको छ । ६ देखि १८ वर्ष उमेरका अधिकांश बालबालिकामा यो समस्या देखिएको हो ।

बालबालिकामा ‘मोतीबिन्दु’ र ‘टेढो’ आँखाको समस्या पनि धेरै देखिएको छ । गाउँभन्दा सहरिया बालबालिकाको आँखा कमजोर पाइएको छ । बिर्तामोड नगरपालिका ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालले सञ्चालन गरिरहेको नेपाल रिच प्रोजेक्टअन्तर्गत १९ अगष्ट २०१८ देखि डिसेम्बर २०१९ सम्म जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गर्दा अदूर दृष्टिको समस्या देखिएको हो ।

यो अवधिमा अस्पतालले २ सय ६१ संस्थागत र १ सय ११ सामुदायिक गरी ३७२ वटा विद्यालयका एक लाख २७ हजार ६ सय ७५ विद्यार्थीको आँखा निःशुल्क परीक्षण गरेको थियो । परीक्षणका क्रममा ३ हजार ६ सय १४ जना विद्यार्थीको आँखामा अदूर दृष्टिको समस्या देखिएको अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले जानकारी दिए । उनीहरूमध्ये ३ हजार ५ सय ९६ जनालाई अस्पतालले निःशुल्क चस्मा वितरण गरेको उनले बताए ।

मोतिबिन्दु, टेडो आँखा र अन्य गम्भीर समस्या देखिएका २६ जना विद्यार्थीको आँखा शल्यक्रिया गरिएको छ । अस्पतालले सबै विद्यार्थीलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको बोहोराले बताए । यस्तै विभिन्न समस्यामा विद्यालयहरूले ३ हजार २६ जना विद्यार्थीलाई आँखा परीक्षण गर्न उक्त अस्पताल पठाएका थिए । उनीहरूमध्ये परीक्षणका क्रममा दृष्टिदोष देखिएका १ हजार ३ सय १६ जनालाई थप सुविधा प्रदान गरेको बोहोरालेजानकारी दिए ।

टेलिभिजन, मोबाइललगायत इलेक्ट्रोनिक डिभाइसको बढ्दो प्रयोग, बाहिरभन्दा घरभित्र खेलिने खेलका कारण बालबालिकाको आँखामा दृष्टिदोषको समस्या बढ्दो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले बताए । अदूर दृष्टिको समस्या देखिएका बालबालिकाले माइनस ६ पावरसम्मको चस्मा प्रयोग गर्नुपरेको डा. जोशीले बताए ।

‘इलेक्ट्रोनिक डिभाइसको बढ्दो प्रयोगले बालबालिकाको आँखामा निकै समस्या बढिरहेको छ’ डा.जोशीले भने,‘यसतर्फ अभिभावक सचेत हुनुपर्ने देखिएको छ । आफ्नो जागिर र व्यवसायसंगै छोराछोरीलाई पनि पर्याप्त समय र ध्यान दिनुपर्ने हुन्छ ।’ उनले कतिपय वंशाणुगत रुपमा पनि बालबालिकाको आँखामा समस्या देखिएको बताए । विद्यालय भर्नापूर्व प्रत्येक बालबालिकाको आँखा परीक्षण गराउन उनको सुझाव छ ।

अस्पतालले अर्बिस अन्तर्राष्ट्रिय संस्थाको साझेदारी तथा नेपाल नेत्र ज्योति संघको सहकार्यमा त्रिवर्षीय नेपाल रिच प्रोजेक्ट सञ्चालन गरिरहेको छ । १९ अगष्ट २०१८ देखि सुरु भएको प्रोजेक्टले सन् २०२१ सम्ममा जिल्लाका ६ देखि १८ वर्ष उमेर समूहका २ लाख २० हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखेको अस्पतालका लेखा प्रशासन अधिकृत सुरज रौनियारले जनाए ।

कार्यक्रमअन्तर्गत मेडिकल सफ्टवेयरमा आधारित रहेर आँखा परीक्षण गर्ने गरेको, विद्यार्थीको इच्छाअनुसार अप्टिसियनको उपस्थितिमा चस्माको फ्रेम दिने, चस्मा लगाएको छ/छैन भनेर अनुगमन गर्ने, अभिभावकतथा प्रधानाध्यापकसँग नियमित परामर्श गर्ने गरेको रौनियारले बताए ।

विद्यार्थीको आँखामा देखिन सक्ने सम्भावित समस्याबारे गाउँ/नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य र शिक्षा शाखाका कर्मचारीसंग पनि अन्तर्क्रिया कार्यक्रम गर्ने गरेको उनले बताए । हालसम्म विद्यालयका प्रधानाध्यापक र शिक्षकशिक्षिका गरी ६ सय ७६ जनालाई आँखासम्बन्धी तालिम प्रदान गरेको रौनियारले बताए ।

अर्जुन राजवंशीले कानितपुरमा खबर लेखेका छन् ।

Comments: