२०७७ जेष्ठ २२ गते

विद्यार्थी शून्य, शिक्षक काजमा

अन्तैबाट

मनाङ  । गाउँपालिकाको केन्द्र, विमानस्थल, सडक, बिजुली र खानेपानीको सुविधा । विद्यालय भने खाली । हुम्डे विमानस्थलको माथिल्लो छेउ चक्रीय अन्नपूर्ण पदमार्ग नजिकै छ, हुम्डे आधारभूत विद्यालय । मनाङ ङिस्याङ गाउँपालिका–४ मा रहेको विद्यालय भवनका ८ कोठामध्ये २ वटा खुला छन् । स्कुल सुनसान छ । छेउको एउटा कोठामा ५ वर्षमुनिका २ बालबालिकालाई पढाएर २ शिक्षक बसेका छन् । एक जनाको काखमा बच्चा छ ।

लक्ष्मी गुरुङ बाल विकास केन्द्र (ईसीडी) कक्षा शिक्षक हुन् । उनी आफ्ना छोरालाई सँगै लिएर विद्यालय आउँछिन् । ठूलीआमाकी छोरीकी छोरी क्याल्साङ पनि सँगै छिन् । विद्यालयकै शिक्षक विष्णु थापाले भाइकी छोरी साइनालाई ल्याएकी छन् । लक्ष्मीले बच्चा स्याहारिरहेका बेला दुवै जनालाई विष्णुले पढाउँछिन् । कक्षा १ देखि ७ सम्म पढाइ हुने विद्यालयमा बाल विकासका बाहेक विद्यार्थी नरहेको शिक्षक थापाले बताइन् । उनी यसै वर्ष स्थायी भएकी छन् । ‘दुवै जना हामी यी दुई जनालाई हेरेर बस्छौं । एकछिन पढाएर, खेलाएर घर लैजान्छौं,’ उनले भनिन्, ‘यतिका लागि त घरमै बसेर पढाए पनि हुन्छ । स्कुल खोल्नुपर्‍यो भनेर मात्रै आएका हौं ।’

स्कुलमा विद्यार्थी शून्य भएको ४ वर्ष भयो । विद्यालयमा निमाविका ३ र प्राविका ५ गरी ८ जनाको दरबन्दी छ । तर दरबन्दीका सबै शिक्षक काजमा छन् । विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पौडेल गत साउनदेखि नजिकै मनाङ ङिस्याङ गाउँपालिकाको शिक्षा शाखाका काजमा बसेका छन् । ‘शिक्षा शाखामा कोही भएन । विद्यालयमा विद्यार्थी पनि भएनन् । यतै आउन आग्रह गरेपछि पालिका गएँ,’ उनले भने ।

०७१ सालमा केही विद्यार्थी थिए । ती पनि कक्षा ७ पास भएर अन्नपूर्ण मावि मनाङ गाउँ गए । ‘बस्तीभरि यहाँ आउने खालका विद्यार्थी छैनन् । स्थानीयले आफ्ना छोराछोरी सहरका बोर्डिङ स्कुलमा राखेका छन् । केहीले पारिपट्टिको तिब्बती भाषा पढाउने विद्यालय लगेका छन् । कोही लामा पढ्न गएका छन् । हाम्रोमा आउँदै नआउने, ल्याउँदै नल्याउने भए,’ प्रधानाध्यापक पौडेलले भने । त्यति बेला बाल विकास केन्द्रमा ६ बालबालिका थिए । उनीहरूलाई पनि अभिभावकले अन्यत्रै लगेको उनको भनाइ छ ।

०३८ सालमा स्थापना भएको विद्यालयमा ०५९ सालमा ४० विद्यार्थी थिए । त्यसपछि घट्दै गयो, कहिल्यै बढेन । झन् अहिले विद्यार्थी नै छैनन्,’ पौडेलले भने । उनका अनुसार अभिभावकले छोराछोरी सहरमा पढाएका छन् । सहर पढाउन नसक्नेले नजिकैको तिब्बती भाषा विद्यालयमा पढाएका छन् । त्यहाँ खान, लाउन र बस्न नि:शुल्क मिल्छ । ‘यहाँका विद्यालयमा कहिले पढाइ हुन्छ, कहिले हुँदैन । विद्यार्थीको भविष्य बिग्रन्छ,’ एक अभिभावकले भने । उनका अनुसार कक्षा ७ पास गरेपछि २/३ घण्टा हिँडेर मनाङ गाउँ पुग्नुपर्छ । ‘त्यहाँ पनि पढाइ यस्तै हो । जाडो हुन्छ । हिउँ पर्छ । कहिले पढाइ हुने, कहिले नहुने हुन्छ । त्यसैले दु:खसुख गरी सबैले सहर रोजेका छन्,’ उनले भने ।

हुम्डेमा २५/३० घर रहेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । सबैजसोले होटल व्यवसाय गरेका छन् । ‘हिमाली भेगमा अपेक्षाकृत रूपमा काम गर्न नसकिने रहेछ । प्रयास गरेका हौं तर भएन,’ घलेले भने, ‘हामीले सहरको जस्तो शिक्षा यहाँ लागू गर्न सकेनौं । अभिभावकलाई आफ्ना छोराछोरी फर्काऊ भनेर कसरी भन्ने ? निकै गाह्रो परेको छ ।’

माथिल्लो मनाङको अन्नपूर्ण माविलाई आवासीय विद्यालयका रूपमा विकास गर्न खोजिएको उनले बताए । ‘माथिल्लो क्षेत्रमा केही विद्यार्थी छन् । सबै स्थानीय होइन, बाहिरबाट अभिभावकसँग आएका छन्,’ उनले भने, ‘स्कुल चलाउनै पर्‍यो । अब हुम्डेमा सञ्चालन गर्न गाह्रो भयो । आवासीय भए केही विद्यार्थी फर्किन्छन् कि भन्ने आस छ ।’

आश गुरुङले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: