२०७६ कार्त्तिक २८ गते

रक्स्याहा शिक्षकका श्रीमतीहरुले मलाई धन्यावाद दिए


ज्ञानमणि नेपाल
जिल्ला शिक्षा अधिकारी, खोटाङ


जिल्लाको समग्र शैक्षिक अवस्था कस्तो छ ?
समग्रमा त्यति राम्रो छैन । गएको एसएलसी परीक्षाको नतिजामा ७५ औं स्थानमा परेको जिल्ला हो । म जाँदा सदरमुकामकै विद्यालय साढे तीन बजे बन्द गरेर शिक्षकहरु घर लाग्ने अवस्था थियो । १० देखि ४ बजेसम्म विद्यालय नै नबस्ने शिक्षकहरु । सरुवा भएर त्यहाँ गएपछि पहिलो काम नै मैले शिक्षकहरुलाई चिठ्ठी लेखेँ । ‘भोलिबाट १० देखि ४ बजेसम्म विद्यालय नबस्नेलाई कार्बाही हुन्छ’ भनेँ । ९० प्रतिशत राम्रा शिक्षक भएपनि १० प्रतिशत नराम्राले बिगारिदिने रहेछन् । कुनै ठाउँमा नराम्रा १÷२ प्रतिशत शिक्षकहरुले समेत बिगारेका छन् । राम्रा गर्नेलाई हौसला र प्रशंसा भएन । जिशिकाहरुले पनि चाकडी गर्ने शिक्षकलाई मात्रै पुरस्कार दिने व्यवस्थाले चाकडीबाज मौलाएको थियो । तर, शिक्षकहरु सकारात्मक छन् ।


मादक पदार्थ सेवन गर्ने शिक्षकलाई कार्बाही अभियान नै चलाउनुभयो नि ?
रक्सी खाएर विद्यालय जाने रहेछन् शिक्षकहरु । म गएपछि उनीहरुलाई पक्रिएर मेडिकल रिपोर्ट बनाएर अवकाश गरिदिउ कि राजीनामा लेख्नुहुन्छ भनेर उनीहरुलाई राजीनामा लेख्न लगाएँ । किनभने ऐनमा मादक पदार्थ सेवन गरी विद्यालय गए अवकाश हुने भन्ने छ । अब फेरि रक्सी खाए राजीनामा स्वीकृत गरिदिन्छु भनेपछि च्याट्टै रक्सी खान छाडेका छन् शिक्षकहरुले । धेरै शिक्षकका श्रीमतीहरुले समेत यसका लागि मलाई धन्यवाद दिएका छन् । यो अभियान चलाएपछि अभिभावकहरुले गाउँ–गाउँबाट रक्सी खाने, विद्यालय नियमित नजाने शिक्षकहरुको नामहरु मलाई एसएमएस गर्न थाल्नुभयो । अहिले रक्सी खाएर विद्यालय आउनेको संख्या शून्यमा पुगेको छ ।


जिल्ला शिक्षा अधिकारीहरु अधिकार कम भएर शिक्षा सुधार गर्न सकिएन भन्छन् ? के जिशिअको अधिकार कम भएकै हो ?
पहिलो कुरा कसैलाई सुधार्नु छ भने आफू सुध्रनु पर्छ । रक्सी नखाने जिशिअ भए खाने शिक्षकहरुलाई कार्बाही गर्न सक्ने कुरा हुन्छ । मिडियासँग सबै डराउने रहेछन् । मैले रक्सी खाएका शिक्षकसँग स्पष्टिकरण मागेको खबर मिडियामा आएपछि शिक्षकहरु डराए । मिडियामा नाम आएपछि सार्वजनिक बेइज्जत भयो भनेर डराए । यो मैले सुधारेको होइन, पत्रकार र राजनीतिक दलहरुले नै सुधारेका हुन् । पत्रकारले बाहिर लगिदिए, दलहरुले सुधार गर्नु पर्छ भनेर निर्णय गरिदिए । जँड्याह शिक्षकहरुले आड खोज्न जाने ठाउँ नै रहेन । एकजना स्रोतव्यक्ति ०६७ सालदेखि विद्यालयमा नजानुभएको रै’छ । त्यो कुरा मिडियामा आएपछि प्रतिष्ठाको विषय भएपछि उहाँ सुध्रनुभयो ।


तपाईँ धेरै मिडियाबाजी गर्नुहुन्छ भन्ने आरोप छ नि !
होइन, पत्रकार आएर सूचनाको हक भन्दै सोधपछि मैले सूचना नदिन मिल्छ र ! मैले लेख्न लगाएर कुनै मिडियाले लेख्छ र ? मेरो खबर अमेरिका, चीन र अष्ट्रेलियाका प्रतिष्ठित पत्रिकाले लेखेका छन् । मैले भनेर लेखाउन सकौंला र ती पत्रिकामा ! जहाँ पत्रकारले समाचार लेखेका छन्, राजनीतिक दलका नेताहरुले सहयोग गरेका छन्, त्यहाँ सुधार आएको छ । लमजुङमा दलको असहयोगकै कारण अपेक्षित सुधार गर्न सकिएन । त्यहाँ रक्सी खाने ५ जना शिक्षकलाई कार्बाही गरेँ । ती शिक्षक तीन ठूला दलका परेछन् । उनीहरुले दलका नेतालाई भने । उनीहरुले मन्त्रीलाई भने । तीनै दलले विरोध गरेपछि यो जिशिअ राख्नु नहुने रहेछ भन्ने परेछ । अनि मलाई सरुवा गरियो । म मन्त्री भएको भएपनि सायद त्यसै गर्थे हुँला । लमजुङमा ८ वटा दरबन्दी भएका माविमा ११ वटा र ३ वटा दरबन्दी भएको ठाउँमा म गएपछि ७ वटा पु¥याएँ । आइटीलाई शिक्षासँग जोड्न भनेर योजना बनाइसकिएको थियो । दाताहरु सहयोगका लागि तयार थिए । विदेशबाट विज्ञ मगाएर शिक्षकलाई कक्षाकोठामै अंग्रेजी, विज्ञान, गणित र सामाजिक शिक्षाको शिक्षण तालिम दिने योजना बनाएको थिएँ । शुरु नगर्दै मेरा एकै वर्षमा सरुवा भयो ।


शिक्षामा वास्तविक समस्या के हो ?
शिक्षकलाई दोष मात्रै दिइयो । कसरी पढाउने, कसरी अघि बढ्ने भन्ने सिकाइएन । मेरोे भनाइ भनेको ७५ जिल्लामा जहाँ पठाएपनि कम्तिमा २ वर्ष काम गर्न दिइयोस् भन्ने नै हो । मैले त लमजुङमा भनेको थिए मसँग ५ वर्षको कार्यसम्पादन सम्झौता गरियोस् । प्रत्येक वर्ष के गर्छु म लेखेर बुझाउछु । मैले पाँच वर्षमा जिल्लाका सबै विद्यालयहरुलाई रातोबंगला, सेन्ट जेभियर्स, बुढानिलकण्ठ या ग्यालेक्सी जस्तो बनाएर देखाइदिन्छु । बजेट पहिले जति नै दिए हुन्छ, नगरे कार्बाही गर्नुस् भनेको थिएँ । किनभने जिल्लामा शिक्षक दरबन्दी बढी छ । भवन छदैँछन् । मात्रै कक्षाकोठाको क्रियाकलापलाई प्रविधि र लाइब्रेरीसँग र बाहिरको क्रियाकलापलाई प्रकृतिसँग जोडेर पढाइदिए भइहाल्यो नि । रिसर्चको लागि प्रकृतिमै जानु पर्छ । अर्काे कुरा, नाम र काम सिके भाषा जानिन्छ । जति सरल बनाइयो त्यति चाँडो सिक्छन् । म त भन्छु, बालबालिकालाई नेपालमा अंग्रेजी मात्रै होइन, हिन्दी र चाइनिज पनि सिकाउनु पर्छ । पर्यटनको लागि । सिकाइ सीपयुक्त हुन र बनाउन आवश्यक छ ।


जिल्लाको शैक्षिक सुधारको लागि के गर्नुपर्ला ?
हाम्रा शिक्षकहरु आफू पनि पाठ्यपुस्तकबाट गए । र, त्यसैको आधारमा मात्रै सिकाए । पाठ्यपुस्तकले मात्रै पुग्दैन । फेरि शिक्षकहरुले कार्यक्रम र नीति÷नियम लागू गर्ने समस्या छ । त्यसमा सुधार गर्न आवश्यक छ । शिक्षकलाई दलीय राजनीतिबाट अलग्याउन आवश्यक छ । म त्यहीँ काममा लागेको छु । ‘कि शिक्षक भएर बस्नुस् कि नेता हुने हो भने राजीनामा दिनुहोस्’ भनेको छु । यसमा राजनीतिक दलको सहयोग छ । दलका नेताहरु मेरो कुरामा सकारात्मक हुनुहुन्छ ।


समस्या समाधानका लागि के गर्दै हुनुहुन्छ ?
पाठ्यक्रमको आधारमा सिकाउनु पर्छ भनेर पाठ्यक्रममा आधारित सिकाइ थालेका छौं । ३० वटा विद्यालयमा निर्णय गरिसकिएको छ । त्यसका लागि लाइब्रेरीको व्यवस्थापन गरिसकिएको छ । राजनीतिक दलहरुले निर्णय गरिदिएका छन् । पहिले हामी शिक्षकलाई यसरी जाने भनेर तालिम दिन्छौं । त्यसरी अघि नबढ्ने शिक्षकलाई कार्बाही गर्न वा सरुवा गर्न दलहरुबाट सहमति मागेका छौं । त्यो नमाने १२ कक्षामा मेजर अंग्रेजी पढ्ने विद्यार्थीहरुलाई ओरिएन्टेसन दिएर पढाउन लगाउँछु र हाम्रा शिक्षकहरुलाई चाहिँ ‘बस्नुस्, तलब खानुस्’ भन्छु ।


अबको दुई वर्ष पछि खोटाङमा के–के शैक्षिक परिवर्तन देख्न पाइएला ?
काम गर्दै जाने हो । यति नै हुन्छ भनेर नभनौं । तर, शिक्षामा चाहने हो भने यस्तो परिवर्तन पनि हुने रै’छ भन्ने महशूस पक्कै गराउँछौं । देखिने र महशूस हुनेखालको सुधार हुन्छ । अब शिक्षकहरुको मूल्याड्ढन बालबालिकाको सिकाइ उपलब्धिको आधारमा हुन्छ । विद्यार्थीले जाने शिक्षकले पढाउन जानेका रहेछन्, होइन भने शिक्षक अयोग्य छन् भनेर बुझ्नुपर्ने हुन्छ ।


माथिल्ला निकायबाट आउने निर्देशन लागू गर्न कत्तिको समस्या छ ? शिक्षाका नीति र कार्यक्रम कत्तिका व्यवहारिक छन् ?
माथिल्ला निकायका नीति तथा कार्यक्रम लागू गर्न खासै समस्या छैन । हामीले सहज तरिकाबाट नै ती कार्यान्वयनमा लगेको अवस्था छ । नीति तथा योजनाहरु प्रायः जिल्लामा नै बन्छन् । केन्द्रले बजेट सिलिङ मात्रै पठाउने हो । तर, गैरसरकारी संस्थाहरुको लगानी जिल्लापिच्छे फरक छ । एउटै द्वारबाट गर्नसके राम्रो हुन्थ्यो । वास्तवमा, शिक्षा सुधारमा मैले एक्लै गर्ने भन्दापनि योजना बनाएर स्रोतव्यक्ति र विद्यालय निरीक्षकहरु परिचालन गर्ने गर्दछु । सिस्टमले काम गर्छ । म त अनुगमन मात्रै गर्छु ।


प्रस्तुतिः रोशन क्षेत्री ‘गाउँले’

 साभार : आजको शिक्षा साप्ताहिक

 

Comments: