२०७६ साउन ३२ गते

विद्यालय सरसफाइमा तारे अवधारणा

 


जीतबहादुर शाह


मिडियामा समाचारहरु पटक–पटक आइरहेने गर्छन्–पढाइ छाडेर शौच गर्न घरमा, शौच गर्नमै सकिन्छ एक पिरियड, विद्यालयको शौचालय नै स्टोर रुम, शौचालयमा पढाइ, छाउपडीले छात्रा उपस्थितिमा कमी, एसएलसी परीक्षा केन्द्रमै झाडापखाला इत्यादि ।


समाजशास्त्रीय दृष्टिकोणबाट भन्नुपर्दा विद्यालय एउटा ‘मिनी सोसाइटी’ हो । यो एउटा घर जस्तो देखिएपनि समाजका सबै जाति, वर्ग, सम्प्रदाय, लिङ्ग, धर्म र भाषाभाषीहरुको विद्यालयमा सहभागिता र प्रतिनिधित्व भइरहेको हुन्छ । उनीहरु समाजबाट केही ल्याएर विद्यालयमा आउँछन् र फर्कँदा पनि विद्यालयबाट समाजमा केही लिएर जान्छन् । शिक्षाशास्त्रीय दृष्टिकोणले भन्नुपर्दा जीवनलाई समुन्नत बनाउनका लागि आवश्यक पर्ने सीप र शिक्षा सिक्ने थलो भनेको विद्यालय हो ।

व्यक्तिलाई जीवनमा आइपर्ने विभिन्न चुनौतीहरुको सामना गर्नका लागि उर्जा र उत्प्रेरणा दिने थलो भनेको विद्यालय हो । सैद्धान्तिक हिसाबले विद्यालयको यसरी बखान गरिएपनि व्यवहारमा त्यस्तो विद्यालय भेट्टाउन लक्षित समूहलाई अलि हम्मे–हम्मे परेको हो कि भन्ने आभास भइरहेको छ । माथि चर्चा गरिएका घटना र समाचारका शीर्षकहरुबाट कतै हाम्रा विद्यालयहरु जीवनका लागि काम लाग्ने सीप र शिक्षा सिक्नका लागि उपयुक्त र सुरक्षित थलोको रुपमा स्थापित हुन सकेनन् कि भन्ने अनुभूति हुने गर्दछ ।


कतिपय जिल्लाहरुमा खुल्ला दिशामुक्त अभियानलाई मूर्तरुप दिँदै गर्दा विद्यालयहरुले यो अभियानलाई जति साथ दिनुपर्ने हो, त्यति साथ नदिएका कुराहरु पनि उठेका थिए । खुल्ला दिशामुक्त घोषणा गरिएका समुदायमा रहेका विद्यालयहरु पनि व्यवहारमा खरो उत्रन नसकेका उदाहरणहरु प्रशस्तै छन् । विद्यालय परिसर, त्यहाँका शौचालयहरुको सरसफाइ अवस्था, पानीको उपलब्धता आदिलाई नियाल्दा विद्यालयहरु साँच्चै त्यो आरोपबाट मुक्त हुन नसकिरहेको देखिन्थ्यो । यी सबै कुराहरुको आँकलन गर्दा राम्रो कार्यको पथ प्रदर्शन गर्नुपर्ने कसले हो ? विद्यालयले कि समुदायले ? व्यक्तिले कुुनै कुरा सिक्नका लागि समुदायमा जानुपर्ने हो कि विद्यालयमा ? अलमलमा छन् धेरै मानिस । यस्ता कुराहरुको अगुवाइ र नेतृत्व गर्नुपर्ने निकाय भनेको विद्यालय हो भन्ने कुरामा कुनै द्विविधा छैन । तथापि जो ‘अगुवा उही बाटो...’ भएपछि कसको के लाग्यो र ∕


तथ्य र तथ्याड्ढका आधारमा भन्नुपर्दा शिक्षा विभागले हालसालै प्रकाशित गरेको प्रतिवेदन अनुसार मुलुकमा भएका २९ हजार ६ सय ३० सामुदायिक विद्यालयमध्ये शौचालय सुविधा भएका जम्मा विद्यालयहरु ८१.३ प्रतिशत देखिन्छन् । छात्राहरुका लागि छुट्टै शौचालय सुविधा भएका जम्मा विद्यालयहरु ६७.६ प्रतिशत रहेका छन् । शौचालयमा युरिनल सुविधा भएका जम्मा विद्यालयहरु ४०.९ प्रतिशत रहेका छन् भने छात्रा शौचालयमा युरिनल सुविधा भएका जम्मा विद्यालयहरु २८.२ प्रतिशत मात्र रहेका देखिन्छन् । त्यस्तै, पर्याप्त खानेपानीका सुविधा उपलब्ध भएका विद्यालयहरु ७९.७ प्रतिशत रहेको देखिन्छ । यो तथ्याड्ढलाई हेर्दा विगतभन्दा वर्तमान सुध्रिएको छ । तथापि सन्तुष्ट हुने स्थिति देखिँदैन । अहिले पनि बालबालिकाका लागि स्वच्छ खानेपानी नभएका विद्यालयहरु पनि छन् । कतिपय विद्यालयमा विद्यार्थीहरुले घरबाटै खानेपानी बोकेर जानुपर्ने अवस्था पनि छ । यस प्रकारका विद्यालयहरुमा शौचालयको अवस्था नाजुक हुनु सामान्य जस्तै देखिन्छ ।


विद्यालयको सरसफाइको क्षेत्रमा सरकारी एवं गैरसरकारी क्षेत्रबाट समेत थुप्रै प्रयासहरु भएका छन् । चार दशक अघि देखि स्वच्छता र सरसफाइलाई विद्यालयको पाठ्यक्रममा समावेश गरी लागू गर्ने काम भएको छ । नेपाल सरकारलगायत युनिसेफको सहयोगमा विद्यालयमा खानेपानी तथा सरसफाइ (WASH in School) कार्यक्रम, विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ (SLTS) कार्यक्रम आदि सञ्चालन भइरहेका छन् । यसका साथै सरसफाइलाई सहयोग पुग्नेगरी नेपाल सरकारले राष्ट्रिय सरसफाइ गुरु योजना २०६८ जारी गरेको छ भने राष्ट्रिय योजना आयोगबाट तयार गरी लागू गरिएको सहस्राब्दी विकास लक्ष्य द्रूत ढाँचाले सन् २०१७ सम्म शतप्रतिशत विद्यालयमा शौचालयको व्यवस्था गर्ने सरकारी प्रतिबद्धताको घोषणा गरेको छ । विद्यालय सरसफाइको क्षेत्रमा बालक्लबहरुले निर्वाह गरेको भूमिका उल्लेख्य रहिआएको देखिन्छ । जुन–जुन विद्यालयहरुले सरसफाइको क्षेत्रमा फड्को मार्न सके, त्यस्ता विद्यालयहरुमा बालक्लबहरुले सराहनीय भूमिका निर्वाह गरेका सफलताका कथाहरु भेटिने गरेको छ ।


विद्यालयमा सरसफाइ प्रबद्र्धन जस्तो गम्भीर विषयवस्तुलाई मध्यनजर राखी युनिसेफको सहयोगमा नेपाल सरकारले एकतारे, दुईतारे र तीनतारे विद्यालयको अवधारणालाई अघि सारेको छ । एकतारे विद्यालयका सूचकको रुपमा सबै विद्यार्थीहरुले दैनिक रुपमा साबुन पानीले हात धुने सुनिश्चित गरिएको, दिनहुँ शौचालयहरुको सरसफाइको सुनिश्चित गरिएको, शौचालयमा वा शौचालय नजिक हात धुने स्थानमा साबुनको व्यवस्था भएको, विद्यालयमा पानीे उपलब्ध रहेको र विद्यालय परिसरमा खुला दिसा नभई सेवा क्षेत्रसमेत खुला दिसामुक्त घोषणा भएको हुनुपर्ने रहेका छन् । त्यस्तै, दुईतारे विद्यालयका सूचकहरुको रुपमा एकतारे विद्यालयमा भएका प्रावधानहरुको अतिरिक्त विद्यालयमा साबुन पानीले हात धुने समूहगत सुविधा भएको, विद्यालय हाताभित्र पानीको सुविधा भएको, महिनावारी शिक्षा दिनुका साथै सेनिटरी प्याड व्यवस्थापनका लागि इन्सिनेटर भएको, छात्रछात्राका लागि अलग–अलग शौचालयको सुविधा भएको र कम खर्चिलो तथा सरल पानी शुद्धिकरणका विधि प्रयोग गरिएको अवस्थालाई समावेश गरिएको छ ।


सरसफाइको क्षेत्रमा सर्वोत्कृष्ट विद्यालय अर्थात् तीनतारे विद्यालय हुनका लागि आवश्यक पर्ने सूचकहरुमा एकतारे र दुईतारे विद्यालयमा हुने सेवा सुविधाहरुको अतिरिक्त अपाङ्गता भएका विद्यार्थीहरुलाई समेत सहज हुनेगरी शौचालयसम्म जानको लागि ¥याम्पको व्यवस्था भएको, शौचालयमा ह्यान्ड रेलिङ्ग राखिएको, प्रति ५० विद्यार्थीको अनुपातमा एउटा शौचालय र युरिनलको सुविधा भएको तथा वास कार्य योजनालाई विद्यालय सुधार योजनामा समावेश भएको रहेका छन् । यसरी नेपाल सरकारबाट स्टार विद्यालयको रुपमा मान्यता पाउनका लागि माथि तोकिएका आधारहरु पूरा गरेको हुनु पर्छ । एकतारे हुनका लागि एकतारेमा भएका सूचकहरु पूरा गर्नुप¥यो भने दुईतारे हुनका लागि एकतारे र दुईतारे दुबैका सूचकहरु पूरा गरेको हुनु प¥यो । यसरी नै तीनतारे विद्यालय हुनका लागि एकतारे, दुईतारेका साथ तीनतारेमा उल्लेख भएका सूचकहरु पनि पूरा गर्नु प¥यो । जुन विद्यालयमा एक तारेमा उल्लेख गरेका आधारभूत सूचकहरु उपलब्ध हुँदैनन्, त्यस्ता विद्यालयहरु तारे विद्यालयमा पर्दैनन् ।


खानेपानी, सरसफाइ र स्वच्छता प्रबद्र्धन (Water, Sanitation & Hygiene –WASH Promotion) हरेक विद्यालयको लागि अति नै आवश्यक सुविधाहरु अन्तर्गत पर्छन् । विद्यालयमा ध्ब्क्ज् सुविधाहरुको समुचित व्यवस्था हुँदा सरकारले लिएको गुणस्तरीय शिक्षा प्राप्तिमा समेत योगदान पुग्छ । यी सुविधा विद्यालयमा विद्यमान भएका छात्राहरुको विद्यालय छाड्ने दरमा समेत कमी आउँदछ । विद्यालयमा WASH सम्वन्धमा के कस्तो सुविधा र अभ्यास गरिएमा विद्यालयलाई WASH मा नमूना योग्य विद्यालय मान्ने भन्ने सम्बन्धमा हालैका वर्षहरुमा विभिन्न देशहरुमा विकास भएको स्टार पद्धतिको नेपालमा पनि कार्यान्वयन गर्न नेपाल सरकारले निर्णय गरेको छ । शिक्षा विभागबाट स्वीकृत हुने तयारीमा रहेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता मार्ग निर्देशिकाले पनि विद्यालय वासका आधारभूत (One Star), मध्यम (Two Star) र उच्च (Three Star)तहका सूचकहरु तय गरिएको छ । माथि उल्लेख गरिएका सूचकहरु स्वीकृतिको क्रममा रहेको निर्देशिकाबाट नै साभार गरिएका हुन् ।


सरसफाइको अभियान अघि बढाउने अभियन्ताहरुसँग सुरुको समयतिर त्यति आशलाग्दा र सुखद अनुभवहरु रहेनन् । कतिपय जिल्लाहरुमा त शिक्षकको घरमा नै शौचालय नभएको कुरा खुलाएर जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गर्नु प¥यो । पत्राचार गरेर पनि सम्भव नभए पछि शौचालय नबनाउदासम्म तलव नदिने भन्ने निर्देशनहरुसमेत जारी नभएका होइनन् । अब भने त्यस्तो छैन । तराईतिर ओपन टवाइलेटको बिगबिगी भने अझै छ । यो कतिपयको बानी र कतिको चाहिँ बाध्यता देखिन्छ । धेरै हदसम्म जनचेतना र केही हदसम्म कानूनी उपचारका माध्यमबाट ओपन ट्वाइलेटको अन्त्य गर्न सकिन्छ भन्ने लाग्छ । पहाडका कतिपय विद्यालयहरुमा शौचालय त छन् तर पानीको अभाव छ । विभिन्न विकल्पहरु अपनाएर विद्यालयमा पानीको व्यवस्थापन गर्न सकिन्छ । कुनै पनि विकल्पले काम गरेनन् भने विद्यालय नै स्थानान्तरण गर्नुपर्ने पनि हुन सक्छ । जे होस्, निरोगी भएर खुसीपूर्वक जीवन जिउँदै गुणस्तरीय शिक्षा पाउने बालबालिकाहरुको अधिकारलाई संरक्षण र संबद्र्धन गर्ने हो भने हाम्रा विद्यालयहरुलाई क्रमशः तीनतारे विद्यालयको रुपमा विकास गर्नुको अर्को विकल्प देखिँदैन ।   jbshah072@gmail.com

 

 

साभार: आजको शिक्षा साप्ताहिक

Comments: