२०७६ चैत्र २८ गते

'शिक्षण सिकाइलाई कक्षाकोठा भित्र मात्रै सीमित गरेका छैनौं'

कुमारी कमला राई


कुमारी कमला राई
प्रधानाध्यापक
जनकल्याण मावि, बौद्ध, महांकाल, काठमाडौं


विद्यालयको समग्र अवस्था  कस्तो छ ?
विद्यालयको समग्र अवस्था भनेको तीनवटा अवस्थालाई लिन सकिन्छ – भौतिक, शैक्षिक र सामाजिक । यस विद्यालयको भौतिक अवस्था दिनदिनै बलियो हुँदै छ । जस्तै अहिले पनि बहुउद्देश्यीय हल निर्माण भइरहेको छ । विद्यार्थीको अनुपातमा दिवा र प्रातः लाई एउटै समयमा सञ्चालन गर्नु पर्यो भने चाँही कक्षाकोठा पर्याप्त छैन । शैक्षिक अवस्था दिनप्रतिदिन राम्रो भइरहेको छ । यस अर्थमा कमजोर विद्यार्थीको पहिचान गरी सहजीकरण गर्नुका साथैै नियमित समयका अलवा बेलुका पनि अध्यापन कार्य गर्ने गरेका छौँ । सामाजिक अवस्थासँगै आर्थिक पनि जोडिन्छ । यस अर्थमा त्यति बलियो अवस्था छैन । यहाँका स्थानीय ब्यक्तित्वहरु जसको सामाजिक अवस्था बलियो, उनीहरु राम्रो जीवन बिताउँछन्, पढे लेखेका छन्, तिनको बच्चाहरु हाम्रो विद्यालयमा पढाउँदैनन् । गरीबीको रेखामुनि भएका अभिभावहरु  के खाऊँ ? के लाऊँ ? कसरी बाचौँ ? बचाऔँ ? भन्ने अभिभावकका छोराछोरी पढाउने हुँदा चुनौती छ । विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी अभाव भएकोले केही सहयोग शुल्क लिएर अध्यापन कार्य गर्ने र निजी शिक्षकहरुको व्यवस्था  गर्नुपर्ने भएकोले आर्थीक अवस्था धरासयी नै छ भन्दा अयुक्ती नहोला ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
शैक्षिक सुधारका लागि गरेको प्रयास पनि माथिल्लो प्रश्नमा उत्तर आइसकेको छ । ती बाहेक अभिभावकसँग भेटघाट, अभिभावक शिक्षा श्रव्य, दृष्य माध्यमवाट कक्षा शिक्षण, साप्ताहिक, मासिक, त्रैमासिक परीक्षाहरुको व्यवस्था, आइसिटि कक्षाकोठा को व्यवस्था, कम्प्युटर कक्षा, नृत्य कक्षा, ऐतिहाँसिक स्थलहरुको भ्रमणपछि प्रोजेक्ट वर्क गराउनेजस्ता अभ्यासहरु गर्ने गरेका छौँ । बालकेन्द्रित शिक्षण सिकाइ र हरेक पाठ सिकाउँदा वर्तमानसँग जोडेर भिन्नभिन्न सिकाइ विधि प्रयोग गरेर सिकाउने गरिएको छ ।

कक्षाकोठालाई बालमैमत्री र सिकाइमैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
कक्षाकोठा बालमैत्री र सिकाइमैत्री बनाउन  विभिन्न शैक्षिक सामग्रीहरुको प्रयोग, प्रोजेक्ट, पम्प्लेट र हाम्रा वरिपरि पाईने विभिन्न बस्तुहरु जस्तो बिरुवाका बोट, पात, जरा, ढुङ्गा (स–साना) हरु, लप्सीका दानाहरु, विभिन्न पत्र–पत्रिकाका समाचार साथै चित्रात्मक बस्तुहरुको प्रयोग गर्ने गरिएको छ । विद्यार्थीको उमेर अनुसारको डेक्स बेन्चको व्यवस्था गरेका छौँ । शिक्षक र विद्यार्थीको सम्बन्ध मित्रवत् बनाउने प्रयास गरेका छौं । शिक्षण सिकाइलाई कोरा पढाइ भन्दापनि हास्ने, खेल्ने रमाइलो गर्नेखालका क्रियाकलापसँग जोड्ने गरेका छौं । विद्यार्थीको अनुहार कक्षाकोठामा रहँदासम्म हसिलो बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ । मलीन अनुहार हुने बित्तिकै हामी एकान्तमा लगेर कारण बुझ्ने र समाधानको प्रयास गर्ने गर्छौं ।

सिकाइस्तरको अवस्था के छ ?
सिकाइको स्तरको अवस्था सुधारोन्मुख छ । क्रमश राम्रो लय समात्दै गइरहेको छ । मध्यमबाट उच्चतिर प्रवेश गर्दै गरेको अवस्था छ भन्दा हुन्छ । हामी सिकाइस्तरलाई अङ्कसँगमात्रै जोडेर नहेरी, व्यवहार, सीप र जीवनपयोगितासँग जोडेर हेर्ने प्रयास गर्दै छौं । सामाजिकता, नैतीकता, व्यवहारिकता, अनुशासन, सिर्जनात्मक र देशप्रेमी बनाउने प्रयास हाम्रो रहने गर्छ । हामीले शिक्षण सिकाइलाई बन्दकक्षाकोठा भित्र मात्रै सीमित गरेका छैनौं । हिजोका इतिहास, घटना, रचना र उपलब्धि मात्रै हाम्रा सिकाइको क्षेत्र बन्दैनन् । हामी हिजोसँगै आज र भोलि पढाउने प्रयास गर्छौं ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
मलाई त्यस्तो लाग्दैन । मेरो विचारमा सामुदायिक विद्यालयहरु पछिल्ला दिनमा झन् उम्दा बन्दैछन् । सुधार गर्नुपर्छ, केही फरक गर्नुपर्छ भन्ने लहर नै चलेको देखिन्छ । पछिल्लो दिनमा हरेक सामुदायिक विद्यालयहरुले केही न केही नयाँ गर्ने प्रयास गरेका छन् जस्तो मलाई लाग्छ । तरपनि, सामुदायिक विद्यालयको अवस्था चाहे जस्तोगरी नउकाशिनुमा  समुदायका मानिसहरुको सक्रियताको कमि, विश्वासको कमि नै हो जस्तो लाग्छ । राम्रो शिक्षाका लागि भन्दापनि सामाजिक प्रतिष्ठा र फूर्तिका लागि अभिभावकहरु निजी विद्यालय प्रति आकर्षित भइरहेका जस्तो लाग्छ । नत्र शिक्षाको स्तरको सवालमा खासै भिन्नता रहने अवस्था छ जस्तो मलाई लाग्दैन ।  निजामती कर्मचारी, शिक्षक, नेतागण आदि जस्ता उच्च तहमा अभिभावककका बालबच्चाहरुलाई सामुदायिक विद्यालयमा आकर्षित गर्न सकियो भने सामुदायिक विद्यालयको स्तर आकासिन्छ ।  

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
अभिभावकले सामुदायिक विद्यालयलाई पुर्ण रुपमा नपत्याएको नै त भन्न मिल्दैन, बरु सामुदायिक विद्यालयले अपेक्षित विश्वास हाँसिल गर्न नसकेको अवश्य नै हो । अभिभावकहरुले सामुदायिक विद्यालयलाइ विश्वास नगर्नुमा नेपाल सरकारको नीति एकमात्र कारण हो । राज्यले निरीक्षण, अनुगमन, दण्ड र पुरस्कारको व्यवस्था  गरेमात्र सबैको विश्वास बढ्छ । निजी विद्यालयहरुले राम्रा विद्यार्थी छानेर, प्रवेश परीक्षा लिएर मात्रै भर्ना गरेर नतिजा राम्रो देखाएका छन् । हामी बचेखुचेका, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई हात जोरेर भर्ना गरेर पनि आशाजनक नै नतिजा दिइरहेका छौं । भौतिक पूर्वाधार, शिक्षकहरुको स्तर सामुदायिक विद्यालयकै राम्रो छ । मात्रै शिक्षण सिकाइविधिमा थोरै सुधार गरिदिए पुग्छ । अझ भनौ शिक्षकहरुले तालीममा सिकेका कुरा आधामात्रै पनि कक्षाकोठामा लागु गरिदिने हो भने सामुदायिक विद्यालयको स्तर सुधारिन्छ । अभिभावकको आकर्षण पनि बढ्छ ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ ।  सुधारका लािग के गर्नुपर्ला ?
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमतामा प्रश्न उठ्नु गलत हो, सुधारका लागि कामको सही मुल्याङ्कन हुन आवश्यक छ । अहिलेसम्म राम्रो गर्ने नगर्ने सबैलाई एउटै डालोमा राखेर हेर्ने गरिएको छ, राम्रो काम गर्न नसक्नेहरु पनि पहुँचको आधारमा पुरष्कृत हुने खालको  वातावरण छ । जसले गर्दा शिक्षहरु आफ्नो पेशाप्रति उत्प्रेरित हुन सकेको छैनन् । त्यसैले शिक्षकरुको क्षमतामा प्रश्न उठेको हुनसक्छ । नत्र शिक्षा विषय पढेका, प्रतिस्पर्धाबाट छनोट भएका विभिन्न तालीम लिएका शिक्षकहरुको क्षमता कम छ जस्तो लाग्दैन । जे गरेपनि हुन्छ भन्ने छुट भएर मात्रै शिक्षकहरु अल्छि बनेका हुन् । राम्रो गर्नेलाई पुरस्कृत र राम्रो गर्न नसक्नेलाई दण्डको व्यवस्थागर्न सके मात्रैपनि धेरै सुधार आउनेछ ।

सरकारले दिने शिक्षक तालीम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सरकाले दिने शिक्षक तालीम, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार गर्नु आवश्यक छ । देश संघियतामा गइसक्यो तर शिक्षा ऐन २०२८ को संशोधन भन्दै अल्झिरहेको छ । माटो र क्षेत्र अनुसारको पाठ्यपुस्तक, पाठ्यक्रमको तत्काल व्यवस्था हुनुपर्छ । तालीम कुनै प्रभावकारी छैन,  सुधारको आवश्यकता छ । समय सापेक्ष पाठ्यक्रम, ज्ञानमा आधारित परीक्षा प्रणाली हुनु आवश्यक छ । एउटा विद्यार्थीको क्षमताको मूल्याङ्कन तीन घण्टाको परीक्षाले पटक्कै गर्न सक्दैन ।

एउटा विद्यालय राम्रो बनाउनको लागि एकजना प्र.अ. को कस्तो भुमिका रहन्छ ?
एउटा विद्यालय राम्रो बनाउन प्रअको भुमिका अहम् छ । तर, प्रअ एक्लैले चाहेर मात्रै भने सुधार सम्भव छैन । शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय सबैको सहयोग र सहकार्य आवश्यक हुन्छ ।  प्रअमा योजना, समर्पण, सहनशीलता र पारदर्शिता हुनुपर्छ र शिक्षकहरु पनि मिहिनेती र सिर्जनात्मक हुनु आवश्यक छ । शिक्षकमा आफ्नो जागिरमात्र होइन समर्पण भाव हुनुपर्छ ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
यो विद्यालयमा नै विद्यार्थीहरु पढाउनुपर्ने कारणहरु  विद्यालय उत्कृष्टताको मापन विद्यलयको भौतिक, भावनात्मक, तथा शैक्षिक वातावरण हो । हामीले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग र बालमैत्री शिक्षणमा जोड दिएका छौँ । जनकल्याण माविले बागबगैँचा, सरसफाईलगायतका वातावरणीय पक्षहरुलाई पनि महत्व दिएको छ ।  विद्यार्थीहरु समूहमा रहेर आउने बित्तिकै गीत तथा नृत्यमा झुम्छन्, उनीहरुलाई खुसी बनाइ राख्ने कोशिस् नै  हुन् । हामी विद्यार्थीहरु विद्यालय आउँदा रमाएर आउन र विदा भएर फर्कनु पर्दा दुखी हुन् भनेर सोही अनुसारको वातावरण निर्माणमा जुटिरहेका छौं । यस विद्यालयमा पढ्ने विद्यार्थी घरमा भन्दा बढी विद्यालयमा रमाउने गर्छन् । पढाइपछि शैक्षिक प्रमाणपत्र मात्रै पाउँदैनन् थारै भएपनि नैतीकता, जीवनोपयोगी सीप पनि पाउँछन् ।

तपाई यस विद्यालयमा कहिले प्रअ बन्नु भयो ? तपाई प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
मैले प्रअ हुने अवसर २०६४–२०६६ (दुई वर्ष) पनि पाएकी थिएँ । हाल २०७२ देखि हालसम्म निरन्तर प्रअको भूमीकामा छु । म प्रअ भएपछी भौतिक पूर्वाधारमा सुधार, विद्यार्थीहरुमा सकारात्मक भाव उत्पन्न गर्ने बहु आयमिक कामहरु थुपै छन् । विभिन्न संघ–संस्थासँग साथ सहयोग, शिक्षकहरु लगाएत विभिन्न सरोकारवालाहरुसँगका सुमधुर सम्बन्ध मार्फत सबै मिलेर काम गरौँ भन्ने वातावरणको सिर्जना भएको छ ।

राम्रो प्रअ बन्नका लागि तपाईँका सुझाबहरु के–के छन् ?
राम्रो प्रअ बन्नका लागि मेरा सुझाब यस्ता छन् ।
–    विद्यलायप्रति सपना देख्ने ।
–    विद्यालयप्रति समर्पण भाव राख्नुपर्छ ।
–    शिक्षक, अभिभावक, विद्यार्थीहरुको  मनोकांक्षालाई सम्मान गर्ने ।
–    शिक्षक नै विद्यालयको मेरुदण्ड भएकोले उनीहरुप्रति सकारात्मक भावले व्यवहार गर्ने ।
–    आफ्नो सपना, जपना सबैथोक विद्यालयप्रति समर्पित बन्दै उच्च नैतिक बल दूरदृष्टि र संस्थागत हितमा लाग्ने । जस्ता कार्यहरु गरेमा राम्रो र सफल प्रअ बन्न सकिन्छ जस्तो लाग् जस्ता कार्यहरु गरेमा राम्रो र सफल प्रअ बन्न सकिन्छ जस्तो लाग्छ ।

विद्यालय सुधारका लागि योजनाहरु के – के छन् ?
म प्रअ बनेपछि हरेक कामकार्बाही योजनाबद्ध रुपमा गर्ने गरेकी छु । पहिले योजना बनाएर छलफल गरी त्यसको कार्यान्वयनमा सामुहिकरुपमा काम गर्ने हाम्रो प्रचलन छ । हामीले विद्यालय सुुधारकालागि बनाएका योजनाहरु केही यस्ता छन् ।
–    सबै शिक्षकहरुलाई पुर्नताजगी तालिमको व्यवस्था गर्ने ।
–    खेल विधीलाई महत्व दिई रमाएर, माया दिएर, बालबालिकाको हितमा नयाँ नयाँ योजना बनाउने, उनीहरुका विचार जिज्ञासा, कौतुहलताहरुलाई ध्यानमा राखी शिक्षणमा जोड दिने ।
–    अभिभावकसँग बारम्बार अन्र्तक्रियामा जुट्ने ।
–    विश्वमा परिवेशमा विकास भएका नयाँ प्रविधिलाई शिक्षणमा जोड्ने जस्ता योजनाहरु छन् ।

शिक्षक र विद्यार्थीको अवस्था के छ ?
शिक्षक र विद्यार्थीको अवस्था शिक्षकलाई विद्यालयमा गइ रहौँ र विद्यार्थी विद्यालयमा जाऊँ जाऊँ भन्ने र शिक्षकले पढाऊँ पढाऊँ भन्ने अवस्था सिर्जना भएको छ । गुरु र चेलाको भन्दा साथीभाइको सम्बन्ध स्थापित छ । विद्यार्थीहरु मनमा लागेका कुरा निर्धक्कसँग शिक्षकसामु राख्न सक्छन् । शिक्षकहरु पनि हरेक दिन कुनै न कुनै शैक्षिक सामग्री  लिएर मात्रै कक्षाकोठामा जानु हुन्छ ।
 
प्रस्तुतिः सूर्यकुमारी सुवेदी

Comments: