२०७६ चैत्र २५ गते

सुदूरपश्चिम विश्वविद्यालय : पूर्वाधार निर्माण सुस्त

अन्तैबाट

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा निर्माणाधीन इन्जिनियरिङ भवनको डिजाइन तीन तलाको बनाइएको थियो । गत वर्ष एक तलाको निर्माण सम्पन्न भएपनि बाँकी दुई तला थप्ने काम सुरु हुन सकेको छैन । महेन्द्रनगरकै सालघारीमा निर्माणाधीन केन्द्रीय कार्यालयको डिजाइन पनि तीन तलाकै हो ।

एक तलाको काम गत वर्ष नै सम्पन्न भयो । तर हालसम्म उक्त भवनमा न त केन्द्रीय कार्यालय सरेको छ, न डिजाइनअनुसार बाँकी तला थप्ने काम भएको छ । विश्वविद्यालयमा विज्ञान संकायको पठनपाठनका लागि भवनको अभाव छ । तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसको छात्रावासमा विज्ञान संकायको पढाइ भइरहेको छ । शिक्षा संकायको पनि छुट्टै ब्लक बनाउनुपर्ने हो तर यसको योजना पनि अघि बढ्न सकेको छैन ।

स्थापनाको ८ वर्षसम्म पनि विश्वविद्यालयले भौतिक पूर्वाधार निर्माणमा ठोस प्रगति गर्न सकेको छैन । पूर्वाधार निर्माणले गति नलिनुमा बजेट अभाव प्रमुख कारण होइन । पटक–पटकको तालाबन्दीसँगै लामो समयदेखि विश्वविद्यालय नेतृत्वविहीन बन्दा भौतिक पूर्वाधार निर्माण सुस्त बनेको हो । विश्वविद्यालयको खातामा दुई वर्षदेखि ४८ करोड पुँजीगत खर्चबापतको रकम थन्किएको छ । विश्वविद्यालय अनुदान आयोगबाट आएको उक्त बजेट पास हुन नसकेर खर्च हुन नसकेको हो । वर्षको दुईपटक बस्नुपर्ने विश्वविद्यालय सभा गत वर्ष एकपटक मात्रै बस्न सक्यो ।

यो वर्ष हालसम्म पनि बस्न सकेको छैन । यसबाहेक १५ वटा आंगिक क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि आएको १२ करोड रुपैयाँ पनि त्यतिकै थन्किएको छ । ‘एक वर्षदेखि विश्वविद्यालय नेतृत्वविहीन छ, सभा बस्नै सकेको छैन,’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले भने, ‘काम चलाउकै भरमा प्रशासनिक कामकाज भइरहेको छ ।’

विश्वविद्यालयमा गत चैतमा नेपाल विद्यार्थी संघले लगाएको ताला गत साता मात्रै खुलेको हो । १० महिनापछि ताला खुलेसँगै प्रशासनिक कामकाज सुरु भएको छ । ‘पर्याप्त भौतिक पूर्वाधार नहुँदा बिहानदेखि साँझसम्मै कक्षा सञ्चालन भइरहेका छन्,’ रजिष्ट्रार विष्टले भने, ‘विश्वविद्यालय पदाधिकारीविहीन हुने अवस्थामा छ ।’ गत फागुनमा उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टलाई बर्खास्त गरेर तत्कालीन विज्ञान संकायका डीन पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डीन विष्टलाई रजिष्ट्रारको जिम्मा दिइएको थियो ।

‘इन्जिनियरिङ भवन र विज्ञान भवन तत्काल निर्माण अगाडि बढाउनुपर्नेछ,’ विश्वविद्यालयका सहप्रशासक गोविन्द पन्तले भने, ‘केन्द्रीय कार्यालय र व्यवस्थापन भवनमा पनि तला थप्ने योजनामा छौं ।’ गत वर्ष साढे ६ करोडमा इन्जिनियरिङ भवन र साढे ८ करोड रुपैयाँ लागतमा केन्द्रीय कार्यालय भवनको पहिलो तला निर्माण भएको हो ।

स्थापनादेखि नै विश्वविद्यालयको केन्द्रीय कार्यालय भाडाको घरमा छ । शिक्षा र मानविकी संकायका कक्षाहरू तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसको पुरानो भवनमा सञ्चालन भइरहेको छ । भौतिक पूर्वाधार निर्माणका लागि प्रयाप्त बजेट निकासा भएर पनि निर्माणाधीन ब्लकहरू अलपत्र परेका हुन् ।

हालसम्मका उपकुलपतिहरू दुई/चार दिन मात्रै यहाँं बस्ने र अधिकांश समय काठमाडौंमै बिताउने भएका कारण पनि शैक्षिक, प्रशासनिकसंगै भौतिक विकासमा प्रगति हुन नसकेको विश्वविद्यालयका कर्मचारी बताउँछन् । स्थापना भएको केही वर्षमात्रै भएकोले विश्वविद्यालयलाई दीर्घकालीन सोचसहित काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनीहरूको भनाइ छ ।

कान्तिपुरमा खबर छ ।

Comments: