२०७६ चैत्र २० गते

विद्यालय व्यवस्थापन समिति : अध्यक्ष बन्‍न लिखित परीक्षा

अन्तैबाट

ताप्लेजुङ । फुङलिङ नगरपालिकाका सामुदायिकमध्ये सबैभन्दा बढी विद्यार्थी संख्या भएको भानुजन नमुनाउन्मुख माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमा अवकाशप्राप्त सहायक प्रमुख जिल्ला अधिकारी भगीमान मादेनदेखि राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य प्रकाश एङ्देन, फुङलिङ ५ का नेकपाका वडाध्यक्ष सागर मादेन, व्यवस्थापन समितिका निवर्तमान सदस्य युगराज गुरुङ, प्रदीप मादेन, व्यवसायी राजा मादेन छन् ।

पुस २९ गते विद्यालयले आह्वान गरेको व्यवस्थापन समिति गठनका लागि उनीहरूले आवेदन दिएका हुन् । यो नगरको वडा ५ मा पर्छ । वडा ३ को बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा ९ जना इच्छुक देखिएका छन् । तीमध्ये ६ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा त्यही विद्यालयमा अध्ययन गरेका राधा बरालदेखि निवर्तमान अध्यक्ष राम बराललगायत छन् । उनीहरूको नाम वडा कार्यालयमा पुगेको छ र ‘विचाराधीन’ छ ।

वडा २ को वीरेन्द्र माध्यमिक विद्यालयका लागि ७ जनाको आवेदन परेको थियो । तीमध्येका एकले वडामा लिखितै निवेदन दिएर आफ्नो नाम फिर्ता लिए । ६ जना प्रतिस्पर्धामा थिए । वडाले तीन जनाको नाम फुङलिङ नगरपालिकामा सिफारिस गरेको छ । वडाध्यक्ष मोहन न्यौपानेका अनुसार बुद्धिमान तामाङ, तारा मोक्तान र गोपाल न्यौपानेको नाम सिफारिस गरिएको हो । वडाका सबै पदाधिकारीको निर्णयअनुसार सिफारिस गरिएको उनले बताए ।

फुङलिङ नगरपालिकाले आफ्नै शिक्षा ऐन र निर्देशिका बनाएपछि यतिबेला नगरपालिकामा व्यवस्थापन समिति गठनको काम भइरहेको छ तर ८ मध्ये ६ वटा माध्यमिक विद्यालयमा सहमति हुन सकेको छैन । १–८ चलेका मध्ये २ वटामा सहमति हुन बाँकी छ । १–५ मा भने अधिकांशमा सहमति भएको नगरपालिकाको शिक्षा शाखाका दुर्गाप्रसाद पौडेलले बताए ।

नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन । मावि १–१२ कक्षा चलेका ५ वटा र १–१० चलेका ३ वटा छन । १–८ चलेका ८, र १–५ का ३३ वटा आधारभूत विद्यालय छन् । २ वटा गोम्पा छन् । यी पनि सामुदायिक विद्यालयमा पर्छन् । नगरपालिकाभित्र निजी विद्यालय १८ वटा छन् तर तिनमा व्यवस्थापन समिति गठन गर्नु पर्दैन ।

नगरपालिकाले आफ्नै शिक्षा ऐन र नियमावली कार्यान्वयनमा ल्याएपछि अहिले केन्द्रीय नियमावलीअनुसार गठन भएको व्यवस्थापन समिति विघटन भएको छ । २०७६ पुस ६ गते संशोधनसहित कार्यान्वयनमा आएको नगर शिक्षा नियमावलीअनुसार व्यवस्थापन समिति गठनका लागि निर्वाचन गराउन पाइनेछैन ।

व्यवस्थापन समितिमा बस्न अभिभावक हुनैपर्ने जरुरी पनि छैन । वडाभित्रको नागरिक भए पुग्नेछ । नियमावलीको परिच्छेद ५ मा विद्यालयका अभिभावकले सम्बन्धित वडाका नागरिकहरूबाट सर्वसम्मत चुनेको एकजना अध्यक्ष, एकजना दलितसहित दुईजना महिला, सम्बन्धित वडाका वडासदस्यहरूमध्येबाट वडाध्यक्षले तोकेको एकजना सदस्य हुने व्यवस्था गरेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष पदेन सदस्य, प्रधानाध्यापक सदस्य सचिव हुने समितिमा एकजना सामाजिक व्यक्तित्वलाई सदस्य मनोनयन गरेर ७ सदस्यीय समिति बनाइएको छ । माध्यमिक विद्यालयमा भने विद्यालयस्तरीय बालक्लबबाट एकजना बालिकासहित दुईजना पदेन सदस्य रहनेछन् । अध्यक्ष र दुई महिला सदस्यमा सर्वसम्मत नभए जति जना इञ्छुक छन्, उनीहरूको नाम आफ्नो वडामा सिफारिस गर्नुपर्नेछ ।

वडा कार्यालयले भने आकांक्षीमध्येका तीनजना छनोट गर्नुपर्ने हुन्छ । एक पदका लागि तीन जनाको नाम नगर शिक्षा समितिमा सिफारिस गर्नुपर्छ । तीन जनाको नाम सिफारिस गरेका वडाध्यक्ष मोहन न्यौपाने वडासदस्यहरूको सिफारिसमा विद्यालयका लागि योगदान दिन सक्नेको नाम सिफारिस गरेको बताउँछन् । वाड ४ का जितेन लिम्बूले भने सर्वसम्मतिका लागि पहल गरिरहेको बताए । सहमति भए त्यहीं टुंग्याएर व्यवस्थापन समिति बनाउने उनले बताए ।

वडा ३ का वडाध्यक्ष युवराज बराल आगामी आइतबार आकांक्षीहरूको परीक्षा लिने बताए । ‘तपाईं किन अध्यक्ष बन्न लाग्नुभएको ? तपार्इं अध्यक्ष हुनुभएन भने विद्यालयलाई के क्षति हुन्छ जस्ता प्रश्न राखेर लिखितै परीक्षा गराउँछु र त्यसैका आधारमा तीन जना छनोट गरेर पठाउँछु,’ उनले भने ।

शिक्षा विभाग प्रमुख पदमसुन्दर पालुङवा यसका लागि मापदण्ड बनाउने बताउँछन् । ‘नाम आउनासाथ ऐनाजस्तै छर्लङ्ग हुन्छ,’ पालुङवाले भने, ‘विद्यालयमा पुर्‍याएको योगदान, भविष्यमा दिन सक्ने समयलगायत पक्ष हेरेर चयन गर्छौं ।’

आनन्द गौतमले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: