२०७६ साउन ३२ गते

पाठशालामा प्रवृत्ति र प्रेरणाको प्रसङ्ग


जीतबहादुर शाह


शहर नजीकै रहेको एउटा टोलको आधारभूत विद्यालय । एकजना शिक्षक कक्षाकोठामा गएर शिक्षण सिकाइ क्रियाकलाप सुरु गर्छन । सिक्ने सिकाउने पाठको चर्चा गरिन्छ । आवश्यकता अनुसार सेतोपाटीको प्रयोग पनि गरिन्छ । शिक्षकको तर्फबाट शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित बनाउने प्रयास गरिन्छ । तथापि सोचे अनुसार कक्षाका क्रियाकलापहरु विद्यार्थी केन्द्रित हुन सक्दैनन् । यसको एउटा प्रमुख कारण विद्यार्थीहरुको शिक्षण सिकाइप्रतिको रुचिको अभाव पनि हो भन्ने शिक्षकको ठहर छ । यस्तो परिवेशमा शिक्षकले चाहेर वा नचाहेर पनि शिक्षक केन्द्रित विधि नै प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलापहरु सम्पन्न गर्छन । यसले गर्दा समग्रमा कक्षा जीवन्त देखिदैन । शिक्षक र विद्यार्थीको बीचमा सामिप्यताको अभाव देखिन्छ । त्यस विद्यालयका प्रायजसो शिक्षकहरुले सञ्चालन गर्ने कक्षाहरु यही हविगतबाट गुज्रने गर्दछन् । सिकाइउपलब्धिमा पनि भने जति फट्को मार्न बाँकी छ । तथापि विद्यालयका अधिकांश शिक्षकहरुको यसमा त्यति चिन्ता र चासो देखिदैन जति चिन्ता र चासो प्रधानाध्यापकको देखिन्छ ।


उक्त विद्यालयका प्रधानाध्यापकको सवै कक्षाहरुमा अध्यापन गर्नका लागि विषय नतोकिएको भए पनि कुनै शिक्षक विदामा बसेको अवस्था वा अन्य कुनै अवसर जोडेर प्रधानाध्यापक कक्षाकोठामा समय मिलाएर जानुहुन्छ । प्रधानाध्यापक कक्षाकोठामा जाँदा विद्यार्थीहरुको अनुहारमा नजाँनिदो तरिकाले खुशीका धर्साहरु देखिन थाल्छन् । प्रधानाध्यापकको उनीहरुसँग कुराकानी गर्ने शैली अरु शिक्षकको भन्दा फरक र जीवन्त हुन्छ । सर्वप्रथम भ्याएसम्म विद्यार्थीहरुलाई ब्यक्तिगत रुपमा हालखवरहरु बुझेर कक्षालाई सान्दर्भिक बनाउने गर्नुहुन्छ प्रधानाध्यापक । कतिपय कक्षामा प्रधानाध्यापकले तिम्रो घरको हालखवर के छ ? खाना के खायौ ? टिफिन ल्याएर आएका छौं कि छैनौ ? आदि विषयमा भलाकुसारी गर्दा अधिकांश विद्यार्थीले दिने जवाफहरुले धेरै पटक प्रधानाध्यापकलाई समेत मर्माहत बनाउने गर्दछ । उनीहरुमध्ये धेरैले त विहानको खाना समेत नखाएर भोकै आएको बताउछन् । कारणमा कतिपयले घरमा खाना पकाउने मानिस विहानै काममा गएको भन्छन् त कतिपयले घरमा पकाउनका लागि केही नभएको पनि बताउछन् । यसरी आउने विद्यार्थीहरुका जवाफले कतिपय दिनका कक्षाहरुबाट त प्रधानाध्यापकले आँशु पुछ्दै बाहिरिनु पर्ने अवस्थाको समेत सिर्जना हुन्छ ।


प्रधानाध्यापकसँग विद्यार्थीहरुका अभिभावकहरुको मोबाइल नम्बर छ । प्रधानाध्यापकले अफिसमा आएपछि अभिभावकलाई फोन गरेर विद्यालयमा बोलाउनु हुन्छ । कतिपयसँग फोनमै तपाईको बच्चाले विहान खाना नखाएर आएको छ भन्दा अभिभावकहरु नाजवाफ हुन्छन् । विद्यालयमा बोलाएर आएका कतिपय अभिभावकसँग प्रधानाध्यापकले गम्भीर रुपमा बहस चलाउनु हुन्छ । ‘तपाईको भूमिका छोराछोरी जन्माइदिने मात्रै हो कि उनीहरुको भविष्य पनि बनाइदिने हो ? तपाईको बच्चा विहान खाना नखाएर विद्यालयमा आउदा तपाईको मन दुख्छ कि दुख्दैन ? तपाईको बच्चा प्रतिको ब्यवहार यस्तै हुने हो भने भोलि तपाइको बच्चाको भविष्य कस्तो होला भन्ने विषयमा कहिले घोत्लिनु भएको छ ? बच्चाको भविष्य विग्रियो भने तपाई जीवनमा कसरी खुशी हुँला भन्ने सोच्नु भएको छ ? अहिले बच्चालाई यस्तो गरेपछि भोली उबाट तपाईले असल कुराको आशा गर्ने ठाउ रहन्छ ?’ भेट भएका अभिभावकसँग प्रधानाध्यापकको यस्तै बहस चल्छ । बहस चल्दा प्रधानाध्यापकलाई विद्यार्थीहरु उनीहरुका अभिभावकका सन्तान नभइ आफ्ना सन्तानहरु हुन कि झै महसुस भइरहेको हुन्छ ।


प्रधानाध्यापकस्वयम्सँग र उनको बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग कुरा गर्दा बोध हुन्छ कतिपय दिन त प्रधानाध्यापकले आफैले खर्च गरेर विद्यार्थीहरुलाई खाजा खुवाएको र विरामी हुँदा औषधी उपचार गरेका दृष्टान्तहरु पनि रहेछन् । विद्यार्थीहरुका लुगा र पोशाक नहुँदा प्र.अ.ले कहिले विद्यालयको कोषबाट त कहिले आफ्नै खल्तीबाट पनि ब्यवस्थापन गरेर पोशाक दिएका परिवेशहरु पनि रहेछन् । बालबालिका र विशेष गरी आफ्ना विद्यार्थीहरुको दुःख र पीडामा आफूलाई पनि पिडाबोध हुने स्वभाव भएका कारण प्रधानाध्यापकलाई बालबालिकाका निम्ति सहयोगका हातहरु अघि बढाउन प्रेरणा मिलिरहेको रहेछ । शिक्षक भएर कक्षाकोठामा जानेहरु सवै उक्त विद्यालयका प्रधानाध्यापकजस्ता विद्यार्थीहरुको सुखदुःखलाई आफ्नै सुखदुख सम्झिने किसिमका नहँुदा रहेछन् । प्रधानाध्यापकको स्वभावलाई अध्ययन गर्दा यो पङ्तिकारलाई महसुस भएको छ उक्त प्रधानाध्यापकको झै बालबालिकाप्रति यस प्रकारको समर्पणभाव हुनका लागि भित्रैदेखि आउनु पर्दो रहेछ, अन्तर्दृष्टीमा बालबालिका र मानव सेवाका निम्ति स्थान हुनु पर्दोरहेछ । यसले मानिसलाई अरु कामका साथै शिक्षण पेशाप्रति समर्पित र अभिप्रेरित हुनका लागि समेत सहयोग पुग्दोरहेछ ।


सन्दर्भ ग्रन्थहरुको अध्ययन गर्दा अवगत हुन्छ मानिसलाई काममा मन, बचन र कर्मले भित्रैदेखि डो¥याउनका लागि अभिप्रेरणाले ठूलो भूमिका निर्वाह गर्दछ । अभिप्रेरणालाई ब्यक्तिको प्रबृत्ति (Attitude) र परिवेश (Situation) ले असर गर्दछ । अर्थात अभिप्रेरणा भनेको प्रबृत्ति र परिवेशको समग्र नतीजा हो । जस्तै, कुनै सेकुवा कर्नरको नजीक पुग्दा त्यहाँ एकप्रकारको गन्ध आउने गर्दछ । त्यो गन्ध मांसहारी ब्यक्तिको नाकसम्म पुग्दा सुगन्धमा परिणत हुन्छ भने शाकाहारी व्यक्तिको नाकमा पुग्दा दुर्गन्धमा परिणत हुन्छ । सेकुवा कर्नर परिवेश हो भने शाकाहारी वा मांसहारी हुनु भनेको प्रवृत्ति हो । वालबालिका र विद्यार्थी पनि कसैका निम्ति सुगन्धका केन्द्र हुन्छन भने कसैका निम्ति दुर्गन्धका कारण । शाकाहारीलाई सेकुवा कर्नर देख्ने वित्तिकै दुर्गन्ध महसुस भए जस्तै कतिपयको प्रवृत्ति विद्यार्थी र बालबालिका भन्ने वित्तिकै उकउकी लाग्ने किसिमको हुन्छ । जीवन जिउने क्रममा त्यस्ता ब्यक्तिहरु बाध्यता पूर्वक शिक्षण पेशामा प्रवेश गरे भने उनीहरुबाट गतिलो काम हुनु मृगतृष्णा सरह हुन्छ । कतिपय शिक्षकका निम्ति शिक्षण पेशा र बालबालिका पनि त्यस्तै त्यस्तै निल्नु र ओकल्नुका विषयवस्तु भएका छन् ।


अभिप्रेरणालाई ब्यक्तिको प्रवृत्ति र परिवेशले असर पारे झै ब्यक्तिको कार्यसम्पादनको स्तरलाई उसको दक्षता र कामप्रतिको प्रेरणाले प्रभाव पार्दछ । दक्षता छ तर कामप्रतिको अभिप्रेरणा छैन भने पनि कार्यसम्पादनको स्तर राम्रो हुन सक्दैन र त्यसरी नै कामप्रतिको अभिप्रेरणा छ तर दक्षता छैन भने पनि कार्यसम्पादनको स्तर राम्रो हुन सक्दैन । दक्षता र अभिप्रेरणा दुवै भएका शिक्षक एवम् कर्मचारीहरु कुनै पनि विद्यालय वा संस्थाका अमूल्य निधि हुन । उनीहरुको उपस्थितिले विद्यालय वा संस्थाले अग्रगति लिने गर्दछ । काम गर्ने मान्छेहरु राम्रा तर उनीहरुले काम गर्ने संस्था भने नराम्रो कहिल्यै पनि हुदैन । शिक्षकहरु राम्रा तर विद्यालय नराम्रो पनि कहिल्यै हुदैन । शिक्षकहरुको मामलामा त शिक्षाविदहरुले कुनै पनि देशको शैक्षिक पद्धति त्यो देशका शिक्षकहरु भन्दा राम्रो हुन सक्दैन भनेर शिक्षकको महत्वलाई स्वीकार गरेको पाइन्छ । धेरै देशमा गरिएका अध्ययन र अनुसन्धानहरुले समेत शिक्षकलाई शिक्षा प्रणालीको केन्द्रविन्दुमा राखेर चर्चा गरिएको अवस्था देखिन्छ । यसको एउटै कारण हो, पेशामा समर्पिण, अभिप्रेरित र रमाइरहेको शिक्षकले मात्रै अध्ययनमा पनि समर्पित, अभिप्रेरित र रमाउने विद्यार्थी उत्पादन गर्न सक्छ ।


हाम्रो देशको सन्दर्भमा शिक्षकहरु क्षमताबान पनि छन्, उनीहरुसँग बाञ्छनीय योग्यता पनि छ र आवश्यकता अनुसार तालिम पनि प्राप्त गरेका छन् तथापि कक्षाकोठामा उनीहरुको कार्यसम्पादनको स्तर उठ्न सकेको छैन । यसको एउटै कारण पेशाप्रतिको उनीहरुको दक्षता त छ तर अभिप्रेरणा जति हुनु पर्ने हो त्यति हुन सकिरहेको छैन । माथि उल्लेख गरे झै अभिप्रेरणालाई पनि ब्यक्तिको प्रवृत्ति र परिवेशले असर पारिरहेको छ । कसैलाई प्रवृत्तिले असर पारेको छ भने कसैलाई परिवेशले । प्रवृत्ति राम्रा भएका शिक्षकहरुले जोरजुलुम गरेर पनि दुरावस्थाकोे विद्यालयलाई पनि राम्रो बनाउने प्रयास गरिरहेका छन माथि चर्चा गरिएको प्रधानाध्यापकले जस्तै । त्यस्ता प्रवृत्तिका शिक्षक एवम् प्रधानाध्यापकहरुलाई परिवेशले जति साथ दिनु पर्ने हो त्यति साथ दिइरहेको भने देखिदैन त्यो पनि माथि उल्लेख गरिएको प्रधानाध्यापकलाई जस्तै । त्यस्तै कतिपय कमसल प्रवृत्ति भएका शिक्षकहरुले राम्रा विद्यालय र प्रतिभावान विद्यार्थीहरुलाई पनि नकारात्मक नजरले हेर्दै उभो हुन नदिएकोे अवस्था पनि छ । समग्रमा परिवेश र प्रवृत्ति उस्तै उस्तै देखिए पनि प्रवृत्ति झनै शक्तिशाली देखिन्छ ।


ब्यक्तिको प्रवृत्ति भनेको महासागरमा देखिने हिउको पहाड जस्तै हुने गर्दछ । जसरी महासागरमा हिउको पहाड (Iceberg) भित्रभित्र ठूलो भए पनि देखिँदा सानो देखिन्छ, त्यसरी नै ब्यक्तिको प्रवृत्ति पनि आरम्भमा त्यत्ति धेरै देखिदैन तर जव उसको प्रवृत्तिले उपयुक्त परिवेश पाउछ, अनि त्यस्ता ब्यवहारहरु देखिन थाल्छन् । सज्जन भनेको मान्छे दुर्जनमा अनुवाद हुन्छ । त्यसैले प्रवृत्ति सवैभन्दा ठूलो कुरा हो । धेरै मुलुकहरुले प्रवृत्ति परीक्षण गर्ने सूचकहरु बनाएर शिक्षक लगायत अन्य कर्मचारीहरुको हकमा समेत लागू गर्ने पद्धतिको विकास गरिएको छ । आशा गरौं, हाम्रो देशमा पनि उच्चस्तरीय शिक्षा आयोगले सिफारिस गरे जस्तै शिक्षक हुनका लागि सम्बन्धित ब्यक्तिको अभिबृत्तिको परीक्षा लिने पद्धतिको विकास अव छिटै लागू गरिनेछ । यसबाट माथि उल्लेख गरिएका प्रधानाध्यापकजस्तै बालबालिका भन्ने वित्तिकै हुरुक्कै हुने ब्यक्तिहरुमात्रै शिक्षण पेशामा भित्रिने छन् । अर्को शब्दमा भन्नुपर्दा, आफू बलेर मात्र अरुलाई बाल्ने शिक्षकहरुबाट विद्यालय परिचालन हुनेछ । कक्षाकोठाहरु हसिला अनुहार र उत्साही मनहरुले भरिनेछन् । त्यसपछि त असल बुहारी घरमा प्रवेश गरेपछि विग्रेको घर पनि रातारात असल भए झै हाम्रा विद्यालयहरुले पनि राम्रो हुने यात्राको आरम्भ गर्नेछन्, सवैलाई चेतना भया ।

 

jbshah072@gmail.com

Comments: