२०७६ मंसिर ५ गते

किताब चर्चा : यात्रा, सगुनका साइपाटा र ‘नमेटिएका चित्रहरू’

पेशल आचार्य

 


 


क्रिष्टोफर कोलम्बसले समयको अनकण्टारमय दुरूहतामाझ हस्तक्षेपकारी यात्रा श्रीगणेश नगरेका भए उसबेला अमेरिका पत्तै लाग्दैनथ्यो । हु एन् साङ्ले आफ्ना ती प्रथम पाइलालाई चरैवेती चरैवेती नगरेका भए संसार घुमक्कडमा उनको नाम दर्ज हुने नै थिएन ।  एडमण्ड हिलारीले आफ्नो जीवनको आरोहअवरोधमा सगरमाथाको माथ चुम्ने धृष्टता नगरेका हुन् त ती आज हिमाल दिग्विजयका सन्दर्भमा अचिनारू पात्र भएर रहन जान्थे । भास्को डिगामा हुन् चाहे कलाका क्रोचे यी सबै उत्भट् प्रतिभाहरू यात्रालाई पूजनोत्सव मान्छन् र जीवनका पहेलीहरूमा यात्राका चरू होमेर आफू आनन्दमा लीन हुनैका लागि अहोरात्र यात्रा गर्दथे । यो त भयो इतिहासको स्वर्णीम् फेहरिस्त ।


यात्रा प्रथमत् त्यस्तो दुस्साहसपूर्ण कठिन कार्य हो जसले मानिसको अन्तर्हृदयमा कुत्कुति लागेर जमेका उत्साहहरूलाई गोडमेल गर्न सक्छ । निजी प्रयासमा आफ्नी आमाको सारीको सप्कोमा रहेको एकसय रुपैयाँबाट साइकल यात्रा गरेका विश्व साइकल यात्री पुष्कर शाहले अदम्य साहसबीच यात्रा जारी नराखेका भए सायद् उनले एघार वर्षमा विश्वका एकसय नब्बेभन्दा बढी राष्ट्र भ्रमण गर्ने थिएनन् । पुष्करको यात्रामा आमाले दिएको एकसयको नोट, साथीभाइले किनीदिएको एउटा माउन्टेन बाइक र आफ्ना सँगाती र दयाँलीहरुको मायाबाहेक अरू केही थिएन । भ्रमण समापनपश्चात् उनले दिएको एउटा अन्तर्वार्तामा भनेथे –‘यो संसार यति विशाल र बुझ्नलायक छ कि एक जुनी त के सयौँ जुनी पाए पनि त्यो सम्भव छैन ।’ उनीसँग विश्व घुम्न सुरू गर्दा अलिकति रोमाञ्च, अलिकति भयाश्रित डर र यात्राको उत्कण्ठा थियो तर भ्रमण समापनपश्चात् उनीसँग विश्वभ्रमण गरेका विशाल अनुभूतिहरू दिमागमा चाङ्का चाङ् खप्टिएका थिए । जसलाई उनकै शब्द सापट लिएर भन्ने हो भने उनी अब ‘पुस्तकाकार रूपमा सजाएर सार्वजनीकीकरण गर्न’ चाहन्छन् ।


यहाँ यो प्रसङ्ग किन पनि झिकिएको हो भने हालसालै नेपाली बजारमा एउटा नमेटिएका चित्रहरू नामक नियात्राको पुस्तक आएको छ । त्यसले अहिले निकै गतिलो चर्चा र चासो जन्माएको छ । ‘जिन्दगी र यात्रालाई अमिट चित्रहरूमा रूपान्तरण गर्नेहरूमा’ भन्ने आत्मिक भाव झल्कने शाब्दिक समर्पणको पुनीत अभिमत राख्दै आरम्भ भएको पुस्तकको नाम नै नमेटिएका चित्रहरू हो ।


यो नियात्राको पुस्तक हो जसले युरोप, खाडी राष्ट्रहरू साथै भारत र पाकिस्तानको भ्रमणपश्चात् विभिन्न २४ वटा शीर्षकीय विषयमा बाँधिएर पुस्तक आकारमा सजिने सौभाग्य पाएका छन् । त्यहाँ तिनीहरूलाई त्यसरी शब्द कलामा सजाउने काम गरेका छन् –नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ ले ।


धरातलीय हिसाबले भन्दा नेपाली यात्रा निबन्धको पुर्खा नियात्राका रूपमा अज्ञात लेखकद्वारा लेखिएको ‘राजा गगनीराजको यात्रा’ नै हालसम्मको सर्वप्राचीन यात्रा संस्मरणात्मक कृति मानिन्छ । त्यसपछि नेपाली यात्रा साहित्यमा राणा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्रापछि प्रकाशित भएको ‘जङ्गबहादुरको बेलायत यात्रा’ (१९०९) जस्तो कृतिको जगमा यात्रा संस्मरण उभिएको पाइन्छ । त्यसपछि प्राचीन र माध्यमिक कालका यात्रा संस्मरणका कृतिले नेपाली निबन्धमा आफ्नो इतिहास दर्ज गर्ने काम मात्रै गरे । खासै दरिलो उपस्थिति राख्न सकेको पाइँदैनभन्दा गल्ती अवस्य हुँदैन ।

  यात्रा संस्मरणको स्वाद् र रमझममय कृति निस्कन नेपाली यात्रा साहित्यलाई निकै लामो प्रशववेदना कुर्नु प¥यो । यद्यपि नेपाली निबन्धको गति भने बीचबीचमा उदाएका स्रष्टा र प्रकाशित भएका पत्रपत्रिकाले निकै गम्भीर र चोटिलो रूपमा उठाएका छन् । त्यही मेसोमा नेपाली झर्रोवादी आन्दोलनका प्रणेताका रूपमा सुपरिचित डा.तारानाथ शर्माको २०२६ सालमा प्रकाशित र मदन पुरस्कारद्वारा सम्मानित कृति बेलायततिर बरालिँदाले नेपाली यात्रा साहित्यमा पहिलोपल्ट लज्जाको घुम्टो निकालेर विदेश भ्रमणका तीतामीठा प्रसङ्ग र पहेलीलाई आकर्षक तथा सुरूचिपूर्ण शैलीमा यथातथ्यको वर्णन गर्दै झर्रा शब्दका पर्रा छुटाएर विदेशका अनुल्लिखित पाटाहरूका विविध जानकारी दिएका छन् । त्यो सन्दर्भलाई प्यारिस मुस्कुराउँछ रङैरङमा र राष्ट्रियताको ज्योति हुलाकघर जस्ता कालजयी नियात्राहरूले अझ त्यस कित्तामा झरिलो उपस्थिति जनाइरहेका छन् । यद्यपि शर्माको लेखनी हिजोआज धिमा भैसके पनि यस मानेमा डा. शर्माप्रति नेपाली यात्रा संस्मरणको इतिहास अनुगृहित भने हुनै पर्छ ।


त्यही परम्परामा मिहीन वस्तुवर्णनको शैली अपनाएर चित्रमय घटनामा आधारित भई घनश्याम राजकर्णिकार पनि आफ्ना दर्जनौं यात्रा साहित्यका कृतिहरूमा छरपष्टिएका छन् । उनीप्रति नेपाली नियात्राले सुभभाव प्रकट गरेको छ । अब लगभग त्यो उनको योगदान पनि इतिहास भैसक्न लाग्यो । नमन छ –राजकर्णिकारलाई पनि ।     


नेपाली निबन्धको आलोकित इतिहास अब लगभग दुईसय चालीस वर्षको भैसकेको छ । सं. १८३१ मा नेपाल राज्यका एकीकरण कर्ता पृथ्वीनारायण शाहले आफ्ना छोरानाति तथा भाइ भारदारहरूलाई राखेर अघि सारेको दिव्योपदेशलाई नेपाली निबन्धको आधारशीला मान्ने हो भने यो विधा साहित्यको कान्छो विधा भन्न पनि अब असजिलो मान्नु पर्ने स्थिति छ ।

 नेपाली निबन्धको विकासक्रम केलाउँदा हामी नेपाली गद्य लेखनको परम्परामा पुग्नुपर्छ । पृथ्वीनारायण शाहको दिव्योपदेशबाट थालिएको भनिएको नेपाली निबन्धको विकासक्रम वर्तमान समयसम्म आइपुगेको छ । अतः नेपाली निबन्धको विकासक्रमलाई मोटामोटी हिसाबमा तीन चरणमा राखेर अध्ययन गर्न सकिन्छ । प्राथमिक काल (१८३१ देखि १९५७ सम्म), माध्यमिक काल (१९५८ देखि १९९० सम्म) र आधुनिक काल (१९९१ देखि हालसम्म) को यो कालखण्डीय अध्ययनलाई मध्यनजर गर्ने हो भने आधुनिक कालमा आएर नेपाली यात्रा निबन्धको गति प्रवाहमान् रूपमा गतिमान भएको पाइन्छ । यसमा कसैको विमत्ति होओइन् ।  


अहिलेको चर्चा र चासो नमेटिएका चित्रहरू शीर्षकको यात्रा निबन्धको हो । जो नेपालकै निजी क्षेत्रको पुरानो र चर्चित प्रकाशकका रूपमा रहेको रत्न पुस्तक भण्डारबाट २०७० असारमा पहिलोपल्ट नेपाली पाठकहरूमाझ कलेबरीय हिसाबमा पनि निकै सजधजका साथमा देखिएको छ । समकालीन नेपाली साहित्यमा सालिन र ओजपूर्ण लेखनका माध्यमबाट चिरपरिचित लेखक दामोदर पुडासैनी ‘किशोर’ (२०१९ जेष्ठ, १८ जितपुरफेदी, काठमाडौँ) चर्चित बहुमुखी साहित्यकार हुन् । पुडासैनी पेसाले महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक हुन् । कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा सिद्धहस्त पुडासैनीका यसअघि ‘आफन्तका अनुहारहरू’, ‘आँखाको खोजीमा’, ‘आकारको खोजीमा’, ‘आलोकित आयाम’, र ‘समयको सहीछाप’ जस्ता पाँचवटा कविता सङ्ग्रहहरू प्रकाशनमा आएका छन् ।


त्यसैगरी २०६५ सालमा प्रकाशित उनको नियात्रा सङ्ग्रह —‘यात्राका प्रेमिल तरङ्गहरू’ ले नेपाली यात्रा साहित्यमा एकप्रकारको रहस्यमयता साथै मिठासपूर्ण, विविध सूक्ष्म जानकारी लक्षित र शालीन प्रवृत्तिको आरम्भ गरेको मानिन्छ । निजी क्षेत्रको जेठो प्रकाशन रत्न पुस्तक भण्डारले उनको हालसालैजसो प्रकाशनमा ल्याएको अर्को नियात्रा सङ्ग्रह —‘नमेटिएका चित्रहरू’ ले नेपाली नियात्रा लेखनमा बिल्कुलै नूतन मिठास र नौल्याइँपनलाई स्वागत्सतकार गरेर नेपालीपनमा भित्र्याएको छ ।


उनी यात्रानिबन्ध लेखनका माध्यमबाट दिनानुदिन चर्चाको शिखर चढिरहेछन् । अमेरिका, बेलायत, रूस, फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, पाकिस्तान, युनाइटेड अरब इमिरेट्स्, जोर्डन, कतार, इजिप्ट, भारत, चीन, बङ्गलादेश, म्यान्मा, श्रीलङ्का, थाइल्याण्डजस्ता विश्वका दुई दर्जनभन्दा बढी छिमेकी एवम् युरोप तथा अमेरिकाका मुलुकहरू र नेपालका ७१ भन्दा बढी जिल्लाहरूको भ्रमण गरेका पुडासैनी व्यवहारिक जीवनमा पनि अत्यन्त मिलनसार र सहयोगी स्वाभावका छन् । जसले ती आफ्ना यात्राका ससाना सन्दर्भ र विषयका रागप्रतिरागलाई नियात्राका केस्राकेस्रामा उन्नेकाम गरेका छन् । यही नै उनको लेखनीको सफलता पनि हो । अहिले बजारमा आएको उनको किताबले खासगरी नेपालीहरूको विदेशिनु परेको तीतो यथार्थ, विदेशमा रोएर बसेका निम्नस्तरीय नेपाली र तिनीहरूको रेमिट्यान्समा यहाँ नेपालमा राइँदाइँ गर्दै पसिनामा मोज गर्ने निकृष्टखाले शासक र खाडी राष्ट्रमा सयौं हण्डरका साथ खुनका आँसु बगाएर पैसाका पछि लाग्ने नेपालीहरुको दुर्दान्त कथालाई पुडासैनीले नलजाईकन आफ्ना यात्रा विवरणमा लेखिदिएका छन् । साथै विदेशमा प्रकृतिभन्दा भिजनेवल नेता उदार तर नेपालमा नेताभन्दा प्रकृति विराट भएको चित्र पेश गरेका छन् । उता प्रकृतिले बिगारेको तर नेताले सपारेका अनि नेपालमा भने प्रकृतिले दिएको तर नेताले बिगारेको देश भन्न पछि परेका छैनन् । मनमा लागेको कुरो जिब्रो नचबाई भन्न सक्नु उनको लेखनीको सफलता मान्नुपर्छ ।


उनी यसमानेमा ती नेपाली कथाव्यथा बोकेका प्रवासीएका नेपालीजनका समस्याका फड्के साक्षी हुन पुगेका छन् । यात्राको मेलो उनको जागिरको पगरीले जुराएको हो । सबैलाई यसरी संसार घुम्ने सुविधा कहाँ हुँन्छ र ! आफूलाई भाग लागेको सुखमा पनि उनी आफ्नो नानागरी काम भ्याएर ससाना बुँदा टिपोटमा रमाउँदै डायरी लेख्ने अनि तिनैलाई भोगाइका चास्नीमा चोबली नियात्रा तयार पार्ने यथार्थवादी लेखक हुन् । यसरी विदेशीएका नेपालीको पीडा कसै न कसैले लेख्नै प¥थ्यो । त्यो पुडासैनीले लेखिदिए । उनी यसमानेमा धन्यवादका पात्र छन् ।


गरी नबिराउने र भनी नबिझाउने स्वभावका पुडासैनीले यात्रा साहित्यका माध्यमबाटै नेपाली र विश्व परिवेशलाई आफ्ना भ्रमणीय अनुभवका पटाङ्गिनीमा विषयवस्तुलाई छरेर स्थिर चित्रमय शैलीका माध्यमबाट कोमल भाव पस्कँदै वर्णित रहस्यमय विषयको वर्णन गरेका छन् ।


उनी ‘विषय र शैली दुवैमा नयाँपन भएपछि लेखन राम्रो हुन्छ’ भन्ने विचारका हिमायति हुन् । यात्रा गरेर जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नु भयो ? भन्ने प्रश्नमा पुडासैनी भन्छन् –‘जीवन बुझिरहने हो, बुझिसक्ने कुरा होइन । क्षणक्षणका यात्रामा नौलो रूप भोगिन्छ । जीवनलाई, क्षणक्षणमा फरक रूपमा बुझिन्छ । जीवन समाप्त भैसक्ता पनि पूर्णतः बुझिसक्तैन मान्छेले । जिन्दगी र ब्राहमाण्ड रहस्यको पोको नै हो, जति खोल्यो त्योभन्दा अझ धेरै बाँकी रहन्छ, बुझ्न । पूर्णतः बुझिनसकेर पो रोमाञ्चकारी छ –यो यात्रा र यो जीवन ।’


 आधुनिक नेपाली यात्रा संस्मरणको कुरा हाल्दा डा. तारानाथ शर्मादेखि, लैनसिँह बाङ्देल, धच गोतामे, घनश्याम राजकर्णिकार, देवीचन्द्र श्रेष्ठ, प्रतीक ढकाल, युवराज नयाँघरे, भीष्म उप्रेती, विनोद दीक्षित र रामप्रसाद पन्तजस्ता लेखकहरूको सम्झना गर्नुपर्ने हुन्छ । शर्मा त यात्रा निबन्धका जनक नै हुन् । त्यसैगरी यात्रा निबन्धमा सरिक भएका लेखकहरूको माध्यमबाट देशका विभिन्न विकट र सुगम स्थानका अतिरिक्त विदेशका पनि धेरै अनुल्लिखित स्थानहरूको जानकारी पाउन सकिएको हुन्छ । स्रोत र साधन हुनेका लागि यात्रा सामान्य हो तर ती नहुनेका लागि यात्रा संस्मरण नै त्यस्तो उपाय हो जसले घर बसीबसी विदेशको सयर गर्न मद्दत लिन सकिन्छ ।


 नमेटिएका चित्रहरू नामको यात्रा संस्मरणको पुस्तकमा पुडासैनीले पस्केका अफ्रिका, युरोप, खाडी मुलुक र छिमेकी भारत र पाकिस्तानका विभिन्न रोमाञ्चीय भ्रमणका लिखित अभिव्यक्तिले पनि उनको आफ्नो पेसाप्रतिको नुनको सोझो निभाउने क्रममा भएको यात्रा जसमा लेखा परीक्षणका नाना नौरङका झेला र झमेलामा पस्दा पनि उनी कसरी नयाँ स्थान, नयाँ मानिस र नयाँ विषयवस्तु पक्रन सफल रहेका रहेछन् भनेर जानकारी दिन्छ । अनि अर्को कुरा उनले नियात्रामा पस्केका विवरणहरूले पनि उनी आफ्नो ड्युटीका सन्दर्भमा पनि तथ्य र तथ्याङ्क संकलनमा कसरी दत्तचित्त भैरहन सफल रहेका हुँदा रहेछन् भन्ने आभाष दिलाएको छ ।


    आफुसँगै विदेश गएका सहयात्री साथीहरूको अन्य विषय र वासनाप्रतिको रसोबसो हुँदा पनि लेखका रूपमा रहेका नियात्राकार पुडासैनी भ्रमणदलका नेतृत्वका रूपमा रहेका निर्देशक पुडासैनीलाई पथप्रदर्शन गर्दै लेखकीय टिपनटापनमै व्यस्त र मस्त रहनुले उनले गरेको व्यक्तिगत र कार्यालयीय भ्रमण भए पनि त्यो अन्ततोगत्वा समग्र पाठकहरूकै फाइदाका लागिरहेछ भन्ने भान भएको छ । चौवीसवटा शीर्षकमा उनिएको सो पुस्तकले भूमिकाबाहेक नै दुई सय बीस पेजको कलेबरमा सजिन पाएको छ । डा. कुमारप्रसाद कोइराला र अहिलेका चलेका समालोचक हरि अधिकारीले वस्तुनिष्ठ भावनाका माध्यमबाट खरो प्रकृतिको भूमिका लेखिदिनाले पनि यो कृतिको ओज बढेको छ । यस मानेमा कृति सुनमा सुगन्धमय भएर निस्केको छ ।
एकपटक फेरि नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ बधाइका पात्र भएका छन् ।


    पुस्तकमा समेटिएका नियात्रा पढेपछि पाठक एक छिन त छक्क पर्छन् र आफैँ ती देशहरूमा घुमेको अनुभव गर्न थाल्छन् । पुस्तकको पहिलो शीर्षक पढ्न थालेपछि पूरै किताब नपढी छोड्न सक्तैनन् । यस मानेमा पुस्तकको भाषा मनमोहक छ । यो नवीन शैली र सुन्दर औ कलात्मक ढाँचामा  सिर्जना गरिएको बेग्लै धारको नियात्रा कृति हो । यस कृतिले नेपाली नियात्रा साहित्यमा त्यो मानक स्थानको खोजी गरेको छ जहाँ नेपाली नियात्रा साहित्य पुग्नका लागि हरसम्भव तरहले प्रयासरत औ चिन्तनरत रहेको छ । अहिलेलाई उनको कृतिका बारेमा यत्ति नै भन्न सकिन्छ । बाँकी भविष्यका पोल्टामा । 

    नमेटिएका चित्रहरू
        (नियात्रा)
लेखक     :    दामोदर पुडासैनी ‘किसोर’
प्रकाशक   :    रत्न पुस्तक भण्डार
मूल्य      :     रू.२९५ l-

Comments: