२०७७ जेष्ठ २१ गते

घाँस बेचेर शिक्षकलाई तलब

पर्वत । करिब २० रोपनी समथर जमिनको बीचमा विद्यालय भवन छ । भौतिक संरचना र जमिनको बनावट हेर्दा सुविधासम्पन्न देखिए पनि यहाँको माझीगाउँ आधारभूत विद्यालयको अवस्था भने समस्याग्रस्त छ । २०५३ सालमा स्थानीय अगुवाले स्थापना गरेको विद्यालयमा शैक्षिक गुणस्तर बाहेकका पूर्वाधारमा साढे दुई दशकसम्म सुधार आउन सकेको छैन ।

विद्यालयले स्थायी र अस्थायी गरी ४ शिक्षकको दरबन्दी पाएको छ तर विद्यालयमा कार्यरत भने आठजना छन् । ५० प्रतिशत शिक्षक कर्मचारीको तलब व्यवस्थापन भने विद्यालयले घाँस बेचेर गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेलले भने, ‘स्कुल र सार्वजनिक जग्गासमेतको घाँस बेच्दा वार्षिक ५० हजार आउँछ । बाँकी रकम वैदेशिक रोजगारीमा गएका अभिभावकले सहयोग गर्नुभएको छ ।’ विद्यालयमा स्नातकोत्तर उत्तीर्ण शिक्षकले समेत मासिक ५ हजारमा पढाउँदै आएको प्रअ पौडेलले बताए ।

शैक्षिक गुणस्तर वृद्धिमा यहाँका शिक्षक र अभिभावकको संघर्ष भने अथक छ । विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । ‘तीन वर्षअघिसम्म यहाँ १७ विद्यार्थी थिए,’ व्यवस्थापन समिति अध्यक्ष डोलराज भुषालले भने, ‘निजी स्कुलले विद्यार्थी तानेपछि हामीले पनि अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्‍यौं ।’ अहिले ७२ विद्यार्थी पुगेका छन् ।

निजी विद्यालयकै अवधारणाबाट सञ्चालन गरिएको यो विद्यालयमा नर्सरी, केजीसहित गरी ७ वटा कक्षा सञ्चालित छन् । ३ देखि ५ कक्षासम्म कम्प्युटर कक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा नियमित पठनपाठन गराइएको छ । पाठ्यपुस्तक र विद्यार्थीलाई पोसाकसमेत विद्यालयले नै खोजेर विद्यार्थीलाई नि:शुल्क उपलब्ध गराएको शिक्षक कुलप्रसाद लामिछानेले बताए । ‘आफ्नै गाउँको स्कुल भनेर केही साथीहरूले स्वयंसेवा गर्नुभएको छ,’ लामिछानेले भने, ‘हामीले दिने चार–पाँच हजारले खाजा खान पनि पुग्दैन तर सन्तुष्ट हुनुहुन्छ ।’

विद्यालयको शैक्षिक सुधारका लागि प्रअ पौडेल बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्यालयमै खट्छन् । कक्षाशिक्षकले कक्षा अनुसारका विषयलाई आधुनिक प्रविधिबाट श्रव्य/दृश्य सामग्रीसहित अध्यापनको सुरुवात भएको छ । हालसम्म इन्टरनेट पहुँच नभए पनि शिक्षकले एन्ड्रोइड मोबाइल तथा विद्यालयमा उपलब्ध कम्प्युटरको सहायताले आधुनिक प्रविधि पछ्याउँदै अध्यापन गराएको स्थानीय जनप्रतिनिधि भोलानाथ भुषालले बताए ।

‘यो नगरपालिकाका धेरै विद्यालय पुगें,’ भुषालले भने, ‘जगैदेखि प्रविधि पछ्याएर अध्यापन भएको यो नमुना विद्यालय हो ।’

विद्यालयमा भौतिक पूर्वाधार र शिक्षक दरबन्दी भए आगामी वर्षदेखि आधारभूत तहसम्म स्तरवृद्धि गर्ने योजना रहेको प्रअ पौडेलले बताए । ‘नजिकमा अरू विद्यालय छैनन्,’ उनले भने, ‘दस वर्षको बच्चा यहाँबाट खानीगाउँ पुगेर पढ्न सक्दैन । तीनकोठे भवन र एउटा दरबन्दी पाए उपल्ला कक्षा सञ्चालन गर्न सकिन्छ ।’ स्वयंसेवी शिक्षकलाई मासिक पाँच–छ हजारका दरले पारिश्रमिक, विद्यार्थीलाई पोसाक, पाठ्यपुस्तक लगायतमा मात्रै वार्षिक ३ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

 

 

Comments: