२०७६ चैत्र २५ गते

इलाम क्याम्पसमा विभागैपिच्छे ताला

अन्तैबाट

इलाम। लामो समयदेखि अन्योलग्रस्त बन्दै आएको इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको समस्या समाधान हुन सकेको छैन । क्याम्पस प्रमुखको राजीनामाको विषयलाई लिएर ६ महिनायता विवाद चुलिएको छ ।

अन्योल समाधान नहुँदा पठनपाठन र क्याम्पसका नियमित गतिविधि पनि प्रभावित भएका छन् । यही विषयलाई लिएर तोडफोडसमेत भएपछि अन्योल थप चुलिएको छ । सोमबार साँझ एक समूहले क्याम्पसका केही झ्यालका सिसासमेत फुटाएको छ ।

घटनाबारे तत्काल जानकारी गराए पनि प्रहरी ढिलो गरी पुगेको थियो । यसअघि पनि सुरक्षाको विषयमा प्रशासनसँग कुरा गर्दा चित्तबुझ्दो व्यवहार नपाएको क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंको भनाइ छ ।

झन्डै ३ महिनादेखि क्याम्पस प्रमुख कार्यकक्ष पस्न पाएका छैनन् । लेखा शाखा र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष पनि तालाबन्दी छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । जसका कारण पठनपाठन प्रभावित हुँदै आएको विद्यार्थी बताउँछन् ।

जाडो बिदाको विषयमा पनि क्याम्पसमा विवाद चुलिएको थियो । क्याम्पस प्रमुखले पुस १६ देखि पठनपाठन बन्द गर्ने सूचना जारी गरे पनि सहायक क्याम्पस प्रमुखले सञ्चालक समितिको निर्णय भन्दै २२ गतेदेखि मात्र बिदा दिने सूचना टाँस गरेका थिए ।

अधिकारमाथि हस्तक्षेप भएको भन्दै क्याम्पस प्रमुख अदालत गएका थिए । अदालतले प्रमुखकै पक्षमा फैसला गरेको थियो । त्यसैका आधारमा अहिले क्याम्पसमा पठनपाठन सञ्चालन भइरहेको छ ।

क्याम्पसको हितअनुरूप काम गरे पनि निश्चित स्वार्थका कारण आफूमाथि दबाब दिइएको क्याम्पस प्रमुखको भनाइ छ । यता अन्य विद्यार्थी संगठनले क्याम्पसलाई कसैको स्वार्थपूर्तिका लागि बन्धक बनाउनु नहुने तर्क गर्दै आएका छन् । उनीहरूले नेकपा र त्यस निकट विद्यार्थी संगठनकै कारण समस्या आएको आरोप लगाउँदै यस्तै रहिरहे आफूहरू पनि आन्दोलनमा जाने जनाएका छन् ।


सोमबार साँझको घटनाको सत्यतथ्य जाँचबुझ गरी कारबाही अघि बढाउन क्याम्पसले प्रशासनलाई आग्रह गरेको छ । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख नै वातावरण धमिल्याउन लागिपरेको आरोप लगाएका छन् ।

यी संगठनले कात्तिकमा नै १८ बुँदे माग राख्दै आन्दोलन थालेका हुन् । क्याम्पस प्रमुखले भने मागका विषयमा छलफल भएर ताला खोल्ने सहमति भएको दाबी गरेका छन् । विज्ञप्तिबाजी, तालाबन्दी र तोडफोडसमेत हुन थालेपछि सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । तालाबन्दीले कतिपय क्याम्पसका कामकारबाही प्रभावित भएको प्रमुख बताउँछन् ।

कान्तिपुरमा खबर छ ।

Comments: