२०७६ असोज ३० गते

ट्युसन र कोचिङमा विद्यार्थीको आकर्षण

विद्यालयमा भन्दा भीड

कञ्चनपुर । महेन्द्रनगरको मर्निङ ग्लोरी उच्चमाविमा अध्ययनरत अमृता कलौनी सोमबार स्कुल छुट्टी हुनेबित्तिकै नजिकैको ट्युसन सेन्टर पुगिन्। विद्यालयमा राम्रै पढाइ भए पनि अन्य साथी ट्युसन गएकाले उनलाई पनि जान मन लाग्यो। साथीहरू सबैजसो ट्युसन पढेकाले आफू पनि आएको उनले बताइन्। ‘स्कुलमा पढाइ त राम्रै छ,’ कलौनीले भनिन्, ‘सबैले ट्युसन बढेको देखेर हामी पनि आएका हौं।’

पछिल्ला वर्षमा विद्यार्थीको आकर्षण स्कुलभन्दा पनि ट्युसन र कोचिङ सेन्टरमा बढी छ। परीक्षा मिति नजिकिँदै गर्दा बजारमा बग्रेल्ती खुलेका ट्युसन सेन्टरका कारण विद्यार्थी स्कुलभन्दा यता केन्द्रित छन्। खासगरी माघ, फागुन र चैतमा यहाँका ट्युसन सेन्टरमा चाप निकै बढ्ने गर्छ। कतिपय सामुदायिक तथा निजी विद्यालयभन्दा यस्ता सेन्टरमा विद्यार्थी भीड बढी हुने गरेको देखिन्छ। एउटैमा दुईरअढाई सयसम्म आउने गर्छन्।

माध्यमिक तह र उच्चमाविका विद्यार्थीलाई विभिन्न प्याकेजमा सबै विषयसमेत पढाइने गरेको ट्युसनका सञ्चालक बताउँछन्। विषयअनुसार ४र५ महिनाको एकमुष्ठ रकम लिने गरेको पाइन्छ। यसले विपन्न अभिभावकमा दोहोरो भार परेको स्थानीय बताउँछन्। यहाँका नाम चलेका निजी तथा सरकारी विद्यालयका विद्यार्थीसमेत ट्युसनतिरै धाउने गरेको पाइन्छ।

महेन्द्रनगरमा करिब डेढ दर्जन ट्युसन सेन्टर शिक्षा कार्यालयको अनुमति लिएर चलाइएका छन्। तिनीहरूले मंसिरदेखि चैतसम्म तहअनुसार १ विषयको १ हजारदेखि १८ सय र ३ विषयको ३ हजार देखि ३५ सयसम्म लिने गरेको पाइन्छ। यसमा १ सयदेखि ५ सयसम्म भर्ना शुल्क पनि लिने गरेका छन्। मुख्य विषय गणित, अंग्रेजी, विज्ञान र लेखा पढाइ हुने ट्युसन सेन्टरका सञ्चालक बताउँछन्।

‘बिहान र साँझ गरी दुई सिफ्टमा ट्युसन पढाइन्छ,’ महेन्द्रनगरस्थित स्टडी जोन ट्युसन सेन्टरका सञ्चालक गौरव धामीले भने, ‘विद्यार्थीको आवश्यकताअनुसार विभिन्न विषयमा प्याकेज नै दिने गरेका छौं।’ विद्यार्थी ड्रेसमा स्कुल जानुअघि र बिदापछि ट्युसन सेन्टर पुग्छन्। कतिपयले स्कुलको जस्तै एसएलसी र इन्टरको प्याकेजअन्तर्गत आफ्नै ड्रेससमेत बनाएर विद्यार्थीलाई बिहान १० देखि ४ बजेसम्म पढाउने गरेको पाइन्छ।

दुई वर्षअघिसम्म जथाभावी खुलेका यस्ता संस्थाले मनपरि ढंगले शुल्क लिने र ड्ेरससमेत बनाएर स्कुलले जस्तै गरी पढाउने गरेका थिए। शिक्षा कार्यालयले अनुगमनसँगै दर्ता गराएर मात्रै ट्युसन पढाउन भनेपछि गत वर्षदेखि केही नियन्त्रण भएको हो। तर नियमित अनुगमन नहुँदा कतिपय दर्ताबिना मनपरि ढंगले सञ्चालनमा रहेका छन्। कतिपयले अंग्रेजी र कोरियन भाषासँगै विभिन्न किसिमका तालिम तथा ट्युसन सँगसँगै पढाइरहेका छन्। साना कोठाभित्र विद्यार्थी कोचेर पढाइ भइरहे पनि सम्बन्धित निकाय शिक्षा कार्यालय मौन देखिन्छ।

‘सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक र स्रोत व्यक्तिलाई नै नियमित अनुगमन गरेर प्रतिवेदन बुझाउन भनेका छौं,’ जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले भने, ‘तर अहिले कति ट्युसन सेन्टर सञ्चालनमा छन् र तिनले कुन किसिमले पढाइरहेका छन् भन्ने बुझिएको छैन।’ उनले ट्युसन पढाइ भइरहेको विद्यालय समयमै हो वा विद्यालय समयभन्दा बाहिर हो भन्ने विषयमा आवश्यक अनुगमन गरिने बताए। कान्तिपुर दैनिकमा खबर छ ।

Comments: