२०७६ कार्त्तिक २८ गते

प्रधानाध्यापक मालिक नभई सेवक बन्यो भने विद्यालय सुध्रन्छ

हेरम्बराज कँडेल

 


हेरम्बराज कँडेल
प्रधानाध्यापक
विश्वनिकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं


जहाँनिया राणाकालमै वि.सं. २००३ सालमा स्थापना भएको विश्वनिकेतन माविले निरन्तर आफ्नै ऐतिहासिक र शैक्षिक गुणस्तरको छबिलाई कायम राखिरहेको छ । एसएलसी/एसइइ नतिजामा निरन्तर उत्कृष्ट भइरहनु एउटा प्रमाण हो । कक्षा ११ र १२ सञ्चालित विद्यालयमध्ये यो स्कूललाई गत वर्ष सरकारद्वारा मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय घोषित गर्दै राष्ट्रिय शिक्षा पुरस्कारले सुशोभित गरिएको थियो । प्रस्तुत छ, यस वर्षको एसइइ नतिजा र विद्यालयको समग्र शैक्षिक सुधारमा केन्द्रित रहँदै  प्रधानाध्यापक हेरम्बराज कँडेलसँग गरिएको    कुराकानी ।

विश्वनिकेतन माविका बारेमा बताइदिनुस् न ?
यो विद्यालय जहाँनिया राणा शासनकाल छँदै  स्थापना भएको हो । ७२ वर्ष पहिले स्थापना भएको यस विद्यालयले वि.सं. २००९ सालमा ११ जना पहिलो प्रवेशिका परीक्षामा सहभागी गराएको थियो । जसमध्ये ६ जना उत्तीर्ण भएका थिए । त्रिविका पूर्व रेक्टर र नेपालका प्रसिद्ध जियोग्राफर सूर्यलाल अमात्यलगायत त्यतिबेला परीक्षार्थी हुनुहुन्थ्यो । त्यसैगरी, स्वरकिन्नरी तारादेवी, वरिष्ठ गायक प्रेमध्वज प्रधान, त्रिविका उपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमा पनि २०१५ सालमा यसै विद्यालयबाट एसएलसी उत्तीर्ण हुनुभएको हो । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, पूर्व अर्थमन्त्री रामशरण महत, पूर्व उर्जा तथा परराष्ट्रमन्त्री प्रकाशशरण महत २०२२ सालमा यहाँबाट एसएलसी उत्तीर्ण हुनुभएको हो । यसरी यस विद्यालयले विभिन्न आरोह–अबरोह पार गर्दै ऐतिहासिक रुपमा शिक्षा दिँदै आइरहेको छ । पहिले १७ सयसम्म विद्यार्थी पुगेका भएपनि २०५० सालपछि भने विद्यालयमा विद्यार्थी घट्न थाले । समय र समाजको माग अनि रुचि अंग्रेजी शिक्षाप्रति बढेको देखिएपछि विद्यालयले २०५६ सालमा शुरुमा १, २ र ३ कक्षामा अंग्रेजी माध्यम शुरु ग¥यौं । २०६८ पछि कक्षा १० सम्मै अंग्रेजी माध्यममा गयौं ।


विद्यालयले सिकाइ सुधारका लागि कस्तो प्रयासहरु गरेको छ ?
अहिले विद्यालयले प्रयोगात्मक विधि, प्रदर्शन विधि, शिक्षक सिकाइका विभिन्न नवीनतम् विधिहरु प्रयोग गरी अध्यापन गर्न थालेको छ । जसले विद्यालयमा विद्यार्थीको चाप थामिनसक्नु छ । यस विद्यालयमा हाल २,६०० विद्यार्थी छन् । ११३ जना शिक्षक–कर्मचारी हुनुहुन्छ । जसमा ४५ जना सरकारी अनुदान र बाँकी विद्यालयकै आन्तरिक स्रोतमा रहनुभएको छ । अहिले शिक्षक–कर्मचारीले छोराछोरी यही विद्यालयमा पढाउने लहर आएको छ । विद्यालयका २३ जना शिक्षक–कर्मचारीका छोराछोरी यही पढ्न थालेका छन् । यसले पनि अभिभावकलाई विद्यालयप्रतिको विश्वास बढाएको छ । प्राथमिक तहमा पढाउने शिक्षकहरु पनि प्रायः स्नातकोत्तर हुनुहुन्छ । शतप्रतिशत शिक्षकहरु तालिमप्राप्त योग्य र अनुभवी हुनुहुन्छ । शिक्षक–कर्मचारीहरुमा विद्यालयको सुधारका लागि ‘टिमवर्क’ र ‘टिम स्पिरिट’को भावना छ । सबै शिक्षकहरुको एउटै चासो र चिन्ता भनेकै कसरी सिकाइ स्तर बढाउने भन्नेमै छ । यसले गर्दा निरन्तर उत्कृष्ट नतिजा ल्याउन विद्यालयलाई सफलता मिलेको छ ।


सिकाइ सुधारका लागि अन्यभन्दा यस विद्यालयका फरक अभ्यासहरु के–के हुन् ?
पहिलो कुरा, हामी  शिक्षक–कर्मचारीले छोराछोरी यहीँ अध्ययन गराएका छौं । दोस्रो, हामीकहाँ सार्वजनिक विदा कम छ । प्रायः सार्वजनिक विदामा समेत हाम्रो विद्यालय सञ्चालन नै रहन्छ । तेस्रो, हामी धेरै परीक्षा लिन्छौं । विद्यार्थीले वर्षमा ६ परीक्षा दिनु पर्छ । हरेक परीक्षाको नतिजा अभिभावककै हातमा दिन्छौं । बालबालिकाको कमी–कमजोरी र अवस्थाका बारेमा अभिभावकहरुलाई नियमित पृष्ठपोषण दिने काम गर्छौं । चौथो, कुनै शिक्षकहरु विरामी वा अन्य जरुरी कामले विदामा बस्नुभए विषयगत विभाग र तहगत विभागले कक्षा सुचारु गर्न व्यवस्था छ । यदि शिक्षक पुगेन भने हामीले हरेक कक्षामा एउटा विषयगत अगुवा वा मनिटरको व्यवस्था गरेका छौं । ७ देखि ८ मा जाँदा कुनै विद्यार्थीले अंग्रेजीमा उत्कृष्ट नतिजा ल्याएको छ भने उसले पछि ८ कक्षामा विषयगत अगुवा बन्छ र खाली कक्षामा शैक्षिक गतिविधि सञ्चालन गर्ने गर्छ । त्यसैले, हामीकहाँ कहिल्यै कक्षा खाली हुन पाउँदैन । हामी शिक्षालाई जीवनपयोगी  र  व्यवहारिक बनाउन प्रयासरत छौं । हामीकहाँ अत्याधुनिक विज्ञान, होटल मेनेजमेन्ट, कम्प्यूटर प्रयोगशाला छन् । हामी त्यसमा उनीहरुलाई प्रयोगात्मक विधि, क्षेत्र भ्रमण विधि प्रयोग गराउँछौं । अनिवार्य रुपमा परियोजनाा कार्य गराउँछौं । जसले गर्दा हामीले निरन्तर उच्चतम् नतिजा हासिल गर्दै आएका छौं ।


विद्यालयको सिकाइ उपलब्धिको अवस्था कस्तो छ ?
सिकाइ उपलब्धिको अवस्था अति नै राम्रो छ । २०७२ सालको एसएलसीमा २ जना विद्यार्थीहरु आशिष सापकोटा र सक्षम वाग्लेले ४ मा ३.९ जिपिए ल्याएर देशभरिकै सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट बनेका थिए । २०७३ सालको एसइइमा पनि यस विद्यालयकी रोजिना अधिकारी सामुदायिक विद्यालयतर्फ सर्वोकृष्ट भइन् भने यहाँबाट एसइइमा सहभागी १८४ विद्यार्थीमध्ये १७ जनाको ए प्लस, २६ जनाको ए, अन्य सबैको सी वा त्योभन्दा माथिको जिपिए थियो । भर्खरैको २०७४ को एसइइ नतिजामा पनि परीक्षामा सहभागी १४८ विद्यार्थीमध्ये २० जनाको जिपिए ३.६ माथि रहेको छ । ४७ जनाको जिपिए ३.२ देखि ३.६ छ भने ४५ जनाको जिपिए २.८ देखि ३.२ छ ।

यसरी हामीकहाँ सबै विद्यार्थी सिप्लस वा त्योभन्दा माथिका छन् । त्यति मात्रै होइन, कक्षा ११ र १२ मा गत वर्षको उत्कृष्ट नतिजाका कारण सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार नै पाउन सफल भयौं । विगत १० वर्षदेखि ११ र १२ को नतिजा उत्कृष्ट छ । विज्ञानमा शतप्रतिशत छ भने व्यवस्थापन र मानविकिमा पनि ८५ प्रतिशत माथिको नतिजा छ । महानगरले लिएको कक्षा ८ को परीक्षामा पनि उत्कृष्ट नतिजा हासिल भयो । हरेक कक्षाको सिकाइ उपलब्धि पनि उत्कृष्ट छ । निरन्तर विद्यालय मूल्याङ्कन पद्धति व्यवहारिक रुपमै लागू गरेका छौं कक्षा ६ सम्म । यस वर्षदेखि कक्षा ८ सम्मै लागू गर्दैछौं । उदार कक्षोन्नति लागू गरिएकाले माथिल्लो तहमा जाने कमजोर विद्यार्थीहरुका लागि बिहान र बेलुका ‘क्याप्सुल कक्षा’÷ ‘टोनिक कक्षा’ सञ्चालन गर्दै आएका छौं । शुरुमा बिहान–बेलुका विज्ञान र गणित विषयको थप कक्षा सञ्चालन गर्छौं । पछि कक्षा ८, १० र १२ को अन्तिममा क्लोज क्याम्प कक्षा नै सञ्चालन गर्छौंं ।


सामुदायिक विद्यालयमा सरकारले भौतिक पूर्वाधार, जनशक्ति, शिक्षण तालिम, पाठ्यपुस्तकलगायतमा ठूलो लगानी गरेको छ । तर पनि सबै सामुदायिक विद्यालयको अवस्था अब्बल बन्न नसक्नुको कारण के होला ?
हाम्रो विद्यालयमा ‘विद्यालय समय’ हामीले पूर्ण रुपमा विद्यालयकै लागि प्रभावकारी रुपमा दिनु पर्छ भन्ने मान्यता छ । डिजिटल हाजिरीको व्यवस्था छ । विद्यालयमा आएपछि शिक्षकहरु १०–५ बजेसम्म बस्नै पर्छ । शिक्षकहरुलाई विद्यालयमा राजनीतिक गतिविधि गर्न मनाही छ । उहाँहरु आफैं यसप्रति सजग र जिम्मेवार हुनुहुन्छ । शिक्षणमा समर्पण र लगाव छ । आफ्ना विद्यार्थीलाई मैले जसरी पनि राम्रो गराउनुपर्छ भनेर मिहिनेतका साथ लाग्नुभएको छ । अभिभावक र नागरिक समाजले पनि सचेत भएर विद्यालयको अनुगमन र चासो लिने गर्नुभएको छ । अन्य सामुदायिक विद्यालयमा सायद यस कुराको कमी छ । त्यसैले, सबै सामुदायिक विद्यालयहरुको समान रुपमा विकास हुन सकेको छैन । विद्यालय सुधारको प्रतिबद्धता हुन आवश्यक छ ।


सामुदायिक विद्यालयको सुधार गर्न के गर्नुपर्ला ?
पहिले त सामुदायिक विद्यालयका शिक्षक साथीहरुले आफूले आफैंलाई विश्वास गर्नु पर्छ । आफूले विश्वास गरे बल्ल अरुले गर्ने हो । आफ्ना छोराछोरी पहिले आफूले पढाइरहेकै विद्यालयमा भर्ना गराऔं । विद्यालयमा १०–५ बसेर अध्यापन गराऔं । खाली दिमाग कक्षाकोठामा प्रवेश नगरी पर्याप्त तयारी र शैक्षिक सामग्रीसहित योजनाबद्ध रुपमा कक्षाकोठामा प्रवेश गरौं । के पाठ पढाउने हो, पाठ योजना बनाऔं । तालिममा हासिल गरेका सीप र ज्ञान कक्षाकोठाभित्र उपयोग गरौं । नवीनतम् शिक्षण विधिहरु, प्रयोगात्मक, प्रदर्शन, सोधखोज विधिहरु प्रयोग गर्दै विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ गरौं । पुरातन ‘लेक्चर’ विधिको भर नपरौं । विज्ञान पढाउँदा विद्यार्थीकै भूगोल, घर वरिपरिका वातावरणमा आधारित भएर सिकाऔं । विद्यार्थीलाई नै सक्रिय र क्रियाशिल बनाएर सिकाउन शुरु गरौं । कक्षाकोठालाई रोचक र मनोरञ्जक बनाउने प्रयास गरौं । स्वभाविक रुपमा हामीले यसरी योजनाबद्ध रुपमा शिक्षण सिकाइलाई अगाडि बढाए शैक्षिक अभिवृद्धि हुन्छ । विव्यस र शिक्षक–अभिभावक संघले पनि सहयोगी भूमिका निर्वाह गर्नु पर्छ । अभिभावकहरुलाई विद्यालयकेन्द्रित बनाउन आवश्यक हुन्छ । मासिक, वार्षिक कार्ययोजनासहित अघि सक्रिय हुनु पर्छ । शिक्षकहरु पाठयोजनाका साथ कक्षाका जाने र नवीन शिक्षण विधि प्रयोग गरी शिक्षण सिकाइ गर्ने हो भने सिकाइ सुधार्न समस्या हुन्न ।


खासमा, समस्या स्रोतको हो कि, शिक्षण सिकाइमै ?
हामीले अभिवृद्धि गरेको ज्ञान र सीपलाई कक्षाकोठामा नलगिदिने एउटा प्रतिबद्धताको कमी शिक्षकहरुमा देखियो । शिक्षकहरु पाठ्यपुस्तक नपाए खुट्टा नभएर टेक्नै नसकेजस्तो, आँखा बन्द भएजस्तो, जहाजै डुबेको जस्तो सम्झन्छौं । हामीले पाठ्यक्रमको आधारमा अध्यापन गर्नुपर्ने हो । पाठ्यक्रमले निर्दिष्ट गरेका विषय र सीप जहाँबाट खोजेर पनि सिकाए हुन्छ । पुस्तकालय, इन्टरनेट, पत्रपत्रिकाहरुबाट खोजेर सिकाउनुपर्ने हुन्छ । परियोजना कार्य दिएर अनुसन्धान, खोज विधिबाट ‘इन्टरनेट वा पुस्तकालयबाट खोजेर लिएर आउ’ भनेर भन्नुप¥यो । कक्षाका छलफल गराएर सिकाउनुप¥यो । विद्यार्थीलाई नै अघि सार्नु पर्छ । तर, हामीकहाँ विद्यार्थीलाई धेरै सक्रिय गराउँदा उनीहरुले आफूले भन्दा बढी जानेर कमजोरी पत्ता लगाउछन कि भन्ने डर शिक्षकहरुमा देखिन्छ । शिक्षकहरु पाठ्यपुस्तकभन्दा माथि जान सकेका छैनन् । यिनै कुरामा सुधार आउन आवश्यक छ । केही कुरा स्रोतमा पनि निर्भर हुने भएपनि स्रोत मात्रै सबैथोक होइन । शिक्षामा राज्यको दायित्व बढाउने र कम्तिमा २० प्रतिशत बजेट पु¥याउनु आवश्यक छ । तर, विद्यालयहरुले भएकै स्रोत साधन पर्याप्त उपभोग गरेर पनि सुधार गर्न सकिन्छ । शिक्षकले नै मिहिनेत गर्नु पर्छ । इच्छाशक्ति र चाहना भए सुधार सम्भव छ । सामान्य सामग्री प्रयोग गरेर पनि सिकाउन सकिन्छ । भ्रमण विधि, खोज विधि अपनाउनु प¥यो ।


सरकारको शिक्षा नीति र कार्यक्रम कतिको उपयोगी देख्नुहुन्छ ?
हाम्रो देशमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्ति विद्यमान छ । शिक्षा क्षेत्रलाई एउटा प्रयोगशाला जस्तो बनाइएको छ । विभिन्न नीति तथा कार्यक्रम परीक्षण गर्ने स्थलको रुपमा शिक्षालाई लिइएको छ । जसले गर्दा बीच–बीचमा केही संकट र द्विविधा भोग्नुपरेको छ । पाठ्यक्रममा समेत धेरै सुधार गर्नुपर्ने देखिन्छ ।  स्नातकोत्तर उत्तीर्णले एउटा जागिरका लागि निवेदन लेख्न जान्दैन । बीएस्सी गरेकाले बनस्पति, किरो फट्यांग्रा चिन्दैन । कृषिप्रधान देश भन्छौं, अर्बौंको मासु विदेशबाट आउँछ । धान–मकै विदेशबाट ल्याउनुपरेको छ । सीपमुलक र व्यवसायिक दक्षता बढ्नेगरी पाठ्यक्रम निर्माण नगर्नाका परिणाम हुन् यी । पाठ्यक्रममा आमूल सुधार आवश्यक छ । अनुत्तीर्ण दर धेरै भयो भनेर अक्षराङ्कन पद्धति लागू गरियो । वास्तवमा, यो तयारीबिनै आयो । यो पद्धतिले गर्दा विद्यार्थीमा नपढेपनि उत्तीर्ण भइन्छ भन्ने धारणा विकसित भएको छ । परिणामतः कम मिहिनेत गर्ने प्रवृत्ति देखा परेको छ । पहिले डिस्टिङ्कसन आउनेलाई ११ मा रेड कार्पेट बिच्छ्याएर स्वागत गरिन्थ्यो । अहिले ए प्लस ल्याएपनि गणितमा सि ग्रेड आए विज्ञान पढ्न पाउँदैन । गणितमा डि प्लस नभए व्यवस्थापन पढ्न पाउदैन । यसले झनै अन्योल भएको छ । फेरि जीवन उपयोगी शिक्षाको कुरा आएको छ । तर, त्यो भनेको के हो ? अन्योल छ । विज्ञले इन्टरनेट÷कम्प्यूटर पढाए हुन्छ भन्ने गरेका छन् । कसैले गणितीय सीप सिकाउने त कसैले विज्ञान राखेपनि हुन्छ भन्छन् । यसबारे पहिल्यै पर्याप्त तयारी हुन जरुरी छ । खेलवाड गर्नु हुँदैन ।


एउटा विद्यालय राम्रो हुनका लागि प्रधानाध्यापकको भूमिका कस्तो हुनु पर्छ ?
मुख्यतः प्रधानाध्यापक मिहिनेती, दक्ष र नेतृत्वदायी क्षमताको हुनु पर्छ । कुशल प्रशासक र दूरदर्शी प्रअले नै विद्यालय सुधार गर्न सक्छ । अहिले राम्रा भनिएका सामुदायिक विद्यालयहरु हेर्दा त्यहाँका प्रधानाध्यापकहरुकै लगनशीलता, मिहिनेत र कुशल नेतृत्वले राम्रो भएको देखिन्छ । प्रअमा बहुमुखी प्रतिभा र भूमिका हुन जरुरी छ । प्रधानाध्यापक आफैं नै पहिले रोलमोडल हुनु पर्छ । मिलनसार, सामुहिक भावना, सहकार्यको भावना हुन आवश्यक छ । कुशल र नेतृत्वदायी प्रअले चाहे विद्यालय सुध्रिन्छ ।


राम्रो गर्न चाहने विद्यालयहरुले विश्वनिकेतनबाट के सिक्ने ?
विश्वनिकेतनमा प्रअ मालिक अथवा ‘बोस’ नभई एउटा सेवकको भूमिकामा छ । प्रअले पर्याप्त समय विद्यालयमा दिनु पर्छ भन्ने कुरा सिक्न सकिन्छ । आफ्ना सनातन सामुदायिक विद्यालयमा पढाऔं । शिक्षकहरुले आफूलाई जागिरको रुपमा नभई जिम्मेवारी र पेशाको रुपमा लिइदिनुहोला । पटक–पटक स्टाफ मिटिङ गरेर योजना बनाएर अघि बढ्नुहोला । शिक्षण सिकाइ सुधारलाई केन्द्रमा राखेर योजना र तयारी गर्नुहोला । विद्यार्थीले केही जानेका छैनन् भनेर नबुझ्नुहोला । विद्यार्थीलाई खोज र अनुसन्धानमा लगाई उनीहरुबाट पनि सिक्ने प्रयास गर्नुहोला । शिक्षकहरुले सहजकर्ताको भूमिका निर्वाह गरिदिनुहोला । तयारी, शैक्षिक सामग्री र पाठयोजनाबिना कक्षाकोठामा नगइदिनुहोला ।

प्रस्तुतिः रोशन क्षेत्री गाउँले

साभार : आजको शिक्षा साप्ताहिक

Comments: