२०७६ असोज १ गते

सिग्देल सर, सरु र शिक्षा

जीतबहादुर शाह




यूरासिया रेयुकाइले आयोजना गरेको युवा भेला कार्यक्रममा धेरैले धेरै कुराहरु अभिव्यक्त गरे । तीमध्ये सैनिक स्कूल सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्रा सरु घर्ती मगर र सहजकर्ता नारायण सरले भनेका केही कुराहरु भने विर्सिएको छैन । सम्झनलाई स्टेसनरी पसलबाट खरिद गर्न सकिने डायरी र कलमको सहयोग पनि लिनु परेन । यो मान्छेलाई थाहै नदिएर यही मान्छेको मनको मध्यपेजमा मष्तिष्करुपी कलमले टिपिसकेको रहेछ उनीहरुको कथनलाई । सरुले भनेकी थिइन् – ‘मानिसहरु जसका कुनै सपनाहरु छैनन् उनीहरु दुनियाँमा बेखवर हराइरहेका हुन्छन् । मानिसहरु जसका केही सपनाहरु छन् उनीहरु दुनियामा आफ्नो पहिचान बनाएर स्थापित भइरहेका छन् ।’ उनले अझै अगाडि थपिन – ‘सपना भएकाहरु पनि दुई थरिका छन्, एकथरी आफू मात्र बन्ने सपना र अर्काथरी अरु पनि बन्ने सपना । त्यसैले समग्र समुन्नतिका लागि अरु पनि बन्ने सपना देख्नेहरु नै यो दुनियाँमा अब्बल मानिएका छन् । तिनीहरुलाई नै हामीले महामानव भन्ने गरेका छौं ।’ सरुले छोटोमा भनेका यी कुराहरु मलाई औधी मन प¥यो । त्यसैले पनि कलमले कापीमा टिपिरहनु परेन । कहिल्यै नमेटिने गरी स्वर्ण अक्षरले आफै लेखिए मनको डायरीमा ।


सरुले भनेझै केही मानिसहरु त सपना नै देख्दैनन् । जो सपना देख्छन् तिनीहरुमध्ये पनि अरु बन्ने भन्दा पनि आफै मात्र बन्ने सपना देख्नेहरु धेरै छन् । मलाई महशुस भयो कि यसैले हाम्रो देश समुन्नत हुन सकिरहेको छैन । चाइना लगायतका समुन्नतिको शिखर चुम्न सफल देशहरुमा सात वर्षमा एउटा पिछडिएको विकट गाउँ एउटा समुन्नत शहरमा रुपान्तर हुन्छ भने हाम्रो देशमा एउटा ब्यक्ति विशेषले आफ्नो व्यक्तिगत स्वार्थसिद्धिका लागि हुने नहुने खोचे थापेकै कारणले सरकारी योजनाहरु अलपत्र हुन्छन् र देश दशकौं पछि धकेलिन्छ । मानिसहरु शिक्षित त छन् तर ती शिक्षित भनाउँदाहरु आफूलाई इमान्दार होइन कि बाठो देखाउन उद्यत छन् । यस्तै आफूलाई बाठा देखाउन उद्यत मानिसहरुले अरुलाई बाटो देखाउने जिम्मेवारी पाएका छन् । त्यसैले त देश टाठाबाठा ब्यक्ति विशेषका सपनाहरु सजाउने कार्यमा लागेको त देखिन्छ तर देशका सपनाहरु भने रसातलतिर भासिदै गएको प्रतीत हुन्छ । शासन पद्धति जे जस्तो भए पनि शासन गर्ने पवृत्ति र परिवेशमा कुनै परिवर्तन नभए पछि राणाशासन देखि संघीय गणतन्त्रसम्मको हाम्रो देशको विकासको गति कछुवाको गति भन्दा फरक हुन सकिरहेको छैन ।


सरुले इङ्गित गरेका आफूमात्र बन्ने सपना देख्ने मानिसहरुको दोहोलो काढ्दै प्राविधिक र गुणस्तरीय शिक्षाका अभियन्ता एवम् उक्त युवा भेला कार्यक्रमका सहजकर्ता नारायण सिग्देलले परिवर्तन आफैबाट  सुरु गर्नुपर्ने कुरालाई अघि सारे । उनले आफूलाई प्रेरित गरेको गिट्टी कुट्ने मानिसको घटनालाई यसरी सुनाए – तीनजना गिट्टी कुटिरहेका व्यक्तिलाई यो के गरिरहेको भनी सोध्दा पहिलोले ‘तेरो आँखा छैन ? के गरिरहेको छु देखिरहेको छैनस ? आफूलाई कस्तो तनाव छ दिमाग खराव नगर त ?’ भनेर झर्कदै जवाफ दिन्छ । दोश्रोले ‘के गर्नु हजूर, जसोतसो जिन्दगी धान्नका लागि गिट्टी कुटिरहेको छु । अरु राम्रो, सजिलो र मनग्गे आर्थिक लाभको काम गर्ने मेरो तक्दीरमा नभएपछि मर्नुभन्दा बौलाउन निको भने झै यही काम गरेर गुजारा गरिरहेको छु’ भन्छ । यसैगरी तेश्रोले ‘गिट्टी कुटिरहेको छु । मैले कुटेको गिट्टीबाट मन्दिर निर्माण भइरहेको छ र गिट्टी कुटेवापत पैसा पनि कमाइरहेको छु । दुइटै हातमा लड्डू भने झै पूण्य र पैसा एकैसाथ प्राप्त गर्ने सौभाग्य पाइरहेको छु’ भन्छ । तत्पश्चात नारायण सर भन्छन्–‘तीनैजनाले गर्ने काम एउटै भए पनि तेश्रो ब्यक्तिले आफ्नो सकारात्मक सोचको कारण खुशी र सन्तुष्ठ जीवन बाचिरहेको छ । मैले पनि गिट्टी कुट्नेमध्ये तेश्रो ब्यक्तिलाई गुरु मानेर काम गरिरहेको छु ।’


नारायण सिग्देल सर जनज्योति मावि बड्डीचौरका प्रधानाध्यापक हुन् । उनले नेपालमा पनि विद्यार्थीहरुको अध्ययन र आयआर्जनको कार्यलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने सत्यलाई स्थापित गरेर देखाएका छन् । शिक्षा कुरा गरेर खानलाई होइन कि काम गरेर खानलाई हुनुपर्छ भन्ने मान्यतालाई मूर्तरुप दिने काम आफ्नै विद्यालयबाट आरम्भ गरेका छन् । उनी ‘मैले भनेको कुरा गर तर गरेको काम भने नगर’ भन्ने शिक्षक होइनन् । उनी आफू नबल्ने तर अरुलाई भने बाल्न खोज्ने शिक्षक पनि होइनन् । उनी आफूले नसिक्ने तर अरुलाई सिकाउन खोज्ने शिक्षक पनि होइनन् । उनले अरुलाई जे भनिरहेका छन् त्यो काम पहिले आफूले गरेर देखाएका छन् । त्यसैले मानिसहरु उनका कुरा सुन्छन । यूरासिया रेयुकाइले आयोजना गरेको युवा भेलामा उपस्थिति युवाहरुले पनि उनका कुरा ध्यान दिएर सुनें । सुन्नेहरुमध्ये धेरैले आफूलाई आत्मनिर्भर बनाउने प्रतिबद्धतासमेत सवैका सामू सार्वजनिक गरे । हाम्रा किशोरकिशोरी र युवाहरुले धेरै कुरा गर्न सक्छन । मात्र उनीहरुलाई उत्साह र हौसला दिने मानिसहरुको जरुरत छ । मलाई लाग्छ त्यो भूमिकामा समयले अब नारायण सिग्देललाई उभ्याएको छ ।


एउटा खराव बाद्ययन्त्र असल कलाकारको हातमा प¥यो भने राम्रोसँग बज्न थाल्छ रे । त्यस्तै भएको छ सिग्देल सरको विद्यालय पनि । उनी त्यो विद्यालयमा प्र.अ. भएर काम गरेको २७ वर्ष भएछ । उनी सुरुमा त्यो विद्यालयमा प्र.अ.को जिम्मेवारीमा आउदा त्यो विद्यालय कक्षा ७ सम्म थियो । शिक्षकहरुले पन्ध्र महिनादेखि तलव खान नपाएको अवस्था थियो । मानिसहरुले विद्यालयप्रति फर्केर पनि हेर्दैनथे । तर आज स्थितिले कोल्टे फेरेको छ । पन्ध्र महिने र तीन वर्षे कृषि र भेटनरीका विद्यार्थीहरु गरी जम्मा तीनसय भन्दा बढि विद्यार्थीहरु प्राविधिक शिक्षा तर्फमात्र अध्ययनरत छन् । उनीहरुबाट मात्रै वार्षिक दुई करोड भन्दा बढि शुल्क उठ्छ । विद्यालयको आफ्नै बैङ्क छ । अभिभावकहरु विद्यालयप्रति सकारात्मक छन् । विद्यालयकै अगुवाइमा टोलटोलमा टोल शिक्षा समितिहरु गठन गरेर अभिभावक र बालबालिकाको चेतना र शिक्षाको उत्थानको लागि काम भइरहेको छ । यो उत्साह र सफलता कसरी प्राप्त भयो भनेर कुरा गर्दा सिग्देल सरले फेरि दोहो¥याछन्– ‘मलाई माथि भनिएकै तेश्रो थरीको गिट्टी कुट्ने मानिसको जस्तै जीवन विताउन मन लाग्यो, त्यसैले .. ।’


रेयुकाइले आयोजना गरेको युवा भेलामै सहजीकरणको क्रममा सिग्देल सरले भने – ‘तपाइहरुमध्ये कसैले हाम्रो विद्यालयले प्रदान गर्ने प्राविधिक शिक्षा अध्ययन गर्न मन छ भने आउनुस, स्वागत छ । तर यसमा यौटा शर्त छ, तपाइसँग सरकारले तोकेको न्यूनतम बाञ्छनीय योग्यता र हाम्रो विद्यालयले तोकेको अध्ययन गर्दा गर्दै आयआर्जन गरेर आत्मनिर्भर हुने साहस भने हुनुपर्दछ । तपाईले काम गर्न सक्नुभयो भने अध्ययनका लागि आवश्यक पर्ने रकम त कमाउनु हुन्छ नै त्यसका साथसाथै घरमा पनि पैसा पठाउने गरी वातावरण मिलाउने काम विद्यालयले गर्दछ ।’ उनका कुरा सुनेपछि हामीले वर्षौंदेखि खोजी गरेको गरिखाने शिक्षा भनेको यही रहेछ भन्ने लाग्यो र हो पनि । यो पङ्तिकार त्यो विद्यालयमा आफै गएर पनि धेरै कुरा देखेको छ । त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले नै माछापालन, बङ्गुरपालन, कुखुरापालन, बाख्रापालन, तरकारी खेती आदि गरिरहेका छन् र पूँजी विद्यालयले उपलब्ध गराएको छ । ती विद्यार्थीहरुलाई सोध्दा उनीहरु भन्छन् – ‘हामी विदेश जाँदैनौं । विदेशभन्दा राम्रो हामी हाम्रो देशलाई नै बनाउछौं ।’


साँच्ची हाम्रो देशको शिक्षा गजवको रहेछ । सार्वजनिक शिक्षा लिएकाहरु बेरोजगार भएर हुने नहुने अनुत्पादक काम गरेर हिड्दा रहेछन् । निजीस्तरबाट शिक्षा लिएकाहरु बोइङ चढेर विदेशतिर उड्दा रहेछन् । हाम्रो निम्ति दुइटै शिक्षा काम लागेनन् । हामीले दिएको शिक्षा त हाम्रो निम्ति बादरको पुच्छर लौरो न हतियार जस्तो पो भएको रहेछ । अर्कोतर्फ एउटा ब्यक्ति अध्ययन गर्ने क्रममा ब्याचलर र डिग्री पास गर्दागर्दै बाइस चौविस वर्षको हुँदोरहेछ । बाइसचौविस वर्षको एउटा युवाले अर्कैको खुट्टामा उभिएर जीवन विताउने हो भने शिक्षाले गतिलो काम ग¥यो जस्तो लागेन मलाई । धेरै देशहरुमा अठार वर्ष पुगेपछि आफ्नो खुट्टामा आफै उभिने गरी युवाहरुले आफूलाई तयार बनाउछन् र आमाबाबुको बोझ बन्दैनन् उनीहरु । हाम्रो देशमा भने युवाहरु आफू मात्र होइन उनीहरुका पत्नी र सन्तानहरु समेत अरुकै भरमा बाँच्नु पर्ने तीतो वास्तविकता हाम्रो सामू छ । त्यसैले अव हामीले दिने शिक्षाको बारेमा सोच्नु जरुरी छ । सिग्देल सरको विद्यालयले जस्तै अरु विद्यालयहरुले पनि श्रमप्रति श्रद्धाभाव राख्दै आयआर्जन तर्फ उन्मुख विद्यार्थीहरु उत्पादन गर्न पनि त्यत्तिकै जरुरी छ ।


शिक्षालाई गुणस्तरीय र कामयावी बनाउने हो भने सरुले ब्याख्या गरे झै देशमा गतिला सपना देख्नेहरुको खाँचो छ । सपना आफ्नो मात्र होइन कि सपना सम्पूर्णका निम्ति देख्ने मानिसहरुको खाँचो छ । हाम्रा कतिपय अगुवाहरु जति माथि पुगे पनि गिद्धका जस्तै सपना देख्छन् तल हेर्दा सिनो मात्रै देख्ने । अर्थात जति ठूलो ओहदामा पुगेपनि आफ्ना नजीककालाई मात्र देख्ने । त्यसैले पनि यस्ता अगुवाहरुको नजीकको हुनका लागि चाकरी र चाप्लुसीको भाषा प्रयोग गर्ने मामलामा हातमा सीप र मष्तिष्कमा बृहत सपना बोकेका मानिसहरु पछाडि परेका छन् भने त्यसको विपरितका मानिसहरु अग्रपङितमा छन् । फाइदा र लाभ पनि तिनै चाकरी र चाप्लुसी गर्नेहरुले लिइरहेका छन् । हाम्रो देशको समुन्नतिको बाधक नै यही संस्कार र ब्यक्तिलाई श्रमबाट अलग गरेर बेरोजगार उत्पादन गर्ने शिक्षा भएको छ । यसप्रकारको अनुत्पादक संस्कार र शिक्षालाई कायापलट गरेर उत्पादनमुलक संस्कार र शिक्षाको विकास र विस्तारका लागि देशमा नारायण सिग्देल सरले जस्तै सुरु गरेको गरिखाने शिक्षाको आवश्यकता छ र सरुले ब्याख्या गरे जस्तै बृहत सपना देख्ने मानिसहरुको खाँचो छ । सवैलाई चेतना भया ।

 

jbshah072@gmail.com

मिति २०७५ साल साउन १७ गते विहीबार

Comments: