२०७६ मंसिर २१ गते

भवनको अभावमा भीरमा पढ्न बाध्य

राजन रावत/हुम्ला


विद्यालयमा रहेका भवन जीर्ण र बस्न योग्य नभएपछि नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरु खुला चउर, भीर र मञ्चमा पढ्न  बाध्य भएका छन । भएका भवन प्रयोग गर्न नसकिने तथा जिर्ण भएपछि विद्यार्थीहरुलाई खुला चउर र मञ्चमै राखेर पठन–पाठन गरिएको हो ।


खुला चउर र भीरमा अध्ययन गर्नुपर्दा हावाहुरी चल्दा, चर्को घाम लाग्दा र पानी परेको बेला पठन–पाठन बन्द हुने गरेको कक्षा दुईमा अध्ययनरत छात्रा जानुका छत्यालले दुखेसो पोखिन् ।


यसले गर्दा पढाइमा समस्या खडा गरेको र सरोकारवाला निकायले यो समस्या तत्काल समधान गर्न उनले आग्रह गरिन् । नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै मञ्चैमा बसेर अध्ययन गरि रहेको छात्रा छत्यालले बताइन् ।


विद्यार्थी चाप धेरै भए पनि शिक्षक दरबन्दी कम हुँदा निजी श्रोतबाट शिक्षक ब्यवस्था गरि रहेको उक्त विद्यालयमा भवनको अभावले गर्दा  साना कक्षाका विद्यार्थीहरु बाहिर खुला चउर र भीरमा पढ्दै आएका छन् ।


 यसले गर्दा कक्षा कोठा अभाव भएर विद्यार्थीहरुलाई अब गर्मी बढे सँगै अध्ययन गर्न कठीन हुने र बर्खामा पानी परेका बेला पढाइ के गर्ने भन्नले चिन्ता थपिएको छ ।  गत बर्षसम्म जेनतेन चलाइए पनि यस पाली कक्षा कोठाको अभावले दुई देखि तीन वटा कक्षाहरु चउरमा सञ्चालन गर्नु बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद भुवाईले जानकारी दिए ।


अझ कक्षा दुईलाई त बेन्च राखेर मञ्चमा अध्ययन गराउनु परि रहेको उनले बताए ।


 पछि मावि भएको कारण शिक्षक दरबन्दी कम, भवन पनि सिमित र भएका भवन पनि जिर्ण भइ सकेकाले विद्यालयलाई पठन–पाठनमा कठीनाइ  सिर्जना भएको उनले स्पष्ट पारे ।


 भवन अभावले विद्यार्थीलाई पठन–पाठनमा समस्या भएको र त्यसका लागि स्थानीय तथा प्रदेश सरकारसँग भवन निर्माणका लागि योजना माग गरिएको उनले जानकारी दिए ।


 भवन धेरै भएपनि पुराना र प्रयोग गर्न नसकिने भएको कारण पठन–पाठनमा अवरोध सिर्जना  भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताए ।


 अहिले पनि प्रदेश सरकारबाट नयाँ भवन निर्माणको कार्यक्रम रहेको र त्यो बनेमा समस्या समधान हुने उनले बताए ।  गाउँपालिकाको बजेटबाट शिक्षक पाल्दै ठिक्क भएको उनले स्पष्ट पारे ।

Comments: