२०७६ असोज २८ गते

किताब छाप्न जनक शिक्षालाई २५ करोड

काठमाडौं ।  सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भन्दै २५ करोड अनुदान प्रदान गरेको छ । अघिल्लो वर्ष नै निजीकरणको अन्तिम तयारीमा पुगेको केन्द्रलाई व्यवस्थापन सुधारको शर्तमा यो अनुदान प्रदान गरिएको हो ।

सरकारबाट प्राप्त अनुदानबाट केन्द्रले कागज र वेब मेसिन खरिद गर्नेछ ।कर्मचारीको दबाबमा निजीकरण रोकेको सरकारले व्यवस्थापन चुस्त बनाई आर्थिक रूपमा सबल बनाउने योजना अघि बढाएको छ ।

आर्थिक सहयोगपछि शिक्षा मन्त्रालयले आफ्नै पहलमा सञ्चालन गर्ने शर्तमा सहयोग प्राप्त भएको केन्द्रले जनाएको छ । फितलो व्यवस्थापन र राजनीतिक हस्तक्षेपका कारण केन्द्र पुस्तक छाप्न नसक्ने अवस्थामा पुगेको थियो ।

यो वर्ष समयमा पुस्तक छाप्न सहयोग होस् भन्ने उद्देश्यले सरकारले २५ करोड रूपैयाँ ऋण दिन लागेको प्रशासन प्रमुख कृष्णप्रसाद कटवालले बताए । आर्थिक रूपमा टाट पल्टिन लागेको केन्द्रले पुस्तक छाप्न नसक्ने भएपछि हालै दाताको सहयोग समेत मागेकोे थियो ।

दाताले दिने आर्थिक सहयोगको प्रक्रिया रोकिएपछि सरकारले नै यो रकम दिने निर्णय गरेको छ । सरकारले पुस्तक छाप्न रकम दिने भए पनि शिक्षा मन्त्रालयले नै केन्द्रको काम कारबाही नजिकबाट अनुगमन गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले केन्द्रलाई आर्थिक रूपमा सबल बनाउन मन्त्रालयको महाततमा राखेर व्यवस्थापन गर्ने भएको केन्द्रका आर्थिक प्रशासन प्रमुख सुजनराज नेपालले बताए । “मेसिन किन्ने प्रक्रिया अघि बढिसकेको छ भने यो सिजनका लागि आवश्यक पर्ने कागज पनि आइरहेको छ,” नेपालले भने ।

अघिल्ला वर्षहरूमा केन्द्रसँग भएको सिमित पैसा सुरु अवस्थामा छापेको पुस्तकको रकम फस्ने र सो पैसा शैक्षिकसत्र सुरु भएर पुस्तक बिक्रीपछि मात्र प्राप्त हुने भएको कारोबार गर्न कठिन हुँदै आएको थियो ।

सरकार वा दाताबाट आर्थिक सहयोग नपाए यो वर्ष पनि समयमा पुस्तक छाप्न निजी क्षेत्रको भर पर्नुपर्ने अवस्था थियो । यो वर्ष जनक शिक्षालाई सबल बनाउने मामिलामा मन्त्रालय नै अघि बढे पनि निजी क्षेत्र पनि समयमै पुस्तक छाप्ने तयारी गरिरहेका छन् ।

कक्षा १ र २ मा रंगीन पुस्तक छाप्ने प्रक्रियामा निजी क्षेत्रले ढिलो गर्ने देखिएपछि सरकार अत्याधुनिक मेसिन आपैंm खरिद गर्ने तयारीमा छ । सरकारले दिएको २५ करोडबाट अत्याधुनिक प्रविधिको वेब मेसिन किन्न केन्द्रले ग्लोबल टेन्डर आह्वान गरिसकेको छ ।

केन्द्रले खरिद गर्न लागेको अत्याधुनिक मेसिन हालसम्मकै उच्च प्रविधिको हुने दाबी गरेको छ । केन्द्रले किन्न लागेको मेसिनको हाल बजारमूल्य ६ लाखसम्म पर्नसक्ने अनुमान गरिएको छ ।

हाल नेपाली बजारमा ओरेन्ट, महाबिर तथा मनोहरा ब्रान्डका मेसिन राम्रो मानिएकाले सोहीमध्ये कुनै मेसिन किन्ने तयारी गरिएको छ । केन्द्रले खरिद गर्ने मेसिनको एक सिटमा ६४ पेज छाप्ने क्षमताको रहने बताइएको छ । हाल केन्द्रमा सबैभन्दा बढी क्षमताको मेसिनले ३२ पेज मात्र छाप्नसक्छ  ।

यसरी २४ सै घण्टा मेसिन चल्दा केन्द्रलाई दैनिक ३५ देखी ४० टन कागज आवश्यक पर्दछ । यो वर्षको चैतसम्म जनक शिक्षाले कक्षा ६ देखी १० सम्मका २ करोड २ लाख थान पुस्तक छाप्नु पर्नेछ ।

हालसम्म केन्द्रले ९० लाख थान पुस्तक छापिसकेको छ भने फागुन र चैतसम्म थप ७५ लाख थान छाप्नु पर्नेछ ।अपुग किताब साझा प्रकाशनले २० र यूसेफ नामक संस्थाले ३० लाख थान छाप्न सहयोग गर्ने केन्द्रले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।
 

Comments: