रोल्पाको त्रिवेणी गाउँपालिकाका १२ विद्यालयमा  नर्सिङ सेवा  सुरु गरिएको छ । नेपाल सरकार र  स्थानीय सरकारको सहयोगमा गाउँपालिकाका ती विद्यालयले नसिङ सेवा  सुरु  गरेका हुन  । विद्यालय नर्सिङ सेवाका लागी  गाउँपालिकाले  खुल्ला प्रतिस्पर्धाको आधारमा १२  जना नर्स छनौट गरि सकेको  छ ।

यसरी नर्सिङ सेवा  उपलव्ध  गराउने विद्यालयहरुमा जनजागृती मावि जुगार, सरस्वती मावि काउलावोट जुगार,शिद्धरत्न मावि हान्जावाङ जुगार,सरस्वती मावि लिडदुङ वुढागाउँ,जनकल्याण मावि सिम्पानी वुढागाउँ र वीरेन्द्र मावि गाङ गैरीगाउ रहेका छन  । विद्यालय नर्सको सुविधा उपलव्ध  गराउने  गाउँपालिका भित्रका  अन्य विद्यालयहरुमा गोविन्द मावि गैरीगाउ,अरनिको मावि नुवागाउँ, शुक्र मावि झुमलुङ नुवागाउ,शिव मावि द्धारपानी  नुवागाउ, भगवती मावि दहवन नुवागाँउ र बालकल्याण मावि करेटी रहेको गाउाँपलिकाले जनाएको छ ।

नेपाल सरकारको  प्रचलित सेवा सुविधा पाउने गरि  नियुक्त नर्सहरुले गाउपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुमा सेवा दिने  छन् । ‘विद्यालयमा स्वास्थ्य  सेवाको काम  गर्ने गरि कार्यसम्पादन तोकिएको छ त्यसैका आधारमा काम गर्छन्’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमवहादुर केसीले भने ।

‘नियुक्ती लगत्तै विद्यालय बन्द भएका  कारण उनीहरु अझै कार्यक्षेत्र जान पाएका  छैनन्’ गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत केसीले भने । ‘कोरोनाका कारण विद्यालय वन्द  हुँदा उनीहरुलाई कोरोना हेल्थ डेस्कमा खटाइएको छ ।’

विद्यालय नर्सहरुको खर्च व्यवस्थापन नेपाल सरकारको ९० प्रतिशत र गाउपालिकाको १० प्रतिशत बजेटबाट गरिने भएको  केसीले जानकारी दिए ।

उनीहरुले आफु खटिएको विद्यालयमा नियमित चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामुलक कार्य गर्नेछन् । पोषणयुक्त  खानेकुराको महत्व बुझाउदै विद्यार्थीहरुलाई त्यस्ता खानाको प्रयोगमा जोड दिने काममा नर्सलाई जिम्मेवारी दिइने भएको छ । विद्यालयमा स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण भने स्वास्थ्य मन्त्रालयले व्यवस्था गर्ने जनाइएको छ  ।

विद्यालय स्वास्थ्यको सवै खाले सेवा र व्यवस्थापन नर्सहरुले गर्नेछन् । किशोरकिशोरीहरुको प्रजनन तथा यौन स्वास्थ्यका बारेमा सचेततना, महिनावारी व्यवस्थापन, हिंसाबाट बालबालिकालाई कसरी   वचाउने  भन्ने, सिप  हस्तान्तरणको जिम्मेवारी पनि नर्सको हुने बताइएको छ । विद्यालय खानेपानी तथा सरसफाई संचालन र व्यवस्थापन, विद्यालय स्तरबाटै जुकाको औषधी वितरण,  खोप कार्यक्रम र स्वास्थ्य शिक्षा संचालन गर्नेछन । विद्यालयमा प्राथमिक उपचार र  आवश्यकता अनुसारको स्वास्थ्य परिक्षणको जिम्मेवारी समेत दिइएको छ ।

विद्यार्थीहरुले  लामो समय विद्यालयमा व्यथित गर्दा उनीहरुको स्वास्थ्य  संवेदनशीलता पनि उत्तीकै ध्यान दिनुपर्ने विषय भएकाले सरकारले यस्तो कार्यक्रम ल्याएको हो । संघीय  सरकारले प्रदेश ५ को वाँके जिल्लामा पर्ने राप्ती  सोनारी गाँउपालिका र रोल्पाको त्रिवेणी गाउपालिकामा यस्तो कार्यक्रम सञ्चालन  गरेको छ  ।

रोल्पाका  २ वटा नमुना माविहरु  वालकल्याण नमुना  मावि लिवाङ र मावि मौलावोट राङ्कोटले यस पूर्व नै आन्तरिक  स्रोतवाट खर्च व्यवस्थापन गर्ने गरि विद्यालय नर्सिङ कार्यक्रम सुरु गरिसकेका  थिए ।

२०७७ बैशाख ३ गते १३:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्