२०७६ असोज २८ गते

२२ वर्षदेखि रुखमुनि पठनपाठन

इटहरी । माघ महिनाको बिहानीपख कमाउने जाडो छ । इटहरीस्थित टेंग्रा खोला छेउको बाटोमा एउटा रुखमुनीको खुला आकाशमा केही बालबालिका भुईमा गुन्द्री र म्याटमाथि बसेर पढिरहेका छन् । छेउमा मुढामाथि बसेका छन्, चन्द्र भण्डारी । यो चन्द्र भण्डारी र इटहरीका विभिन्न स्कुलमा अध्ययनरत् बालबालिकाको दिनचर्या हो ।

जो दैनिक दुई घण्टाको लागि त्यही बाटोमा, रुख मुनी भेला हुन्छन्, ट्युसन पढ्छन्, फर्किन्छन् । जाडो होस् वा गर्मी यो क्रम चलिरहेको छ । ‘पानी पर्‍यो भने चाहिँ या त ओतमा जानुपर्छ, या त त्यो दिनलाई पढाइ ठप्प पार्नुपर्छ,' भण्डारी भन्छन् ।

महेन्द्र राजमार्गअन्तर्गतको टेंग्रा खोला पुल नजिकैको त्यो रुखमुनी केटाकेटी पढ्न थालेको २२ वर्ष भइसकेको छ । भण्डारीले त्यो ठाउँको नाम दिएका छन्, पिपलबोट स्कुल । एक पटकमा ४० जनासम्म विद्यार्थीले पढे त्यहाँ । समयसँगै विद्यार्थीहरु धेरै फेरिए, सबैलाई त शिक्षक आफै चिन्दैनन् । तर शिक्षक फेरिएनन् । न त कहिल्यै थाके । ‘टाइफाइड हुँदा पनि वहाँ पढाउन जानुहुन्थ्यो,' भण्डारीकी श्रीमतीले छेउमा बसेर यसो भनेपछि भण्डारीले थपे, ‘समयमा म त्यहाँ पुगिनँ भने केटाकेटीहरु मेरो घरमै आइपुग्छन् ।'

एसएलसी सकेर उच्च शिक्षाको लागि धनकुटा बहुमुखी क्याम्पसमा भर्ना भएका थिए भण्डारी । परिवारको आर्थिक अवस्थाको कारण पढाइ बिचैमा छाडेर उनी ४४ सालमा इटहरी झरे । उनले ग्यारेजमा सात वर्ष काम गरे । त्यत्रो वर्ष काम गर्दा पनि उनको कमाइ खासै भएको रहेनछ । ‘बिहे गर्ने बेलामा पैसा झारझुर पार्दा जम्मा २०/२५ हजार मात्र भयो,' उनले भने, ‘त्यसपछि ६ महिनाजति हाट बजारमा कपडा समेत बेचेँ ।' कपडा बेच्न छाडेर उनले बाँसको व्यापार सुरु गरे । त्यसपछि भने उनको जीवन व्यवस्थित हुन थाल्यो । तर उनको पढाइ भने एसएलसीमै टुंगियो ।

५१ सालमा उनले विवाह गरे । आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्न नपाएका उनले विवाहलगत्तै सडक छेउमा बच्चाहरुलाई राखेर ट्युसन पढाउन थाले । त्यो क्रम आजसम्म पनि निरन्तर छ । अहिले उनी दुई सन्तानका बाबु भइसकेका छन् । यति लामो समयअवधिमा उनको अध्यापन रोकिएको छैन । अहिले त पढ्न आउने बालबालिकाको नाम लेखिन्छ, हाजिरी हुन्छ । विद्यार्थी भर्नासमेत गरिन्छन्, तर पैसा लिइँदैन, बरु कहिलेकाहीँ कापी, कलमसमेत आफैले दिने गरेको भण्डारी बताउँछन् । ‘केही दिनअघि कस्तुरी कलेजले पाँच हजारसहित सम्मान गरेको थियो,' भण्डारी भन्छन्, ‘सबै पैसाको स्टेशनरी किनेर हामी परिवारै गएर बाँडिदियौं ।'

ट्युसनमा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई सबै विषय पढाउँछन् उनी । सामुदायिक स्कुलदेखि बोर्डिङका समेत विद्यार्थी हुन्छन् । आइतबार र सोमबार गणित, मंगलबार अंग्रेजी, बुधबार विज्ञान, विहीबार नेपाली र शुक्रबार सामाजिकलगायतका अरु विषय पढाइ हुन्छ । धेरै कक्षाका विद्यार्थीलाई सबै विषय पढाउँदा पनि उनलाई अफ्ठ्यारो लाग्दैन । तर अंग्रेजी विषय भने अलि गाह्रो लाग्छ उनलाई । अनि बोर्डिङका विद्यार्थी पढाउन पनि । ‘नेपाली स्कुलमा पढियो, फेरी धेरै पढ्न पनि सकिएन, त्यसैले अंग्रेजी अलि कमजोर छ,' उनले भने ।

पहिला त्यो ठाउँमा कटेरो थियो । ६० सालमा भत्काइयो । त्यसपछि बनाएको कटेरो ६३ सालमा फेरी भत्काइयो । कटेरो फेरी बनाउन खोज्दा बाटोमा बनाउनु हुँदैन भनेर नदिइएको गुनासो गर्छन् । आफूलाई कटेरो बनाउन नदिने स्थानिय निकाय, व्यक्तिको लाभको लागि खोला मिच्दा मौन भएको उनको आरोप छ । बाटो बढाउनका लागि खोला साँघुर्‍याइएको छ । ‘१० फुटसम्म खोला मिचेर बाटो बनाइएको छ,' उनी सोध्छन्, ‘मलाई बाटो छेउमा कटेरो बनाउन कानुनले दिएन, खोला थुन्न चाहिँ कुन कानुनले दियो ? '

पढाउने ठाउँ सार्न समेत कतिले सुझाएका रहेछन् । तर २२ वर्ष पढाको ठाउँ नै सेन्टर भएको बताउँदै अरु तिर सार्न नहुनेमा उनी जोड गर्छन् । पछिल्लो समयमा चाहिँ एउटा सटर खोजिदिने आश्वासन दिइएको छ । तर भन्छन्, ‘सटरको पनि भाडा तिर्नुपर्छ, फेरी इटहरीमा घरवालाको मनपरी हुन्छ, कहिले हटाउने हो, थाहा छैन ।'

बालबालिकालाई असल संस्कार दिन आफूले पढाइरहेको उनी बताउँछन् । ‘पल्लो घरको छोरो बिग्रियो भने मेरो घर पनि भोली फुटाउँछ,' उनी भन्छन्, ‘मेरो छोरो अमेरिका पठाउने अनि अरुको यहाँ बिग्रेको हेर्न सकिन्न नि ।' तर कहिलेसम्म सडकमा पढाउने भन्नेमा उनी आफै अनभिज्ञ छन् । भन्छन्, ‘जबसम्म सक्छु, तबसम्म ।'

उनले यसरी पढाउन थालेपछि विभिन्न व्यक्ति वा संस्थाले विभिन्न प्रतिक्रिया दिने गरेको बताउँछन् । ‘सरकारले पैसा दिएको छ, बाँड्छस् नि भन्ने मानिस केही छन्,ु उनले भने, ‘केही संस्था आउँछन् र मिलेर काम गरौं, प्रपोजल पारौं भन्छन्, मलाई मनै पर्दैन ।'

केही व्यापारीले भने घरमै आफ्ना छोराछोरी पढाउन बोलाएपनि आफू नगएको बताउँछन् । ‘छोराछोरीलाई पिपलबोट स्कुलमा पठाउनु भन्ने गरेको छु,' उनले भने ।

उनले विद्यार्थीहरुलाई सित्तैमा ट्युसन पढाएपनि उनीहरुमध्ये निजी विद्यालयका विद्यार्थीसमेत हुन्छन्, जसले महँगो शुल्क स्कुललाई बुझाएका हुन्छन् । निजी विद्यालयलाई महँगो शुल्क बुझाउन सक्ने परिवारका विद्यार्थीलाई चाहिँ किन सित्तैमा पढाउनु भएको भन्ने प्रश्नमा भण्डारी भन्छन्, ‘छोराछोरीको भविष्य राम्रो हुन्छ कि भनेर बदाम बेच्नेले पनि घुँडा टेकेर बोर्डिङ हालेका छन्, रहरले हालेका होइनन् ।'अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: