२०७६ मंसिर २३ गते

संशोधन बिनै छिट्टै नियमावली पारित हुन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले संशोधन बिनै शिक्षा नियमावली मन्त्रिपरिषद्बाट छिट्टै पारित हुने बताएका छन् । मन्त्री पौडेलले शिक्षा नियमावली ऐनअनुसार आउने भन्दै ऐन संशोधन बिनै संघीयताअनुसारको नियमावली आउन नसक्ने ठोकुवा गरे ।


अनेरास्ववियु क्रान्तिकारीको प्रदेश नं. ३ ले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शिक्षा नियमावली छिट्टै पारित हुने विश्वास दिलाउदै  ऐन अनुसार नियमावली आएको जिकिर गर्दै यसको विरोध गर्नुको कुनै तुक नरहेको बताए । विद्यालय शिक्षाका धेरै समस्या नियमावलीले हल गर्ने भन्दै संघीयतासँग जोडिएका मुद्दा हल गर्न ऐन संशोधन आवश्यक रहेकोमा उनले जोड दिए ।


कार्यक्रममा अखिल क्रान्तिकारीले आगामी शैक्षिक सत्रमा  मनपरी शुल्क नअसुल्न निजी विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले स्कुलको ग्रेडिङ हुन नहुने र समान पूर्वाधारको समान शिक्षा लागू हुनुपर्ने बताए । उनले निजी विद्यालयहरुलाई दादागिरी रोक्न चेतावनी समेत दिए । न्यौपानेले छात्रवृत्तिमा पनि पारदर्शिता हुनुपर्ने माग समेत गरे।


काठमाडौं जिशिअ जयाप्रसाद आचार्यले विद्यार्थीहरुको सकारात्मक सक्रियताले शिक्षामा सुधार ल्याउने भन्दै आफू सधै विधार्थीहरुको साथमा रहेको बताए । प्याब्सनका कार्यवाहक अध्यक्ष डिके ढुंगानाले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिए स्वत निजी विद्यालय नियन्त्रण हुने जिकिर गरे ।
 
कार्यक्रममा एनप्याव्सनका अध्यक्ष कर्णबहादुर शाही, राष्ट्रिय अभिभावक संगठनका उपाध्यक्ष कोषबहादुर जिसी, अभिभावक संघका अध्यक्ष केशव पुरी, क्रान्तिकारीका उपाध्यक्ष खुसिराम चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।

Comments: