२०७६ कार्त्तिक २ गते

स्रोतव्यक्ति फिर्ताको विरुद्ध लियन शिक्षक आन्दोलनमा, माघ २ र ३ गते विद्यालय बन्दको घोषणा

ईपाटी संवाददाता


काठमाडौं । स्रोत व्यक्ति फिर्ता गर्ने निर्णय तत्काल सच्याउनुपर्नेलगायतका माग राखी स्रोत व्यक्ति सट्टा शिक्षक केन्द्रीय संघर्ष समिति आन्दोलित भएको छ । समितिले निर्णय नसच्याए माघ ८ गते पछि अनिश्चितकालीन विद्यालय बन्द गर्नेलगायतको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।


समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २ र ३ गते देशभरका सार्वजनिक विद्यालय बन्द गर्ने, माघ ४ गते देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाउने र माघ ८ गतेपछि सबै शिक्षकहरुलाई काठमाडौं उतारी अनिश्चितकालीन विद्यालय बन्द गर्ने जनाएको छ ।


यसैबीच समितिले आफ्ना माग प्रति ऐक्यबद्धता जनाइदिन माग गर्दै शिक्षक महासंघ र शिक्षकका विभिन्न संघसंगठन प्रमुखहरुलाई  ज्ञापनपत्र समेत बुझाएको छ । समितिले योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल र नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालाई समेत ज्ञापनपत्र बुझाएको छ ।


समितिको ज्ञापन पत्र बुझ्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले केही स्रोतव्यक्तिहरुले आफ्नो जिम्मेवारी राम्ररी सम्पादन नगरेकाले नै यस्तो अवस्था आएको बताएका थिए । जे भएपनि तत्काल स्रोतव्यक्तिहरु फिर्ता नहुने र पछि फिर्ता भएपनि लियन शिक्षकहरुलाई एक पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने मौका दिलाउन संगठन लागि पर्ने बताएका थिए । स्रोत व्यक्ति फिर्ता गर्ने कुरा हल्लामात्रै भएको अधिकारीले जिकिर गरेका थिए ।


यस्तै, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले समितिको ज्ञापनपत्र बुझ्दै स्रोत व्यक्ति फिर्ता गर्ने निर्णय खेदजनक भएको भन्दै स्रोतव्यक्ति फिर्ता भएपनि लियन शिक्षकको रोजीरोटी नगुम्ने बताएका थिए । लियन शिक्षकलाई अर्को समान तहमा एकपटकको लागि पदास्थापन गरिने भन्दै आश्वस्थ पारेका थिए ।

लियन शिक्षकको मागप्रति शिक्षकका संघसंगठनहरुको साथ र सहयोग रहँदा पनि लियन शिक्षकहरुको माग पुरा नभए आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने समितिका महासचिव श्रीकान्त गिरीले चेतावनी दिए ।

देशभर रहेका १०५३ श्रोत केन्द्र मध्ये केहीमा अस्थायी श्रोत व्यक्ति नियुक्त गरिए पनि अधिकाँशमा शिक्षकलाई नै श्रोतव्यक्ति बनाईएको छ । उनीहरुको ठाउँमा सट्टा शिक्षक कार्यरत छन् ।

Comments: