२०७६ मंसिर ४ गते

प्रोजेक्टरमार्फत पढाउँदा विद्यार्थी नियमितता बढ्यो

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा पर्ने बढीमालिका माध्यामिक विद्यालयमा प्रोजेक्टरमार्फत  कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या तथा नियमितता बढेको छ । शिक्षकले कक्षामा आएर पढाएको भन्दा प्रोजेक्टरमार्फत भिडियो देखाएर पढाउन थालेपछि रास्कोट नगरपालिका आसपासका विद्यार्थीहरु नियमित विद्यालय आउनका साथै संख्या पनि बढेको हो ।


रास्कोट बढीमालिका माध्यमिक विद्यालयको कक्षा १ देखी ५ सम्म गत वर्ष जम्मा ४२ जना विद्यार्थीहरु रहेकोमा यो वर्ष प्रोजेक्टरमार्फत पढाई संचालन गर्दा २ सय ५० जना विद्यार्थी पुगेको शिक्षक प्रेम बहादुर शाहीले बताए । उनले गत वर्ष कक्षा १ देखी ५ कक्षासम्म जम्मा ४२ विद्यार्थी भएको विद्यालयमा यो वर्ष प्रोजेक्टरबाट पढाई सञ्चालन गर्दा कक्षा १ मा मात्र ५५ जना विद्यार्थी रहेको बताए । उनले भने, बत्ति नभएको समयमा सोलार पावरबाट बत्तिको व्यवस्था मिलाएर नियमित प्रोजेक्टर मार्फत पढाई संचालन गर्दा कक्षा १ मा अध्यायनरत बालबालिकाहरुको सिकाई स्तर कक्षा ५ बराबरको रहेको छ ।


विद्यालयले कक्षा १ देखी ८ कक्ष सम्मका गणित, बिज्ञान, अंग्रेजी वातावरण लगायतका बिषयहरु प्रोजेकटर मार्फत पढाई संचालन गर्दा विद्यार्थीहरुले उत्साहको साथ रमाई रमाई पढ्न थालेका छन् । विगतमा गणित, बिज्ञान, अंग्र्रेजी पढ्दा ध्यायन नदिने कमजोर विद्यार्थीहरुलाई अहिले प्रोजेक्टर मार्फत पढाउदा निकै जिज्ञाशु भएर सिक्न थालेका छन् । बढीमालिका माध्यामिक बिद्यालयका अंग्रेजी शिक्षक पुष्पराज बरालले सानासाना बालबालिकाहरुलाई शिक्षण सिकाई प्रति आकर्षित गर्न मिडास इकलाश अर्थात प्रोजेक्टर मार्फत गरिएको शिक्षण बहु उपयोगी भएको बताए । उनले भने, झण्डै २ लाखको लगानीमा सञ्चालन गरिएको इकलाशले विद्यालय नआउने बिद्यार्थीहरुलाई बिद्यालय ल्याउनुका साथै सिकाई स्तरमा पनि बृद्धि गर्न सहयोग गरेको छ ।


बढीमालिका माध्यामिक विद्यालयका सहायक प्रमूख प्रभु न्यौपानेले आफुहरुले बालबालिकाहरुको सिर्जनशीलताको अभिबृद्धिका साथै शिक्षण सिकाईलाई आधुनिक प्रविधिको प्रयोगबाट प्रभावकारी बनाउनका लागि संचालन गरिएको इकलाश निकै प्रभावकारी देखिएको बताए । उनले अहिले जताततै बालमैत्री विद्यालयको लागि विभिन्न अभियान थालिरहेका बेला यसले बालमैत्री विद्यालय र बालमैत्री शिक्षण सिकाई संचालन गर्न सहयोग पुगेको बताए । गोरखापत्रमा खबर छ ।

Comments: