२०७७ जेष्ठ १९ गते

नगरपालिकाले बाँढ्यो २०० विद्यार्थीलाई साइकल

अन्तैबाट

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाले १२ कक्षामा अध्ययनरत २०० विद्यार्थीलाई साइकल वितरण गरेको छ। नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले साइकल वितरण गरेको हो।

विद्यालय टाढा हुँदा पैदल हिँडेर आउजाउ गर्न समस्या भएपछि नगरपालिकाले विद्यार्थीलाई साइकल वितरण गरेको छ। गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको नगरप्रमुख गंगा पासमानले बताए।

‘घण्टौं पैदल हिडेर विद्यालय आउनुपर्ने वाध्यता विद्यार्थीहरुलाई थियो,’नगरप्रमुख पासमानले भने,‘साइकल दिएपछि पढाईमा मद्दत पुग्छ। विद्यार्थीहरु विद्यालय समयमै आउँछन्।’

साइकल वितरणका लागि आर्थिक वर्ष ०७५/०७६ योजनाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। ‘हिडेर विद्यालय आउँदा कहिलेकाहीँ पढाई छुट्थ्यो,’वडा-७ दक्षिणबारी टोलकी मनिषा कुमारी साहले भनिन्,‘अब साइकल हुँदा समयमै विद्यालय पुग्छौं।’

अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: