२०७६ मंसिर २३ गते

विद्यालय पुनर्निर्माण

 

गोरखा । बेलायतका राजकुमार ह्यारीले श्रमदान गरेको लापुस्थित प्रभातकिरण माविको पुनर्निर्माण सकिएको छ । भूकम्पले क्षति पुगेको उक्त विद्यालयको गत वर्ष नेपाल भ्रमणमा आएका बेला ह्यारीले पुनर्निर्माणको शिलान्यास गरेर आफैंले श्रमदान गरेका थिए ।

लापुस्थित एक होटलमा बास बसेर उनले विद्यालयका लागि ढुंगा फुटाउने र काठ बोक्ने काम गरेका थिए । बेलायती संस्था टिम रुविकनको ३५ लाख लागत र १० लाख बराबरको श्रमदानमा विद्यालयको पुनर्निर्माण सकिएको प्रधानाध्यापक जीवबहादुर गुरुङले बताए । ह्यारीसँगै आएका बेलायती सेनाका प्रतिनिधि र रुविकनका स्वयंसेवकले पनि श्रमदान गरेका थिए । ‘भत्केको स्कुलको भवन बल्ल बनाइसकियो, गाउँले खुसी भएका छन्,’ उनले भने ।

१२ कोठे विद्यालय भवन बनाउन गत वर्षको चैत ११ गते राजकुमार विद्यालय रहेको स्थान लापुबेंसी पुगेका थिए । मनासलु पदमार्गमा पर्ने लापुबेंसीको एक होटलमा बसेर उनले चैत १६ गतेसम्म विद्यालयको भवन निर्माणका लागि अरू कामदार सरह श्रम गरेका थिए ।

६ दिनसम्म काम गरेर भवनको डीपीसी तयार भएपछि ह्यारी बेलायत फर्केका थिए । विद्यालय बनेको खबर बेलायतमा रहेका राजकुमार ह्यारीलाई टिम रुविकनका स्वयम्सेवकहरूले पुर्‍याइसकेका छन् । ह्यारीले आफू खुसी भएको सन्देश पठाएको प्रअ गुरुङले बताए । पुनर्निर्माण सकिएपछि विद्यालयको उद्घाटनसमेत गरिएको छ । जिल्लामा भूकम्पले क्षति पुगेका ५१ विद्यालयको पुनर्निर्माण सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कान्तिपुरमा खबर छ ।

Comments: