काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अनुदान प्राप्त गर्न परियोजना प्रस्ताव पठाउने म्याद १५ दिन थप गरेको छ ।

यसअघि चैत १५ गतेभित्र परियोजना प्रस्ताव पठाउनुपर्ने भनिएकोमा अब चैत ३० गतेभित्र पठाए हुने भएको छ ।

केन्द्रले फागुन २४ सूचना जारी गर्दै  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सहभागी हुन इच्छुक विद्यालयहरुबाट स्थानीय तहको कार्यपालिकाको निर्णय सहित कागजात पेश गर्न सूचित गरिएको थियो ।

पछि, कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका कारण तत्काल कार्यपालिकाको बैठक बसी प्राथमिकता निर्धारण गर्न कठिनाई भएको भनी विभिन्न स्थानीय तहहरुले आग्रह गरेपछि स्थानीय तहको कार्यपालिका बैठक बस्न संभव नभएमा स्थानीय तहमा संकलित प्रस्तावहरुको नगरप्रमुख वा गाउँपालिका अध्यक्षस्तरबाट प्राथमिकता निर्धारण सहित निर्णय गराई तोकिएको ढाँचामा चैत १५ गतेभित्र पठाउन अनुरोध गरिएको थियो ।

पुनः चैत ११ देखि देशभर लकडाउन लागू भएका कारण निर्धारित समयमा विवरण पठाउन कठिनाइ भएको भन्ने गुनासोका कारण केन्द्रले चैत ३० भित्र पठाउन अनुरोध गरेको हो ।

साथै, विद्यालयबाट प्राप्त कागजातहरु यस केन्द्रमा पठाउने प्रयोजनका लागि शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन र शिक्षा विकास तथा समन्वय इकाइले स्थानीय तहबाट प्राप्त कागजातहरु संकलन गरी कार्यालयको अभिलेख अनुसार सत्यापन गरी एकमुष्ट रुपमा २०७७ बैशाख ५ गतेसम्म  केन्द्रमा आइपुग्ने गरी पठाउनुपर्ने केन्द्रले जनाएको छ ।

यस्तै, स्थानीय तहबाट निर्णय प्रति सहित पठाइएको इमेलको आधारमा मात्र छनौट प्रक्रिया अगाडि बढाइने हुनाले विद्यालयहरुले सिधै केन्द्रको इमेल ठेगानामा कागजात नपठाउनु हुन समेत अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्