२०७६ मंसिर ६ गते

कर्णाली प्रदेश सरकारद्वारा हुम्लाका २३ विद्यालयमा नयाँ भवन निर्माण

राजन रावत/हुम्ला

अदानचुली गाउँपालिकाको पुर्दुकोट आधारभुत विद्यालयमा नयाँ बनेको भवन । तस्बीर : राजन रावत, हुम्ला

 

कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले अघिल्लो आर्थिक बर्षमा हुम्ला जिल्लाका २३ विद्यालयमा नयाँ भवन निर्माण गरिदिएको छ ।


जिल्लाका विद्यालयहरुको माग र हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको समन्वयमा सामाजिक मन्त्रालयले एक बर्षमा यति धेरै विद्यालय भवन निर्माण गरिदिएको हो ।  


सामाजिक बिकास मन्त्रालयले निर्माण गरेका विद्यालय भवनहरुमा चारवटा पचास लाख लागतका, र दुई वटा तीस लाख लागतका रहेका छन् । यसैगरी  १७ वटा भवन २० लाख लागतका रहेका प्रदेश सरकारले जनाएको छ ।


 ती भवनमा १७ वटा दुई कोठे, चार वटा छ कोठे र दुई वटा तीन कोठे रहेको सामाजिक बिकास मन्त्रालय अन्र्तगतको विद्यालय भौतिक सुबिधा कार्यक्रमका सवइन्जिनियर धर्मराज बोहराले जानकारी दिए ।


यी सबै विद्यालय भवन समयमै निर्माण भएर हाल सञ्चालनमा रहेका उनको भनाइ थियो ।


 भवन निर्माण पछि धेरै विद्यालयहरुमा खुल्ला चउरमा पढिरहेका विद्यार्थीहरुलाई राहत मिलेको छ । उक्त कार्यक्रममा लागत साझेदारी र स्थानीय जनताको जनश्रमदानमा निर्माण गरिएको विद्यालयहरुमा नाम्खा गाउँपालिकाका महाबौद्ध मावि याल्बाङ र नबबुद्ध आधारभूत विद्यालय रहेका छन् भने सिमकोट गाउँपालिकाका सैपाल मावि, कर्णाली मावि, मानसरोवर नमूना माबि, भिमसेन आधारभुत विद्यालय, रलिङ मावि भवन रहेका छन् ।


 त्यसैगरी, खार्पुनाथ गाउँपालिकाका सिता मावि, मालिका मावि र हुम्ला मावि भवन निर्माण गरिएका छन् ।यता सर्केगार्ड गाउँपालिकाका लालिगुराँस मावि ,हिमज्योति मावि, अंशुबर्मा आधारभूत विद्यालय, र सरस्वती मावि रहेका छन् ।


चंखेली  गाँउपालिकाका अशंबर्मा आधारभूत विद्यालय, महादेब मावि र ज्ञानोदय आधारभुत विद्यालयले पनि नयाँ  भवन पाएका छन् ।


 अदानचुली गाउँपालिकाका बलदेव प्रावि, हिमालचुली आधारभुत,पर्दुकोट प्रावि र सुर्योदय माविमा पनि नयाँ भवन निर्माण गरिएका छन् । त्यसैगरी, ताँजाकोट गाउँपालिकामा धर्मोदय मावि र जनक प्राविका भवनहरु निर्माण गरिएको सड इञ्जिनीयर बोहराले बताए ।

 यी सबै भवन निर्माण गर्न पाँच करोड ७० लाख लागत लागेको छ । यसमा अब कम्तीमा पनि पाँच हजार भन्दा बढी विद्यार्थीहरुले पठन–पाठन गर्न पाउनेछन् ।

Comments: