२०७७ जेष्ठ २२ गते

सामाजिक विकृति रोक्दै किशोरी

महेश न्यौपाने/रोल्पा



रोल्पा लुंग्री गाउँपालिका– १ पाङकी लालसरा पुन १८ वर्षकी भईन् । गाउँकै विद्यालयमा कक्षा १० पढ्दै गरेकी उनी हरेक बेलुका गाउँमा संचालन भएको संवाद केन्द्र जान्छिन् । हरेक बेलुका २ घण्टा गाउँघरका सामाजिक मुद्दाका बारेमा साथीहरुसँग संवाद छलफल गरेर घर फर्किन्छिन् ।


सोही गाउँकी १६ वर्षीया अर्की किशोरी लिला पुन गाउँकै विद्यालयको कक्षा ६ मा अध्ययन गर्छिन् । आर्थिक अवस्था कमजोर भएर तीन वर्ष पढाइ छाडेकी उनी यसै वर्ष  पुनः कक्षा ६ मा भर्ना भएकी हुन् । गाउँमा संवाद केन्द्र स्थापना भएपछि उनले छाडेको पढाइलाई समेत निरन्तरता दिन थालेकी हुन् । राम्रो  गायक बन्ने सपना बुनेकी उनको समाज सेवी बन्ने धोको पनि छ ।


लालसरा र लिला जस्ता १८  वर्षमुनिका किशोरीहरुलाई समाजमा देखिने सामाजिक मुद्दाको बारेमा वहस छलफल र अन्तरक्रिया गर्ने भन्दै लुंग्री गाउँपालिका वडा नं. १ र २ ले संवाद केन्द्र स्थापना गरेका छन् । दिनभर विद्यालय अध्ययन गरेर हरेक बेलुका उनीहरु संवाद केन्द्र जान्छन् ।


बालविवाह, वहुविवाह, मादक पदार्थ सेवन, घरेलु हिंसा, लैंगिक विभेद, जातीय विभेद, जुवा तास तथा अन्धविश्वास जस्ता मुद्दाको बारेमा बहस छलफल गर्छन् । उनीहरुको सहजीकरणका लागि हरेक संवाद केन्द्रमा एक जना सहजकर्ताको व्यवस्था गरिएको छ ।


सहजकर्ताले सहजीकरण सीपवारे एक गैर सरकारी संस्थावाट ८ दिनको तालिम पनि लिएकी छिन् । सहजकर्ताको सहजीकरणमा उनीहरुले समाजमा देखिएका सामाजिक समस्याहरुको  सूचि तयार गर्छन् । तयार पारिएका सुचीले  समाजमा पारेको प्रभावको आधारमा स्तरीकरण समेत गरेका छन् । समस्या स्तरीकरणका आधारमा सवै सवालहरुलाई दैनिक रुपमा वहस छलफल  गर्छन्  । त्यति मात्र हैन ती सवाल समाधानका लागि समुदाय र टोलमा सचेतीकरणका लागि घरदैलो भेटघाट, सडक नाटक जस्ता कार्यक्रम पनि आफै संचालन गर्छन् ।


संवाद  केन्द्र होस  वा घरघरमा भेट हुँदा नै किन नहोस मुट्ठी कसेर एकले अर्कालाई “जय संवाद” भनेर  अभिवादन गर्छन ।  सकारात्मक  सोच विकास गर्न तथा एक्ला एक्लै हैन  समूहमा मिलेर काम गर्ने हो भने जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने सिकाई छ उनीहरुलाई ।
संवाद केन्द्रमा उनीहरुले व्यक्तिगत  सपना र  पारिवारिक कार्ययोजना बनाउने गर्छन् । जीवनमा आफ्नो लक्ष्य के हो किटान गरेर त्यसलाई प्राप्त  गर्न कार्ययोजना  वनाउने गर्दछन् । सपना पुरा गर्न काम पनि गर्नु पर्छ भन्ने भावनाको विकास भएको छ उनीहरुमा ।   'कार्ययोजना बनाएर सोही  अनुसार काम गर्ने बानीको विकास भएका  छ'– परिवर्तन संवाद केन्द्रका सहकर्ता रिमा पुनले भनिन् । 'मादक  पदार्थ सेवनको समस्या अधिक रहेका कारण अधिकांश किशोरीले पारिवारिक योजना अन्तरगत मादक पदार्थ  सेवन  न्यूनिकरण राखेका छन्'– सहजकर्ता पुनले भनिन ।


संवादले उनीहरुमा सकारात्मक सोंचको विकासका साथै जीवन उपयोगी सीपको समेत विकास भएको महसुस भएको छ । आफ्नै कक्षाकी एक साथी संग झगडा गरेर लामो समय समेत वोलचाल वन्द गरेकी लालसरा पुनले संवाद केन्द्रमा सिकेका सकरात्मक सोचाईवाट प्रभावित भएर अचेल वोलचाल गर्न थालेकी छिन् । सानालाई माया र ठूलालाई आदर गर्ने कुरा कितावमा पढे पनि व्यवहारमा उत्तार्ण निकै गाह्रो भए पनि संवाद केन्द्रले भने आफु व्यवहारिक रुपमै परिवर्तन भएको पुनले  बताईन् । घरमा वुवा आमा लगायत परिवारका धेरै सदस्यले मादक पदार्थ सेवन गरेर हैरान भएकी उनी अहिले विस्तारै उक्त लतवाट कम गराउन सफल भएकी छिन् । पारिवारिक कार्ययोजनामा परिवारका सदस्यलाई मादक पदार्थ सेवन न्यूनिकरण गर्ने योजना राखेकी उनले यस विषयमा परिवारमा परामर्श गर्ने गर्छिन् ।


संवाद केन्द्र जानथाले पछि आएको परिवर्तनले ३ वर्ष अघि  पढाई छाडेकी साही गाउँकी लिला पुनमगर पुनः  विद्यालय भनाई भएको बताईन् । 'घरको आर्थिक अवस्था कमजोर हुदा कक्षा ६ मा पढ्दा पढ्दै पढाई छाडेकी थिए संवाद केन्द्रको प्रभावले मलाई फेरि पढ्नु पर्छ भन्ने भावना जागेका कारण पढाई सुरु गरेको छु'– पुनले भनिन्,  'लगातार पढेको भए अहिले कक्षा ९ मा अध्ययन गर्ने समय भए पनि कक्षा ६ बाटै पढाइलाई निरन्तरता दिएको छु ।'
संवाद केन्द्रको नाममा रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ र २ मा २५ वटा सम्वाद केन्द्र संचालनमा रहेको बताइएको छ । 'संवाद केन्द्र संवन्धित वडा कार्यालयहरुको समन्वयमा स्थापना भए पनि कक्षा संचालनका लागि व्यवस्थापन समिति गठन गरिएको हुन्छ'– लुंग्री गाउँपालिका २ का वडाध्यक्ष अमृत घर्तीमगरले भने, 'किशोरीहरुको नेतृत्वमा वालविवाह न्युनिकरण, मादक पदार्थ सेवन विरुद्ध अभियानमा सहयोग गरेको छ ।'


 संवाद केन्द्र संचालनका लागि मानव अधिकार सचेतन केन्द्र नामक स्थानीय गैर सरकारी संस्थाले स्ट्रम फाउन्डेशनको सहकार्यमा सहयोग गरिरहेको बताइएको छ ।


Comments: