काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई) तोकिएकै मितिमा, तोकिएकै कार्यतालिका अनुसार सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

केही सञ्चारमाध्यममा एसइइ सर्न सक्ने समाचार आइरहेको बेला शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले एसइइ परीक्षा कुनै हालतमा नसर्ने बताएका हुन् ।

‘शिक्षा मन्त्रालयमा हालसम्म त्यस्तो निर्णय भएको छैन र हुने सम्भावना पनि देखिदैन’– प्रवक्ता शर्माले एजुकेशनपाटीसँग भने ।

विद्यार्थीहरुलाई निर्धारित मिति र तोकिएको केन्द्रमा भयमुक्त भएर परीक्षा सहभागी हुन शर्माले आग्रह गरे । तयारी पुरा भइसकेकाले व्यवहारिक रुपमा परीक्षा सार्न गाह्रो रहेको भन्दै परीक्षा सर्ने विषय कल्पना गर्ने नसकिने स्पष्ट पारे ।

यस्तै, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रामराज खकुरेलले पनि एसइइ परीक्षा कुनै हालतमा सर्न नसक्ने बताए ।
आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणले माहामारीकै रुप लिए महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने–नबनाउने कुरा टुंगो लाग्ने बताएका थिए ।

तर, अहिलेकै अवस्थामा परीक्षा यथावत मितिमै सञ्चालन हुने उनले स्पष्ट पारेका थिए । उनको यसै भनाइलाई लिएर कतै परीक्षा सर्ने त होइन भन्ने आशंका उव्जिएको थियो । तर, त्यसलाई शिक्षा मन्त्रालयले ठाडै खण्डन गरिदिएको छ ।

कोरोना भाइरसको संक्रमणको खतरालाई मध्य नजर राख्दै सरकारले यसवर्ष मुुलुुकभरका १ हजार ९ सय ९५ वटै एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने तयारी गरेको छ ।

हेल्थडेस्कमा परीक्षा हलभित्र जानुुअघि परीक्षार्थी, कर्मचारी तथा परीक्षामा संलग्न अन्य सबैको तापक्रम जाँच गरिनेछ । परीक्षाका क्रममा कुुनै विद्यार्थीमा ज्वरो देखिएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कबाट हुुनेछ ।

साथै, साधारण रुघाखोकी देखिएमा उनीहरुलाई छुट्टै कोठामा बसेर परीक्षा दिने व्यवस्था गरिएको समेत परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिए । यस्तै, परीक्षा केन्द्रहरुमा स्वास्थ्य स्वयंसेवकहरु पनि परिचालनको तयारी भइरहेको उनले जानकारी दिए ।

२०७६ चैत्र २ गते १८:३९मा प्रकाशित

 

प्रतिकृया दिनुहोस्