काठमाडौंको मध्यभाग कालिमाटीमा रहेर पनि कुनैबेला भौतिक पूर्वाधार र विद्यार्थी अभावमा गाभिने अवस्थामा पुगेको विद्यालयमा प्रधानाध्यापकका रुपमा डा. जानुका नेपाललाई पाउनसाथ विद्यालयले बिस्तारै काँचुली फेरेको महशूस गर्न थालिएको छ । गरे सम्भव छ भन्ने आफूलाई उदाहरणीय बनाउनुभएकी प्रअ नेपालकै सक्रियतामा विद्यालय अहिले राजधानीका उत्कृष्ट सामुदायिक विद्यालयमा दह्रिन सफल भयो । सुधारका लागि स्रोतलाई भन्दा सोंचलाई बढी महत्व दिने डा. नेपालसँग गरेको कुराकानीको सारसंक्षेप ।

विद्यालयको समग्र अवस्था कस्तो छ ?
यस विद्यालयको स्थापना वि.सं. २०१० सालमा भएको हो । २०६३ सालमा पहिलो ब्याचले एसएलसी परीक्षा दिएका हुन् । अहिले २०६८ सालदेखि ११ र १२ सञ्चालन भइरहेको छ । विद्यार्थीको चाप धेरै छ । विव्यसको एकदमै सहयोग छ । स्थानीय समुदाय पनि विद्यालयको सुधारका लागि प्रतिबद्ध हुनुहुन्छ । शिक्षक समूहको पनि सहयोग र सहकार्य राम्रो छ । हामीकहाँ योग्य, दक्ष शिक्षक समूह छ । अंग्रेजी माध्यम, सूचना प्रविधियुक्त शिक्षण सिकाइ, राम्रो नतिजा छ । यो हामीले निकै थोरै समयमा गरेका सुधारहरु हुन् ।

विद्यालय बनाउन सोंच आवश्यक रहेछ कि स्रोत ?
दुबै चाहिन्छ । तर, महत्वपूर्णचाहिँ सोंच र चाहना नै हो । सोंच र चाहना भए सुधारका लागि स्रोत बाधक बन्दैन । स्रोत त बहान मात्रै हो । सुधारका लागि ठूलो कुरा सोंच नै हो । २०६२ सालमा म प्रअ भएकी हुँ । त्यतिबेला विद्यालयको खातामा एक रुपैयाँ थिएन । विद्यार्थी संख्या कम थियो र पूर्वाधार पनि नभएकाले विद्यालय नै मर्ज हुने चर्चा शुरु भए । मसँग केवल विद्यालय बनाउनु पर्छ भन्ने सोंच बाँकी थियो । त्यहीँ सोंचले नै विद्यालय बनाउन सक्रियपूर्वक लागेँ । त्यो सक्रियतासँगै स्रोत पनि जुट्दै गयो । शुरुमा विद्यालय नै मर्ज हुने स्थितिमा यसलाई जोगाउनु पर्छ भनेर स्थानीय समुदायमा प्रचारप्रसार शुरु गरेँ । मलाई लाग्यो–एउटा कार्यक्रम गरौं । त्यसअघि विद्यालयले कहिल्यै वार्षिकोत्सव मनाएको थिएन । विद्यालयका संस्थापक, पूर्व प्रअ र शिक्षकहरु र स्थानीय शिक्षासेवीहरुसँग भेटेँ । स्रोत थिएन । विद्यालयले स्रोत जुटाउन २०६३ सालमा चिठ्ठा छाप्ने काम ग¥यो । २० रुपैयाँबराबरको चिठ्ठा कार्यक्रमबाट विद्यालयले ७० हजार जम्मा गर्न सफल भयौं । त्यहीँ रकमबाट संस्थापक, पूर्व प्रअ, शिक्षकलगायत सबैलाई सम्मान गरेँ । सबैजना खुशी हुनुभयो । सबैले फेरि विद्यालय सम्झिए । विद्यालय संस्थापकका छोरा रामबहादुर केसीको अध्यक्षतामा पहिलोपटक व्यवस्थापन समिति गठन गरियो । अनि, स–साना सहयोग जुटाउन थालियो ।

सुधारको शुरुवात कसरी गर्नुभयो ?
विव्यस बन्नसाथ त्यसैमा छलफल गरेर पहिलो सालमै बोर्डिङ स्कूलमा जस्तै पढाइ नियमित र राम्रो गर्छौं भनेर प्रिप्राइमरी (इसिडि) कक्षा सञ्चालन गरियो । त्यहाँ पूर्व विद्यार्थीबाटै स्वयंसेवी शिक्षक राखियो । मासिक ५० रुपैयाँ लिएर स्टेशनरी पनि दिन थालेपछि इसिडमा मात्रै ७५ जना भर्ना भए । विव्यसमा मावि तह सञ्चालनको प्रस्ताव राखेँ । तर, आवश्यक २ लाख रुपैयाँ धरौटीको समस्या भयो । मैले स्थानीय शिक्षासेवी हिक्मतबहादुर मालीसँग छलफल गरेपछि उहाँकै सक्रियतामा रोटरी क्लबबाट २ लाख रुपैयाँ सहयोग जुटाएर मावि सञ्चालन गर्न सफल भएँ । हामीले माविमा एकदमै मिहिनेत ग¥यौं । एसएलसीमा सहभागी पहिलो व्याच नै विशिष्ट श्रेणीसहित शतप्रतिशत उत्तीर्ण भयो । झनै उत्साह थपियो । गरे हुने रहेछ भन्ने लाग्यो । विद्यालयको चर्चा पनि बढ्यो । विद्यार्थी संख्या पनि बढ्न थाल्यो । आएको स्रोत विव्यसलाई नै खर्च गर्न दिएँ । थोरै सहयोगले पनि धेरै काम हुन थाल्यो । नगरपालिकाले सहयोग गरेको ९० हजार रुपैयाँले विद्यालयको तला थप्न सफल भयौं । म प्रअ भएको बेला कतिपय शिक्षकहरुको नियुक्तिपत्र पनि थिएन । आन्तरिक परीक्षाबाट स्थायी हुने कुरा आएपछि बडो मिहिनेत गरेर सबैको नियुक्तिपत्र बनाउन सफल भएँ । संयोगले परीक्षा दिएका चारैजना शिक्षकहरु स्थायी हुन सफल हुनुभयो । शिक्षक व्यवस्थापन पनि सहज भयो । एकजना विदेशी स्वयंसेवीले ३५ वटा कम्प्यूटर सहयोग गर्नुभयो । यसरी बिस्तारै मिहिनेत गर्दै सफलता पाउँदै गयौं ।

विद्यालय सुधारमा प्रअको कस्तो भूमिका रहन्छ ?
म २०४९ साल चैतमा यो विद्यालयमा निमावि शिक्षकको रुपमा प्रवेश गरेकी हुँ । म प्रवेश गर्दा करिव २०० विद्यार्थी मात्रै थिए । तत्कालीन अवस्थामा विद्यालयमा समस्या धेरै थिए । शौचालय, फर्निचर आदि नभएको अवस्था थियो । सुकुलमा बसाएर पढाउनुपथ्र्याे । भौतिक अवस्थाको राम्रो व्यवस्था नहुनाले भएका विद्यार्थी पनि निरन्तर घट्दै जान थालेका थिए । तत्कालीन वडाध्यक्ष जीवनराम मानन्धरले वडाबाट ५ लाख रुपैयाँ सहयोग गरेपछि एउटा भवन निर्माण भयो । काठमाडौंको मुटुमा रहेर पनि विद्यालयमा न्यूनतम पूर्वाधार नहुँदा शिक्षकहरुको डेलिगेसन कमजोर जस्तो देखिन्थ्यो । अभिभावकहरुको उपस्थिति र चासो कम देखिन थालेको थियो । व्यवस्थापकीय पक्ष कमजोर देखिन थाल्यो । मलाई विद्यालयको अवस्थाले चिन्तित बनायो । जिम्मेवारी पाएमा केही गर्थेँ भन्ने लागिरहन्थ्यो । मैले २०५९ सालदेखि सहायक प्रअको रुपमा जिम्मेवारी पाएँ । अनि मलाई भिजन बनाएर लागेँ भने केही गर्न सक्छु भन्ने भयो । पछि सबैको कुरा सुन्ने निर्णय गर्दा सामुहिक निर्णय गर्न शुरु गरेँ । २०६२ मा प्रअ बनेपछि विद्यालय बनाउने सोंच र भिजनसहित अगाडि बढे । नतिजा सबैसामु छर्लंग छ ।

शिक्षण सिकाइ सुधारका लागि कस्तो प्रयास गर्नुभएको छ ?
हरेक वर्ष शिक्षण सिकाइ सुधारका लागि विद्यालय आफैंले एक हप्ता शिक्षक तालिम सञ्चालन गर्दै आएको छ । २०६३ सालदेखि नै कक्षा १ देखि ५ सम्म ग्रेड टिचिङ लागू गरेका छौं । निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति सफलतापूर्वक लागू गर्दै आएका छौं । हरेक शैक्षिक शत्रको शुरुमा वर्षभरी आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण कार्यशाला गर्ने गर्छौं । शिक्षण सिकाइमा सूचना प्रविधि प्रयोगलाई जोड दिन विद्यालयमा इन्टरनेटयुक्त, स्मार्टबोर्ड र प्रोजेक्टरबाट शिक्षण सिकाइ गर्दै आएका छौं । परियोजना कार्य र इन्टरनेटबाट अनिवार्य सिकाउनुपर्ने व्यवस्था गरेका छौं । हरेक वर्ष दुईपटक विद्यार्थीलाई परियोजना कार्यसहितको शैक्षिक भ्रमणमा लैजाने गरिएको छ । शैक्षिक क्यालेण्डर बनाएर सो अनुसार अतिरिक्त क्रियाकलाप अघि बढाउँदै लगिएको छ । हरेक शनिबार साप्ताहिक परीक्षा सञ्चालन गर्छौं । युनिट टेस्ट लिन्छौं । असहाय र पढाइमा कमजोर विद्यार्थीका लागि हरेक दिन एउटा उपचारात्मक कक्षा सञ्चालन हुन्छ । आवश्यकताको पहिचान भएका असहाय र गरीब विद्यार्थीका लागि निःशुल्क खाजाको व्यवस्था गरिएको छ । अंग्रेजी माध्यम लागू गरेका छौं ।

सिकाइ उपलब्धिको अवस्था कस्तो छ ?
हाम्रो विद्यालयको सिकाइ उपलब्धि एकदमै उत्कृष्ट पनि भन्दिनँ । साह्रै कम पनि होइन । औषतको नतिजा भन्न रुचाउछु । एसइइ र एसएलसीको त उत्कृष्ट छ । कक्षागत औषत सिकाइ उपलब्धि ६० प्रतिशतभन्दा बढी छ । पाँच वर्षभित्र ९० प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।

शिक्षकहरुको तालिम कक्षाकोठामा पुगेको छ जस्तो लाग्छ ?
एकदमै पुगेको छ । म अनुगमन गर्छु । किनभने म आफैँ प्रशिक्षक पनि हो । विद्यार्थी धेरैजसो मोवाइल र इन्टरनेटमा भुल्छन् । बरु, त्यसैलाई विषयसँग लिंक गरिदिन पाए त्यो नै सिकाइको साधन हुने थियो भनेर हामी तयारीमा लागिरहेका छौं । अब मोवाइलबाटै पढ्ने, सिक्ने र खोज्ने बनाउन खोजिरहेका छौं । केही शुरु पनि भइसकेको छ ।

सामुदायिक विद्यालयको अवस्था कमजोर हुनुमा सरकारको नीतिमा दोष देख्नुहुन्छ कि नियतमा ?
सरकारको नीतिमा पनि समस्या छ । नियतमा पनि समस्या छ । सम्भाव्यता अध्ययनबिना विद्यालयहरुलाई अनुमति दिइएको छ । अहिले कतै विद्यालय नै विद्यालय, कतै नहुने अवस्था आएको छ । अनुदानको सम्बन्धमा पनि समस्या छ । नियतमा पनि समस्या देखिन्छ । साँच्चै सामुदायिक विद्यालय सुधारमा सरकार लाग्ने हो भने गाह्रो छैन । सरकारले नै विद्यालयलाई जसरी चल्छ चलोस् भनेर छाडिदिएको जस्तो लाग्छ । एउटा विद्यालयका लागि चाहिने कुरा के–के हो ? त्यो न्यूनतम सक्षमताको अवस्था सरकारले पूरा नगरिदिएसम्म सुधार हुँदैन । विद्यालय सुधार योजना अनिवार्य बनाउन भनिएको छ । भवन बनाउने योजना बनायो, स्रोत हुँदैन । यदि सहयोग नै नगर्ने हो भने किन योजना चाहियो भन्ने । जति विद्यालयले राम्रो गरेका छन्, आफ्नै बुतामा गरेका छन् ।

विद्यालयमा सबैखाले विद्यार्थी आउने गर्छन । घरेलु कामदारहरु पनि आउँछन् होला, ती घरमा विभेद भएका विभिन्न घटनाहरु स्कूलसम्म सुन्नमा आउछन् कि आउँदैनन् ?
धेरै घटनाहरु आउँछन् । मलाई दुःख पनि लाग्छ । एउटा विद्यार्थीको आमा अर्कोसँग विवाह गर्नु भएछ । भर्ना हुँदा एउटा बुवा र कक्षा ८ मा जन्मदर्ता गराउँदा अर्को बुवा हुने अवस्था आयो । प्रायः अभिभावकहरु भर्ना गर्दा महिला आउनुहुन्छ । हरेकको गुनासो श्रीमान्ले छाडेकै सुनिन्छ । नछोडेका श्रीमान्ले पनि रक्सी खाएर पिट्ने समस्या । कतिसम्म भने हामीले दिएको छात्रवृत्तिसमेत बुवाले रक्सी खाएर सिद्याइदिएको समस्या आए । त्यस्तो परिस्थितिमा विद्यार्थीको मानसिकता कस्तो होला ? कामदार अभिभावकले पनि छोरा निजीमा र छोरीलाई सरकारीमा पठाउने गरेका समस्या छन् । घरेलु कामदार हिंसाको शिकार भएका घटनाहरु पनि आउँथे । यस्ता घटना अचेल अलि कम सुनिएको छ । हामीले यस्ता विभेद अन्त्य गर्ने प्रयासका लागि विद्यालयमै गुनासो पेटिकाको व्यवस्था गरेका छौं ।

विद्यालयको अबको योजना के छ ?
विद्यार्थीको चाप धेरै भएपनि सबैलाई भर्ना गर्न सकिएको छैन । कारण हो, भवन अभाव । त्यसैले, भवन बनाउने योजना छ । हरेक कक्षाकोठालाई सूचना प्रविधियुक्त स्मार्ट बनाउने योजना छ । विद्यालयमा अहिले ११ सय बढी विद्यार्थी छन् । अंग्रेजी माध्यममा पढाउने शिक्षकहरुको अझै क्षमता बढाउने योजना छ । पाँच वर्षभित्र ९० प्रतिशत सिकाइ उपलब्धि बनाउने हाम्रो लक्ष्य हो । अभिभावक सचेतीकरण महत्वपूर्ण रहेछ, यसमा काम गर्ने योजना छ ।

प्रस्तुतिः रोशन क्षेत्री गाउँले

२०७५ साउन ३० गते १३:०६मा प्रकाशित

प्रतिकृया दिनुहोस्