२०७७ जेष्ठ २२ गते

शिक्षक सधैं अनियमित

अन्तैबाट

मुगु । मंगलबार बिहान १० बजेसम्म विद्यालयका सबै ढोका बन्द थिए। विद्यार्थीहरू विद्यालयको खेलमैदानमा खेल्दै थिए। करिब ११ बजेपछि मात्रै बालविकास कक्षाकी सहजकर्ता मायादेवि भट्ट हतार–हतार विद्यालयभित्र प्रवेश गरिन्। र विद्यालयका सबै कक्षाकोठा खोलिन्।

यो दृश्य हो, सोरु गाउँपालिका—६ जिमा गाउँको श्रीन नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको। यस विद्यालयमा दसैं बिदामा बसेका शिक्षक अझंै विद्यालयमा उपस्थित भएका छैनन्। कोही पनि शिक्षक नहुँदा विद्यार्थी आधा दिनसम्म चउरमा खेल्ने र त्यसपछि घर फर्किने गरेका छन्।

मंगलबार दिउसो केहिबेरपछि विद्यालयका शिक्षक धनकर्ण मल्लसमेत विद्यालयमा पुगे। तर उनलाई पनि प्रधानध्यापक गणेश भट्ट र अर्का शिक्षक टंक भट्ट विद्यालयमा कहिले आउँछन् भन्ने जानकारी थिएन। अभिभावक भीमबहादुर खत्रीका अनुसार यस विद्यालयमा विद्यार्थीहरू नियमित स्कुल आए पनि शिक्षकहरू सँधैजसो अनियमित हुने गर्छन्।

कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयका विद्यार्थीहरू शिक्षककै कारण हरेक वर्ष आधा कोर्ष पढेरै परीक्षा दिन बाध्य छन्। सोरुमा मात्र होइन, कर्णालीका माथिल्लो क्षेत्रका अधिकांश विद्यालयका विद्यार्थीको नियती यही नै हो। यहाँका विद्यार्थीले पूरा कोर्ष कहिले पढ्न पाउँदैनन्। अझ सदरमुकाम आसपासका विद्यालयका मुख्य शिक्षक त बाँकीक कोर्ष ट्युशनमा पढौंला भन्दै दसैंविदापछि लामो समयसम्म विद्यालय आउँदैनन्।

‘शिक्षक नै ११/१२ बजेसम्म आउँछन्। विद्यार्थी चउरमा खेलिरहेका हुन्छन्, हरेक वषै दसैंतिहार बिदापछि यस्तै हुन्छ’, अभिभावक खत्रीले भने।

विद्यालयमा एक जना बालविकास सहजकर्तासहित अन्य तीन जना शिक्षक कार्यरत छन्। प्रधानाध्यापक गणेश भट्ट र शिक्षक टंक भट्ट दसै बिदापछि विद्यालय फर्किएका छैनन्। विद्यालय समयमै शिक्षकहरू मदिरा सेवन गरेर आउने गरेको बिद्यार्थी भक्ति लावडले बताए।

एक जना बालविकास कक्षाकी सहजकर्ता मायादेवि भट्टको भरमा विद्यालय चलेको कक्षा ४ का छात्र नन्दऋषी भट्टले बताउँछन्। विद्यालय नजिकै वडापालिकाको कार्यालय छ। वडा अध्यक्षसमेत सोही गाउँका स्थायी बासिन्दा हुन्। विद्यालयमा शिक्षक अनुपस्थिबारे वडाले कुनै चासो दिएको पाइँदैन।

वडाध्यक्षलाई पटक–पटक शिक्षकको व्यवहार सुधारका लागि अनुरोध गरे पनि सुनुवाइ नभएको अर्का अभिभावक मंगल कार्कीले बताए। गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले यसबारे जानकारी दिएर तत्काल शिक्षक उपस्थिति गराउने बताए।

जीवन सेजुवाल अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: