२०७६ कार्त्तिक २ गते

हाम्रो प्रतिस्पर्धा निजी विद्यालयहरुसँगै हो

 

डा. गीता खरेल
प्रधानाध्यापक
रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय, मध्यवानेश्वर, काठमाडौं

 

रत्नराज्य मावि आजको रत्नराज्य बन्नुको कारण के हो ?

विद्यालय एकै दिनमा राम्रो र नराम्रो हुने होइन । यो एउटा इतिहास बोकेको विद्यालय हो । धेरै अघिदेखिका अग्रजहरुको मिहिनेत, सहयोग र सहकार्यमा ईंट्टामा ईंट्टा थप्दै जाने क्रममा यो अवस्थासम्म आइपुग्यो । सामुदायिक विद्यालय राम्रो बनाउनका लागि समुदायको सहयोग चाहिने रहेछ । त्यसका लागि समुदायको विश्वास जित्ने काम गर्नुपर्दो रहेछ । त्यो भनेको गुणस्तर सुधार गर्नु प¥यो । नेतृत्व तहमा बस्ने प्रधानाध्यापकले स्वार्थ अनि पार्टीभन्दा माथि उठेर त्याग र समर्पणको भावनाले काम गर्नपर्ने रहेछ । विव्यस पनि राजनीतिमुक्त हुनुपर्दो रहेछ । शिक्षकहरुको निरन्तर मिहिनेत, अभिभावकहरुको चासो र सहयोग हुनुपर्दो रहेछ । जुन हामीलाई निरन्तर प्राप्त भयो । हाम्रो विव्यसको बैठकमा वा हिँड्दाखेरी भेटिनसाथ हुने कुरा भनेको विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने नै हो । हामी अन्य सामुदायिकभन्दा राम्रो कसरी भन्दापनि निजीसँग प्रतिस्पर्धी कसरी बनाउने भनेर निरन्तर छलफल गर्छौं र सोही अनुसार योजना बनाएर लागू गर्छौं । हाम्रो शिक्षक समूह पनि राजनीतिमुक्त, इमान्दार, मिहिनेती र सुधार गर्नुपर्छ भनेर प्रतिबद्ध हुनुहुन्छ । विद्यालय परिवार नै सुधारका लागि मरिमेट्नेखालको छ । शिक्षकहरुले खाली समयमा पनि फलानो विद्यार्थी कमजोर छ, फलानो कक्षामा अतिरिक्त कक्षा लिने हो कि भनेर छलफल गर्नुहुन्छ । त्यस कारणले पनि रत्नराज्य ‘रत्नराज्य’ बन्न पुगेको हो ।

अरु सामुदायिक विद्यालयभन्दा रत्नराज्यमा के फरक अभ्यास हुने गरेका छन् ?

यसको ठ्याक्कै यही भनेर जवाफ दिन त गाह्रो हुन्छ । २०७२ सालको भूकम्प पछि भवन भत्किएर विद्यार्थी टहरामा बसेर पढ्नुपर्ने अवस्था आयो । हामीले त्यसबेला ‘एक व्यक्ति, एक ईंट्टा’ भन्ने नारा लिएर समुदायमा गयौं । हामी स्टाफहरुले पनि सहयोग ग¥यौं । मैले एक लाख हालेर शुरु गरेँ । अनि सबैले सहयोग गर्नुभयो । यसरी हामीले एक करोड बढी संकलन गर्न सफल भयौं । सायद भूकम्प पछि जनसमुदायबाट बनेको पहिलो विद्यालय हाम्रो नै हो । हामी अन्य विद्यालयसँग प्रतिस्पर्धा गर्न भन्दापनि आफूले राम्रो गर्नुपर्छ भनेर लागिरहेका छौं । हामी जागिरे मानसिकताभन्दा माथि उठेर निरन्तर विद्यालय सुधार अभियानमा छौं । सामुदायिक विद्यालय पनि निजीभन्दा कम छैनन्, अझ राम्रा छन् र धेरै राम्रा काम गर्न सक्छन् भनेरै लागिएको अवस्था छ । त्यसैले, हाम्रो प्रतिस्पर्धा पनि सामान्य रुपमा अन्य सामुदायिक विद्यालयभन्दा पनि निजी विद्यालयहरुसँग नै हो । हामी विद्यालयलाई मन्दिर र विद्यार्थीलाई भगवान् मानेर सेवाको भावनाले अघि बढिरहेका छौं ।

सिकाइ सुधारका कस्ता प्रयासहरु भएका छन् ?

हाम्रो विद्यालयमा कक्षा ३ देखि ८ सम्म हरेक विद्यार्थीले अनिवार्य रुपमा कम्प्यूटर अध्ययन गर्नुपर्छ । ९ र १० मा ऐच्छिक छ । शुद्ध पिउने पानी पर्याप्त छ । १ देखि ५ सम्म अनिवार्य अंग्रेजी माध्यम र ६ देखि १२ सम्म अंग्रेजी चाहनेले अंग्रेजी र नेपाली चाहनेले नेपाली माध्यममा पठनपाठनको व्यवस्था गरेका छौं । अतिरिक्त क्रियाकलाप गराउनका लागि सांसद प्रकाशमान सिंह, राधेश्याम अधिकारीसँग सांसद कोषको रकम सहयोग मागेर सभाहलको व्यवस्था गरेका छौं । हामी समाजमा बढी नै घुलमिल छौं । विद्यार्थीका लागि क्यान्टिनको व्यवस्था गरेका छौं । अभिभावकहरुले सुरक्षा पनि खोज्दा रहेछन् । हामी नियमित विद्यार्थीको उपस्थिति, सरसफाइ, १० बजे विद्यालयमा छिरेपछि अभिभावकले फोन गरेपनि फोनको भरमा पठाउँदैनौं । हामीकहाँ विद्यार्थीको सिकाइ गतिविधिलाई केन्द्रमा राखेर शिक्षकहरुले पठनपाठन गर्नु हुन्छ । नयाँ कुरा खोजेर र योजना बनाएर शैक्षिक सामाग्री प्रयोग गरेरै सिकाउनुपर्ने व्यवस्था गरेका छौं । मल्टिमिडिया र प्रोजेक्टरको माध्यमबाट सिकाउँदै आएका छौं । हाम्रो विद्यालयमा विद्यार्थीले मात्रै होइन, शिक्षकले समेत गृहकार्य गर्नुहुन्छ । भोलि के पढाउने, के शैक्षिक सामग्री प्रयोग गर्ने, इन्टरनेटबाट के खोजेर पढाउने, कसरी पढाउँदा बुझ्छन् भनेर पूर्व तयारी गरेपछि मात्रै शिक्षकहरु कक्षाकोठामा प्रवेश गर्नुहुन्छ । विद्यार्थीहरुलाई डायरी उपलब्ध गराएका छौं । अभिभावकले गृहकार्य आफैं चेक गर्ने, गरे÷नगरेको हेर्ने गर्नु हुन्छ । इन्टरनेट र पुस्तकालयमा आधारित सिकाइ गर्दै आएका छौं । विभिन्न हाउसमा छुट्याएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र परियोजना, खोजमुलक कार्यमा समेत सहभागी गराउँदै आएका छौं । हामी कक्षाकोठको सुधारमै बढी केन्द्रित हुँदै आएका छौं ।

विद्यार्थी मूल्याङ्कन विधि कस्तो छ ?

हामी तीनवटा युनिट टेस्ट भनेर लिन्छौं । ३ अन्य फाइनल गरी ६ वटा परीक्षा पूरा व्यवस्थितसँग सञ्चालन गर्छौं । उत्तरपुस्तिका अभिभावकहरुलाई बोलाएर दिन्छौं । धेरै परीक्षा लिँदा विद्यार्थीमा ‘परीक्षा हाउगुजी होइन, हाम्रै स्तर वृद्धिको लागि हो रहेछ’ भन्ने भान पर्ने रहेछ । शुरुदेखि पढ्ने अभ्यास पनि हुने रहेछ ।

पहिले त विद्यालय राम्रो थिएन भन्ने पनि सुनिन्थ्यो नि ! कहिलेदेखि राम्रो हुन शुरु गर्यो ?

पहिला पनि नराम्रो थिएन । एकैचोटी राम्रो हुने पनि होइन । बिस्तारै खुड्किला चढ्दै र सुधार गर्दै आएका हौं । हाम्रो सेवा, धर्म–कर्म जे भनेपनि हामी परिचित हुने माध्यम पनि सबैथोक विद्यालय हो भन्ने सोचिदिनुपर्ने रहेछ । अन्त जति प्रगति गरेपनि विद्यालय बिग्रिए हामीलाई कसैले माया गर्ने छैन । मलाई त भर्ना अभियान पनि गर्नुपर्दैन जस्तो लाग्छ । निजी स्कूलले अभियान गर्नु नपर्ने, हामीले मात्रै किन गर्नुपर्ने ? ३६४ दिन हामीले राम्रो पढाउने हो भने ६५ दिनमा विद्यार्थी आफैं आउँछन् । एक दिन ब्यानर बोकेर घाममा हिँड्दैमा भर्ना अभियान सफल हुन्छ जस्तो लाग्दैन । राम्रो चिजको विज्ञापन गर्नु पर्दैन । विद्यार्थी नै रहेनछन् यसरी, हिँडेका छन् भनेर झन् विद्यार्थी घट्ने डर हुन्छ । हामी शिक्षक योग्य छौं । हामी काम गर्न प्रतिबद्ध हुनु पर्छ । यो अवसर पनि हो । एउटा जुत्तामा पालिस गर्नेले पनि राम्रो पालिस गरेर टल्काउँछ भने सबै त्यहाँ जान्छन् । काम राम्रो छैन तर, रामे गर्छु भनेर विज्ञापन गर्दैमा को जान्छ ? हामी सामुदायिक विद्यालयका शिक्षक प्रअहरुले अझ प्रतिबद्ध भएर लाग्नु पर्छ ।

राम्रो नतिजा ल्याउनका लागि शिक्षक तयारी र व्यवस्थापन कसरी गर्नुभएको छ ?

यो एकजना प्रअले मात्रै गरेर हुने विषय होइन । हाम्रो विद्यालयमा शिक्षक समूह एकदमै मिलेको, मिहिनेती, दक्ष र प्रतिबद्ध हुनुहुन्छ । शिक्षकहरुलाई विद्यालयप्रतिको समर्पण भाव यहाँको वातावरणले नै बनाएको छ । रत्नराज्यका शिक्षक हुँ भन्नेमा उहाँहरुलाई गर्व छ । हो त्यही गर्वले उहाँलाई थिचेको छ । वा भनौं मिहिनेती बनाएको छ । मैले राम्रो नगरे बेइज्जत हुन्छ भन्ने छ । त्यसैले हाम्रामा विद्यार्थीले भन्दा शिक्षकले बढी मिहिनेत गर्नुहुन्छ । मैले पनि हर बखत राती एक निद्राबाट ब्यँुझिनसाथ विद्यालयकै विषयमा सोचेको हुन्छु । कामप्रतिको लगाव भए त्यो गर्न रमाइलो पनि हुने रहेछ । करले काममा लगाएको भए म बिहान ६ बजेदेखि साँझ ६ सम्म किन विद्यालयमा बस्थेँ होला र ? विद्यालय एकपटक राम्रो बनाउनुभन्दा राम्रो बनाइराख्न गाह्रो हुने रहेछ । शिक्षकहरुलाई कर गर्नै पर्दैन । दबाब दिनै पर्दैन । उहाँहरुले आफैं राम्रो गर्नुहुन्छ ।

विद्यालयको सिकाइ उपलब्धिको अवस्था के छ ?

हाम्रोमा कक्षा ८/९ सम्म ९८ प्रतिशत नै सिकाइ उपलब्धि रहेको छ । एसइइमा पनि ९० प्रतिशतमाथिकै नतिजा छ । हाम्रो विद्यालयमा सिकाइ राम्रो भएकाले नै निजी विद्यालयहरुबाट समेत यहाँ आउने विद्यार्थीको चाप बढी छ । आएजतिलाई भर्ना लिन सक्नै अवस्था नै हुँदैन । भौतिक पूर्वाधारको कमीले आएकामध्ये आधालाई पनि भर्ना गर्न कठीन छ । सरकारी विद्यालय हो आएजतिलाई भर्ना लिनु पर्छ थाहा छ तर आएजतिलाई भर्ना गरेर पढाउने ठाउँ छैन । यदि नेपाल सरकारले साँच्चै भौतिक सेवा सुविधा सम्पन्न बनाइदिने हो भने सुधार नहोउञ्जेल बिहान ९ बजेदेखि ५ सम्म सञ्चालन हुने व्यवस्था गरिदिने हो भने निजीभन्दा कैयौं गुना राम्रो विद्यालय बनाएर देखाइदिन्छौं । निजी विद्यालयलाई गाली गर्ने होइन । सामुदायिकले राम्रो नगरेकाले नै उनीहरु आएका हुन् । यदि सामुदायिक राम्रा बनाउने हो भने निजी आफंै पाखा लाग्छन् । निजीले बढी मिहिनेत गरे सामुदायिकमा कम मिहिने त भएको मात्रै हो । सरकारले पनि सरकारी तलब सुविधा खाने शिक्षक कर्मचारी र राजनीतिज्ञका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढ्नुपर्ने व्यवस्था गरिदिनु पर्छ । सामुदायिक विद्यालयको स्तर त्यसै माथि उठ्छ ।

निजी विद्यालयमा त्यस्तो के छ, जुन सामुदायिकमा छैनन् ?

कुशल व्यवस्थापन, मिहिनेत, दण्ड–सजायको व्यवस्था छ । जुन सामुदायिकमा कम छ । सामुदायिक विद्यालयमा निजीमा भन्दा राम्रा शिक्षक हुनुहुन्छ । शिक्षक सेवा आयोग पास गरेका शिक्षकहरु हुनुहुन्छ । तलब–भत्ता पनि निजीमा भन्दा राम्रो छ । विद्यार्थी जन्मँदै कोही राम्रा र कोही नराम्रा भएर जन्मिने होइनन् । वातावरणको प्रभावले हुने हुन् । विद्यालयको वातावरणले पनि प्रभाव पार्छ । निजीमा आमाबुवाले सर्लक्क गाडीमा चढाइदिने उमेरका बच्चा हाम्रोमा अर्को बच्चालाई डो¥याएर ल्याउने हुन्छन् । संघर्ष गर्न सिकेका हुन्छन् । सामुदायिक विद्यालय कमजोर भए, सिकाइ उपलब्धि राम्रो आएन भन्छ सरकार । तर, खोई त दण्ड–सजाय ? राम्रो गर्नेलाई खोई त सम्मान र पुरस्कार ? गरेपनि केही छैन, नगरेपनि केही छैन । अनि कसरी हुन्छ सुधार ? निजीमा राम्रो नपढाए शिक्षकको जागिर जान्छ । निजीमा राजनीति गर्न पाइदैन । सामुदायिकमा झण्डा बोक्ने धेरै हुनुहुन्छ । फेरि, एउटा पार्टीले संरक्षण गरिदिन्छ । त्यो हुनुहुँदैन । हँदा खानेका छोराछोरी मात्रै सामुदायिकमा आए हुनेखानेका त निजीमै गए ।

सामुदायिक विद्यालयको सुधार हुन नसक्नुमा सरकारको नीतिमा दोषी छ कि नियतमा ?

म सरकारको नियत र नीति दुबैमा दोष देख्दिनँ । दोष हामी शिक्षकमै छ । शिक्षा सुधारका लागि कक्षाकोठामा राम्रो शिक्षक सिकाइ गर्ने त हामीले नै हो नि ! सरकारलाई मात्रै गाली गरेर पन्छिन कोही पाउँदैनौं । सरकारको नीति र नियत ठीक छ तर, कक्षाकोठामा लागु गर्ने त शिक्षकले हो नि ! बरु, राम्रो गर्नेलाई मूल्याङ्कन कम भए जस्तो लाग्छ । न त, नराम्रो गर्नेलाई दण्ड नै छ । शिक्षा नसुध्रिय सम्म समाज र राज्य समृद्ध बनाउने कुरा कोरा कल्पना मात्रै हो । फेरि, सरकारले कक्षा ११ र १२ बिहान नचला भन्छ । दिउँसो चलाउन कक्षाकोठा पुग्दैन । छिमेकी विद्यालयहरुमा विद्यार्थी छैनन् । कि अब हामीलाई ती विद्यालय भवन प्रयोग गर्न अनुमति दिनु पर्छ । हामीले त्यसो भए आधारभूत र माध्यमिक तह फरक–फरक स्थानमा सञ्चालन गर्न सक्छौं । अझ, धेरै विद्यार्थी भर्ना गर्न पनि सक्छौं ।

महिला प्रधानाध्यापकका समस्या र चुनौती हुन्छन् या हुँदैनन् ?

महिला भएकैले समस्या पर्छ जस्तो लाग्दैन । ठूलो कुरा इमान्दारिता, मिहिनेत, जिम्मेवारी बोध र निस्वार्थ सेवा नै हो । महिला–पुरुष जो भएपनि राम्रो गरे केही समस्या पर्दैन । महिला प्रअहरुका विद्यालयहरु पनि उत्कृष्ट छन् । पहिलाको जस्तो समस्या हिजो–आज छैन ।

प्रस्तुतिः रोशन गाउँले

 

साभार : आजको शिक्षा साप्ताहिक

Comments: