२०७६ भदौ ३१ गते

'हाम्रो विद्यालयमा विद्यार्थी संख्या एकै वर्ष आठ हजारसम्म पुर्याउन  सक्छौं'


घनश्याम पाठक

प्रधानाध्यापक

कालिका माध्यमिक विद्यालय देवीनगर, बुटवल, रुपन्देही

 


अरु सामुदायिक विद्यालयभन्दा कालिका मावि के मानेमा फरक छ ?
फरक छुट्याउने आधार धेरै हुन्छन् तर सरकारको लगानी, सरकारी नीति योजनाका आधारमा फरक छैन । कक्षाकोठाको प्रभावकारिता, शिक्षण विधि र यस विद्यलयको उत्पादनमा केही फरक अवश्य छ । विद्यालयको प्रशासनिक संरचनामा व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ, शिक्षक स्टाफ, विद्यार्थी र अभिभावकको बराबर जिम्मेवारी विभाजन गरिएको छ । यो अर्कै फरकपना हो । विद्यार्थी संख्या ४३९७ जना (कक्षा नर्सरी देखि १२ सम्म) हुनु पनि पक्कै फरक हो । १८३ जना शिक्षक कर्मचारी समूह हुनु, एसइइ दिने विद्यार्थी ३२५ जनामा सबैजना अब्बल जीपीपएका साथ उत्तीर्ण हुन सक्नुु पनि फरक मान्नु पर्ला कि !


विद्यालयका असल अभ्यास के–के छन् ?
विद्यार्थीलाई विद्यालय भित्र्याउँदा तल्लो कक्षामा (१–५ कक्षामा) भित्र्याउने कोशिस गरिएको छ । जसले गर्दा विद्याार्थीको जग राम्रो बनाउन सकिएको छ । हाम्रो विद्यालयमा शैक्षिक सामग्रीबिना शिक्षक कक्षामा प्रवेश गर्न पाउँदैनन् । कक्षामा विद्यार्थीहरुले प्रश्न सोध्ने वातावरण तयार पार्ने र प्रश्न सोधेकोमा स्यावासीसहित उत्तर दिने गरिएको छ । मासिक र त्रैमासिक, अर्ध वार्षिक र वार्षिक परीक्षाको माध्यमबाट मूल्याङ्कन गरिन्छ । प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षामा कुनै विषयमा अनुत्तीर्ण भएमा पूरक परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । कमजोर विषयमा अलग्गै सहयोगी कक्षाको व्यवस्था गरिएको छ । उच्च अंक जीपीए वा कक्षा ११÷१२ मा ७५ प्रतिशत प्राप्ताङ्क कटाउने छात्रछात्राहरुलाई विशेष प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । शैक्षिक शत्रको शुरुमा शिक्षण तालिम, शैक्षिक सामग्री संकलन, निर्माण गर्ने उत्पादन गर्ने कार्यमा विषय शिक्षकहरुलाई केन्द्रित गराइएको छ । शिक्षण सिकाइमा सूचना र प्रविधिको व्यापक प्रयोग गर्ने गरेका छौं । सिकाइ विधि प्रभाबकारी गराउन परियोजना कार्यलाई बढी प्राथमिकता दिएका छौं । नव प्रवेशी (कक्षा नर्सरीमा) एक वर्षको शैक्षिक सामग्रीहरु, विद्यालय पोशाक, झोला आदि विद्यालयले नै उपलब्ध गराउने गरेका छौं । जिम्मेवारीको वैज्ञानिक (व्यवहारिक) रुपमा विभाजन गरिएको छ । विद्यार्थीहरुको प्रोफाइल बनाएर राख्ने गरेका छौं । एक शिक्षक एक ल्यापटप नीतिको अवलम्बन गरेका छौं । कक्षा मनिटरलाई बढी जिम्मेवार बनाउने कोशिस गरिएको छ । नेतृत्व विकासको लागि सानै कक्षाबाट क्रमशः अवसर दिने व्यवस्था गरिएको छ ।

विद्यालय राम्रो बनाउन के–के प्रयास भएका छन् ?
माथिका प्रयास सबै यसै प्रश्नसँग सम्बन्धित छ । योबाहेक शिक्षक, विव्यस, शिअसं सबैका एक मन एकता कायम गरिएको छ । शिक्षक कक्षा कोठामा मुस्कानसहित प्रवेश गर्ने वातावरण तयार गरिएको छ । यसैको परिणाम विद्यालय नेपालको मोडल बन्न सफल भएको छ । एसइइ नतिजामा आधारमा साधारण र प्राविधिक दुबैतर्फ नेपालकै उत्कृष्ट विद्यालय बन्न सफल भएका छौं ।


सिकाइ र भौतिक पूर्वाधारको कस्तो सम्बन्ध रहन्छ ?
सिकाइलाई प्रभाव पार्ने तत्वमध्ये भौतिक वातावरण पनि एक हो । सिकारुलाई सिक्न प्रेरित गर्नेखालको भौतिक वातावरण भएका सिकाइ प्रभावकारी बन्न सक्छ । उज्याला र स्वच्छ कक्षाकोठा, प्रविधि जडान गरिएको र बसाइ सजिलो हुनेगरी बनाइएका डेक्स–बेञ्च, शैक्षिक सामग्री पनि त्यस्तै सहज तरिकाले प्रदर्शन गर्न सकिने अवस्था भएपछि सिकाइ प्रभावकारी हुन्छ । त्यसको लागि पनि कालिका माविले मिहिनेत गरेको छ र त्यो वातावरण उपलब्ध गराएको छ ।


सामुदायिक विद्यालयका खास समस्याहरु के–के छन् ?
खासगरी, नेपालको शिक्षा नीति नै व्यवहारिक छैन । सबैजसो शैक्षिक योजना प्रयोगमै समाप्त हुने गरेका छन् । जसको मार सामुदायिक विद्यालयमा परेको छ । विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दीको व्यवस्था नहुनु, विद्यालयको अनुगमन/नियमनको कमी हुनु । राजनीतिक आधारमा शिक्षक नियुक्तिदेखि विद्यालयलाई गलत राजनीतिक क्रिडास्थल बनाउनुले पनि सामुदायिक विद्यालयलाई मार परेको छ । राम्रो गर्नेलाई प्रोत्साहन पनि छैन । नराम्रो गर्नेलाई कार्बाही पनि छैन । बरु, राजनीतिक आवरणमा ल्याएर बचाउने कार्यले पनि मार खप्नुपरेको छ । क्षमतावान शिक्षक भित्र्याउनेभन्दा आफ्नो मान्छेलाई शिक्षकको रुपमा ल्याउने नीति बनाएर राज्यले गर्ने व्यवहारले सामुदायिक विद्यालयको गुणस्तर खस्किएको देखिन्छ । राज्य शिक्षाको जिम्मेवारीबाट भाग्ने र नीति निर्माण स्थानमा बस्ने मान्छेहरुले आफ्ना सन्तति निजी विद्यालयमा लैजानाले यस्तो भएको हो ।

सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम हुनुको कारण के हो ?
पहिलो कुरा सरकारको लगानी शिक्षामा ठूलो पटक्कै छैन । कुल बजेटको १७ प्रतिशत लगानीबाट घटाएर अहिले त जम्मा १० प्रतिशतभन्दा तल झारेको अवस्था छ । यो अन्य राष्ट्रको तुलनामा नगन्य नै हो । नेपालकै पनि हिजोको तुलनामा आज बजेट घटाउँदै लगिएको छ । अनि देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा लगानी गर्नेभन्दा घटाउदै लैजाने यो राज्य व्यवस्थाको असली नियत नै भएको छ ।


जहाँसम्म गुणस्तरको कुरा छ, के गुणस्तर विद्यार्थीले परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क मात्र हो र ? पटक्कै होइन । आज जति पनि राज्यको लागि आवश्यक जनशक्ति उत्पादन भएको छ, त्यो सामुदायिक विद्यालयकै उत्पादन हो । आफूभन्दा ठूलालाई आदर गर्ने र सानोलाई माया गर्ने, देशभक्त, शिष्टचारी, आफ्नो जीवनमा आइपरेका समस्या समाधान गर्न कठिनमा पनि रमाउनसक्ने जनतासमेत सामुदायिक विद्यालयले नै उत्पादन गरेको हो । जहाँसम्म नतिजाको कुरा छ, सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरु हामी गम्भीर बन्नु पर्छ । हाम्रो उत्पादन कुनै पनि मानेमा कमजोर हुनु हुँदैन ।


सामुदायिक विद्यालयमा चरम राजनीतिकिरण भएर स्तर खस्किएको आरोप लाग्छ नि ?
यो आरोपमा केही सत्यता अवश्य छ । तर, राजनीतिले मात्रले बिग्रेको होइन । राजनीतिलाई बदनाम गर्ने तत्वले बिगारेको हो भन्ने लाग्छ । सबैभन्दा श्रेष्ठ नीति राजनीति हो तर यहाँ भ्रष्टाचारी, दलाली, शोषण, अन्याय, अत्याचार गर्नेलाई राजनीतिको परिभाषा लगाइएको छ । त्यो अर्थमा यसैले बिगारेको हो । राजनीतिक विचारधारा, सिद्धान्त र दर्शन अनुसार त विद्यालय बिग्रने होइन । कालिका माविमा म राजनीति पनि गर्दछु । मेरो राजनीति विद्यालय सबैभन्दा राम्रो बनाउने हो त्यो बनेको छ । के फरक प¥यो ?

सामुदायिक विद्यालयले किन विश्वास आर्जन गर्न नसकेका होलान् ?
राम्रो गर्ने सामुदायिक विद्यालयले अवश्य विश्वास आर्जन गर्न सक्छन् भन्ने कुरा हाम्रो कालिका माविले पुष्टि गरेको छ । कक्षाकोठा र शिक्षकको अभाव नहुँदो हो त कालिकामा एकै वर्षमा ७/८ हजार विद्यार्थी पु¥याउन सक्नेथियौं । आनीबानी व्यवहार बोली, भाषा, चालचलन र नतिजा राम्रो दिन सकेको खण्डमा सबैभन्दा बढी विश्वास सामुदायिक विद्यालयमा छ भन्ने कुरा कालिकाले राम्रो उदाहरण पेश गरेको छ ।

के सामुदायिकले निजीसँग प्रतिस्पर्धा गर्न सक्छन् ?
राज्यले उचित व्यवस्थापन गर्न र शिक्षा नीति व्यवहारिक बनाउन सके सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा गर्न निजी विद्यालयले नसक्ने अवस्था आउँछ । अहिलेकै अवस्थामा पनि हाम्रो विद्यालय कालिकाले प्रतिस्पर्धा स्वच्छ रुपमा गरेकै छ त ।


सामुदायिक विद्यालय सुधारमा समुदायको भूमिका कस्तो रहन्छ ?
समुदायलाई समयानुकूल परिवर्तन गर्ने र युग सुहाउँदो बनाउने प्रमुख आधार हो । यो समुदायको सम्पत्ति हो । समुदायको विश्वास जित्नेगरी विद्यालय सञ्चालन गरेमा निजी स्कूलपट्टि फर्केका अभिभावकलाई सामुदायिक विद्यालयतर्फ फर्काउन सकिन्छ । यी दुबै पक्षमा तादात्म्य मिलाएर जाने हो भने समुदायका ध्यान सामुदायिक विद्यालयमा केन्द्रित गर्न सकिन्छ । अनि विद्यालय पजि अब्बल सावित हुनेछन् ।

सामुदायिक विद्यालयमा नेतृत्वको कमी भएको हो ?
सामुदायिक विद्यालयमा नेतृत्व नभएको होइन, बरु भएको नेतृत्वले कुशलतापूर्वक नेतृत्व गर्न नसकेको हुन सक्छ । विद्यालयको नेतृत्वले नै व्यक्ति निजी स्वार्थभन्दा संस्थाको हितमा, आफ्नो निजी काममा भन्दा विद्यालयको लागि समय प्रशस्त दिने हुनु पर्दछ । त्यो वातावरण सरकारले पनि तयार पार्नु पर्छ । राजनीतिक आस्था र झोला बोकेकै आधारमा नेतृत्व दिने गलत परिपाटीले असर गरेको छ । अब त्यसको अन्त्य हुनेगरी प्रतिस्पर्धाबाटै नेतृत्वमा आउनेखालको नीति बनाउनु पर्छ ।

शिक्षक तालिम कक्षाकोठामा कतिको पुगेको छ त ?
सामुदायिक विद्यालयका शिक्षक धेरैजसो तालिमप्राप्त हुनुहुन्छ तर तालिममा सिकेको सीप कक्षाकोठामा पु¥याउन भने १०० प्रतिशत सकेका छैनौं । सिकेको सीप कक्षाकोठामा नपु¥याएसम्म यो स्थितिवाट माथि उठाउन सकिँदैन । तसर्थ, हामीले आफ्नो कक्षा प्रभावकारी बनाउन सिकेको सीप शिक्षण सिकाइमै प्रयोग गरौं, तब मात्र सिकाइ प्रभावकारी बन्छ ।

सुधारको शुरुवात कहाँबाट गर्ने होला ?
सुधार सबैभन्दा पहिले आफैंबाट गरौं । आफ्नो नेतृत्वमा सञ्चालन हुने विद्यालयलाई सुधार गरौं । त्यसपछि सामुदायिक सम्बन्ध, शिक्षकहरुको पेशागत, भौतिक र कक्षाकोठामा शिक्षण कलामा सुधार गर्दै लैजानु पर्दछ । युगलाई चिनेर युग अनुकूल आफू र आफ्नो संस्थालाई सुधार गर्दै लैजानु पर्छ ।

प्रअहरुको चुनौती र अवसर के–के छन् ?
प्रअको भूमिका प्राप्त गर्दा विद्यालयको अवस्था कस्तो थियो, त्यो अवस्थाभन्दा तल झर्न नदिने र अगाडि बढाउदै लैजाने अनि सबैको आकर्षणको विद्यालय बनाउन सक्ने कि नसक्ने ? भन्ने चुनौतीको विषय हो । निश्चित योजना र आफूसँग भएको दृढ इच्छाशक्ति भएर पनि प्रअले अवसर नभएर खुम्चिनुपर्ने हुन सक्छ । तर, ती सबै कुराको व्यवहारिक प्रयोग गरेर देखाउने काम एउटा अत्यन्तै सुन्दर अवसर पनि बन्न सक्छ ।

विद्यालयको अबको योजना ?
अब कालिकालाई असहाय, टुहुरा, सडक बालबालिका निम्न आयस्तर भएका बालबालिकाको भविष्य निर्माण गर्ने थलो पनि बनाउनु पर्छ भनेर योजना बनाएका छौं । खाने, बस्ने, पढ्ने सिक्ने र व्यक्तित्व निर्माण गर्ने सबै सुविधायुक्त विद्यालय बनाउने योजना छ । हामी त्यो योजना पूरा गर्नेतर्फ लागेका छौं । यो मोडल विद्यालय भयो, अन्तर्राष्ट्रिय उत्कृष्ट विद्यालय पुरस्कार पनि प्राप्त ग¥यो । ३० हजार विद्यालयहरुमा प्रथम स्थान पनि प्राप्त ग¥यो । अब भावी योजनामा पनि केन्द्रित भएका छौं ।


अन्य सामुदायिक विद्यालयलाई तपाईँको सुझाव ?
सामुदायिक विद्यालयप्रतिको आम सोचाइलाई परिवर्तन गर्न हामी सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्नो जिम्मेवारी बोध गर्नु पर्छ । राष्ट्रको लागि योगदान गर्न प्राप्त जिम्मेवारी पूरा गर्न सकिँदैन भने शिक्षण पेशालाई जागिर खाने थलो बनाउनु हुँदैन । बरु, अन्य पेशाबाट जीवन यापन गर्ने सोंच बनाउँदा हुन्छ । यदि आफ्नो पेशालाई मर्यादित गराउने अनि राष्ट्रले सुम्पिएको जिम्मेवारी पूरा गर्ने हो भने हामी शिक्षक गम्भिर भएर सोचौं, हामीलाई हेर्ने सामाजिक आम दृष्टिकोण बदल्न हामीले भनेर वा लेखेर होइन, गरेर देखाउने बेला आएको छ ।

प्रस्तुति :रोशन क्षेत्री गाउँले

 

साभार :आजको शिक्षा साप्ताहिक

 

Comments: