२०७६ मंसिर २१ गते

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक

काठमाडौँ । प्राज्ञिक र साहित्यिक सत्संगमा देखा परिरहने लेखक डा.बानिरा गिरी झन्डै ६ महिनायता बानेश्वरको आफ्नै घरमा ‘गृहबन्दी’ झैं बनेकी छन् । नारी लेखन र हस्ताक्षरमा सशक्त नाम बनाएकी गिरीमा एकाएक कामकुरा भुल्दै जाने लक्षण (एप्रेक्सिया) देखा परेपछि उनी घरेलु रेखदेखमा कोठैभित्र बसिरहन्छिन् ।

‘म यही बाटो भएर आवतजावत गरिरहन्छु, उहाँ (बानिरा) लाई भेट्न जाने साहस जुटाउन सकेकी छैन,’ गिरी निवास आसपासमै बस्ने कवयित्री तोया गुरुङ भन्छिन्, ‘विस्मृतिको यो रोगका बारे सुनेकी हुँ, तर दिमागी रूपमा निकै सक्रिय र संवेदनामा चल्ने व्यक्तिलाई यसरी संक्रमित गराएको थाहा थिएन ।’ ७१ वर्षीया डा.गिरीका ‘शब्दातित सान्तनु’ र ‘कारागार’ उपन्याससहित ‘एउटा एउटा जिउँदो जंगबहादुर’, ‘मेरो आविष्कार’, ‘जीवन थायस्मरु’ लगायतका बौद्धिक बहसमा आइरहने कविता संग्रह प्रकाशित छन् ।

अंग्रेजी भाषा–साहित्यका विज्ञ एवं प्रखर वक्ता डा.दुर्गाप्रसाद भण्डारी पनि झन्डै २ वर्षदेखि पुरानो बानेश्वरको घरभित्रै नर्सिङ सेवासहित ‘रिटायर्ड’ समय बिताइरहेका छन् । उनी अल्जाइमर्स र पार्किन्सन्स समेतबाट पीडित बनेका छन् । त्रिभुवन विश्वविद्यालयमा डा।भण्डारीसँगै प्राध्यापन गर्ने रामेश्वरप्रसाद अधिकारी पनि ‘विस्मृतिको रोग’ (अल्जाइमर्स) बाट ग्रसित भएको दुई वर्ष पुग्नै लागेको छ । डा.भण्डारीका ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’ लगायतका निबन्ध कृतिमा बौद्धिक उच्चकोटीको बहस पाउन सकिन्छ भने प्राध्यापक अधिकारीले झन्डै आधा दर्जन अंग्रेजी–नेपाली शब्दकोश लेखन गरेका छन् । अर्का प्राध्यापक श्रीधर लोहनीसँग मिलेर लेखिएका शब्दकोश एकता बुक्सका ‘सिग्नेचर’ प्रकाशन हुन् ।

विश्वविद्यालयमा अंग्रेजी विभागका अरू केही प्राध्यापक पनि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतिको ‘अल्जाइमर्स’बाट ग्रसित भएर अमेरिकावासी बनेका छन् उपचार र रेखदेखको सहज उपायसहित । ‘दाई अमेरिकाको अटलान्टामा आफन्तमाझ हुनुहुन्छ, पार्किन्सन्स रोगका कारण सक्रिय दैनिकीमा हुनुहुन्न,’ प्राध्यापक डा.कमलप्रकाश मल्लका भाइ मल्ल के.सुन्दर भन्छन्, ‘यता आइहाल्ने सहज अवस्था पनि छैन ।’ विश्वविद्यालयमा अंग्रेजी शिक्षा विभागका पूर्वप्रमुख डा।शिशिरकुमार स्थापित पनि बुढ्यौली उमेरसँगै विस्मृतिको बढ्दो असहज अवस्थाका माझ बाहिरी सम्पर्कमा कहींकतै देखिँदैनन् ।


अल्जाइमर्सग्रसित आफ्ना ८० वर्षीय पिता डा.दुर्गाप्रसाद भण्डारीको सेवासुश्रुषामा डाक्टर छोरा शैलेशले नर्सिङ केयरसहितको सुविधा घरमा उपलब्ध गराएका छन् । ‘पिताजीका पुस्तक तथा लेख सामग्रीको एकमुष्ट संकलन निकाल्ने, संग्रह गर्ने योजना सोचिरहेका छौं, ’शैलेशले इमेलमा भने ।


अनारमनी, झापा घर भएका शिक्षाविद् एवं पूर्वपरीक्षा नियन्त्रक दाताराम शर्मा खनालको पनि केही वर्षअघि अल्जाइमर्सकै कारण निधन भयो । ‘काठमाडौं वा अन्यत्र लगेर पनि विस्मृतिसम्बन्धी रोगको उपचार हुन सक्ने अवस्था थिएन,’ दातारामका एक आफन्तले भने, ‘घरेलु रेखदेखबाहेक अरू उपाय नभएपछि गाउँकै घरमा दुई वर्ष थलिएर उहाँ बित्नुभयो ।’ अल्जाइमर्ससँग जोडिएको ‘विस्मृति’ लाई धेरैले बुढ्यौलीसम्बन्धी रोग भने पनि सधैं यसैगरी व्याख्या गर्न नमिल्ने विज्ञले सुझाएका छन् ।

‘उमेरको वयस्क अवस्थामा अति तनाव बेहोर्ने अवस्था, उच्च रक्तचाप, सुगर वा कोलस्टोरलको मात्रा बढी छ भने ६० वर्ष नाघेपछि अल्जाइमर्सको सम्भावना रहन्छ,’ पाटन अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेल भन्छन्, ‘वयस्क अवस्थामा शारीरिक, मानसिक र सामाजिक अवस्थामा सक्रिय रहनेलाई यो रोग लाग्ने सम्भावना कम हुन्छ ।’ डा.कँडेलले यसो भनिरहँदा दिमागी रूपमा सधैंजसो सक्रिय रहने विश्वविद्यालयका प्राध्यापक, लेखक र कविहरूमा बढेको ‘अल्जाइमर–ट्रेन्ड’ आफैंमा सोधअनुसन्धानको विषय बन्न सक्छ । चिकित्सकका अनुसार, ‘डाउनसिन्ड्रोम’ भएका बच्चालाई उमेर छिप्पिने क्रमसँगै ‘अल्जाइमर्स’ देखिने सम्भावना प्रबल रहन्छ । अल्जाइमर्स डिजिज इन्टरनेसनलको एक अध्यनअनुसार नेपालमा झन्डै ८० हजार अल्जाइमर्स बिरामी छन् ।

बुढ्यौली रोगका विज्ञ डा.कँडेलका अनुसार पुराना कुरा बिर्सनेभन्दा पनि ‘भर्खर–भर्खरका कुरा बिर्सने अवस्था’ अल्जाइमर्स रोगको संकेत हो । रोग लागिसकेपछिको अवस्थामा बिरामीलाई जतिसक्दो ‘टेककेयर’ गर्नेबाहेक कुनै औषधिका भरमा यो दीर्घरोगलाई तत्कालै रोकथाम गर्न सकिने अवस्था पनि रहन्न । विज्ञका बुझाइमा यो चिन्ता र शंकाको रोगसमेत हो । नेपाली समाजमा राम्रेसँग चिनिएका कतिपय लेखक, प्राध्यापक, व्यापारी, राजनीतिज्ञसमेत अल्जाइमर्सपीडित रहे पनि ‘टेलिफोन परामर्श’ मात्रै चाहिरहेको, तर खुलेर आफ्नो रोगबारे बाहिर भन्न नचाहेको अनौठो स्थिति पनि चिकित्सकहरूले बेहोर्ने गरेका छन् ।

यो रोग लागेपछि बिरामीको आयु निर्धारण गर्न पनि मुस्किल रहेको डा.कँडेलको भनाइ छ । साहित्यकार कमलमणि दीक्षितकी श्रीमती अन्जु अल्जाइमर्स रोगबाट ग्रसित रहेरै पनि डेढ दशकभन्दा बढी बाँचेको उदाहरण कँडेलले दिए । ‘नेपालमा अझै पनि विस्मृति रोगका बारे उपचार–रोकथाम अथवा अध्ययन–अनुसन्धान तहमा कुनै ध्यानाकर्षण हुन सकेको छैन,’ डा.कँडेल भन्छन्, ‘जनचेतना पनि कहींकतै छैन । अझ गाउँघरमा अल्जाइमर्सपीडित बिरामीलाई पूरै अपहेलित अवस्थामा राखिएको दृश्य मैले पनि देखेको छु, यो अवस्था आफैंमा दुस्खद छ ।’

देवेन्द्र भट्टराईले कान्तिपुरमा लेखेका छन् ।

Comments: